|

पर्वत : म्याग्दी जिल्लाको नारच्याङदेखि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गमा जोडिएसँगै अन्नपूर्णको आधारशिविर पुग्न सहज भएको छ। पर्यटन विभागको ४० लाख अनुदानमा गत वर्ष नारच्याङ गाउँदेखि छेलुङ हुँदै निलगिरि खोलाको किनारै किनार भएर आधारशिविर पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको हो।

पदमार्ग क्षेत्रमा पूर्वाधार निर्माणका लागि यस वर्ष २० लाख बजेट प्राप्त भएको गाउँ संरक्षण तथा पर्यटन प्रवर्द्धन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिए। पदमार्ग निर्माण गरेपछि आरोही र पर्यटक हेलिकप्टरबाट जानुपर्ने समस्या हटेको छ। यसअघि सहज पदमार्ग नहुँदा हेलिकोप्टर तथा मुस्ताङको कुञ्जो हुँदै घुमाउरो बाटो भएर अन्नपूर्ण आधारशिविर जानुपर्ने बाध्यता थियो।

अब नारच्याङबाट नेपाली एकैदिन र विदेशी दुई दिनमा अन्नपूर्ण प्रथम हिमालको आधारशिविर पुग्न सक्नेछन्। पदमार्गको लागि अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) को १० लाख अनुदानमा निलगिरि खोलामा दुई वटा झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ। अप्ठ्यारो ठाउँमा बाटो विस्तार गर्न पर्यटन बोर्डले जिल्ला समन्वय समितिमार्फत ६ लाख रुपैयाँ उपलब्ध गराएको छ। यो पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविर सबैभन्दा छिटो पुग्न सकिन्छ।

समथर फाँट नीलो तलाउ, तलाउनजिकै उभिएका अग्ला हिमाल। सूर्योदयले चम्केका सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउन पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता हो। अग्ला पहाड हुँदै झर्ने झरना, जङ्गली जनावर, चराचुरुङ्गी, वनस्पति, जडीबुटी र मनमोहक हिमाल यो पदमार्गको थप आकर्षण हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.