|

विशेषतः यस प्रहरमा सर्वाधिक प्रियत्माहरू फक्रने र फुल्ने प्रक्रिया भइरहेको हुन्छ। विभिन्न आभामा रङमा कृत्यहरू घटिरहेका हुन्छन्। काठको मठमा पनि प्रकृतिसँग नजिक हुने यत्न भइरहेका हुन्छन्। कला साधनासँगैका सिर्जना बतासमा फैलिइरहेका हुन्छन्। पूर्ण चन्द्रको रातको असली कथा प्रेमी कविका लागि मात्र नभई काव्य बुझ्ने, सुन्ने सबैमा गहना बनेर मगमगाइरहेको हुन्छ।

फुल मुनमा किरातेश्वर थुम्कोमा गई शास्त्रीय संगीतको आनन्द लिने श्रावकगणहरू संसार भुलेर संगीतको रागमा झुलिरहेका छन्। कला, संगीत सिर्जना जस्ता विषयका सदस्यहरू आजीवन विद्यार्थी बनेर भोको पेटमा भायोलिन बजाउँछन्, सारंगी रेट्छन्, तबला ठोक्छन्, बाँसुरी टोक्छन्। पापी पेटको कुरा भनेर वाक्य 'क्वाइन' गर्ने यस जगका ईश्वर यो नश्वर शरीरात्मालाई विभिन्न प्रकारले विभिन्न रंगमा नचाइरहेका छन्।

किरातेश्वरको काख संगीतका लालाबाला सबैका लागि आँत भर्ने थलोका रूपमा बज्दै आइरहेको छ। शिवका अनेक लीलामध्यको एक लीला पशुपति बनेर उभिरहेको कैयौँ काल बित्यो होला, सायद त्यही कालदेखि हुनुपर्छ, किरातेश्वरका रूपमा पनि शिव अर्को एक ताण्डव रूप सिउरेर जगलाई हल्लाउँदा किरातेश्वरको उत्पत्ति भएको हुनुपर्दछ। श्लेषमान्तक वन,  गुह्येश्वरी मन्दिर, पशुपतिनाथ, कैलाश डाँडो, वागमती, निर्जन गुफा, आर्यवर्तबाट आयातीत आर्यघाटको सुनको कथा, पौराणिक भव्यता ओढेर बगिरहेको छ।

विशेष स्थानमा विशेषता बोकेका आत्माहरूको विचरण हुन्छ, हिन्दू राष्ट्र देश नेपाल क्रान्तिकारीहरू प्लस अवतारी राजनीतिक दलहरूका कारण बिटुलिएका वर्षहरूका गाँठ धेरै भए। छिमेकी भारतमा यतिबेला मोदीको 'म्याजिक' चलिरहेको छ। उनले लाउने म्याजिक चप्पल नेपालमा बनेको हो? उनको खास नाम दामोदर...।  उनका पुरोहितले नेपालको उत्तरी भेग दामोदरकुण्डबाट लिएको एक कमण्डलु जलाधार थियो। भारतमा आरएसएसको भूमिगत, अर्धभूमिगत, खुला प्रचार चलिरहेको छ, नेपालमा राससको एकल विश्वसनीयता समाचार नपाउने तर, विज्ञापन पाउने पत्रपत्रिकाहरूका लागि अनिवार्य लत बनेको छ। साँझको साहारा बनेको छ। खोपीका पत्रकारहरूका लागि र ढुक्क बनाउने अचुक चुर्ण बनेको छ, परका प्रकाशकहरूलाई।

मध्यम प्रकाश र मध्यम बुझाइमा अडिएको जुनमा जे देख्यो, त्यही परावर्तन हुन्छ। आर्यमौन सत्य मान्ने जैनमुनिका गोडामा उठेका फोका सफा गरेर काँचो सुतीको कपडाले बेरी प्रेम खन्याइरहेका भक्तजनहरू देखेर मध्यरातमा जून मुसुमुसु हाँस्छ।

जब पशुपतिको प्रसंग उठ्छ, हिन्दुत्वको तिलक टल्किएर आउँछ। इतिहासलाई हेर्ने हो भने देशको देहमा कहिल्यै धर्मको नुनचुक छरिएको थिएन तर नेताहरूको विगविगी र पुराना वादहरूले 'ग्रेभयार्ड'बाट निर्देशन दिन थालेपछि नयाँ वादका रूपमा, प्रयोगका रूपमा, शासनका रूपमा वहाली भए र हामी मात्र भूपिका क्यारेमबोर्डका गोटी भयौँ। हिन्दुत्वको चर्को नारा उठेको थिएन। न कुनै अन्तरधार्मिक कलह नै उत्पन्न भएको थियो। तर दलका दलाल नेताहरूका कारण धर्ममा राजनीति छिर्‍यो। राजनीतिको उच्चतम अवस्था धर्मको हो तर मूर्ख नेताहरूका कारण धर्म र राजनीतिलाई दुई भागमा बाँडेर क्षणिकतामा रमाउन खोजे। त्यसबेलाको नकारात्मक प्रभाव पशुपतिमा पनि प्रवेश गरेको थियो।

स्वप्नमा आएर बरबराउने स्वामी कुवेरनाथसँग गन्न नसकिने पैसाका थाक छन्, सोच्न नसकिने सोचका जंगलहरू उम्रिरहेका छन्, हिँडेर नपुगिने बाटाहरू दौडिरहेका छन्, मचानभन्दा माथि मचिया राखेर मच्चिँदै एकादेशको कथानकमा कथा बनेर उडिरहेका छन्। पशुपतिनाथमाथिको आकाशमा उड्न वर्जित छ भनेका कारणबाहेकको आकाशे यात्रामा बहकिरहेका छन्। आकाशमा उडिरहेका बखत धेरै दृश्यहरू छर्लंग देखिन्छन्, उचाइप्रतिको मोह बाक्लिएर मोहनी बनेको छ।

फुल मुनमा हाँसिरहेको चारैतिरको वातावरण चल/अचल द्रव्यहरूको खासखुस मस्कने बादलको वैंशालुपन, बुर्का नओढेकी जूनको रस प्रसाद बनेर फैलिइरहेको छ। मध्यम प्रकाश र मध्यम बुझाइमा अडिएको जुनमा जे देख्यो, त्यही परावर्तन हुन्छ। आर्यमौन सत्य मान्ने जैनमुनिका गोडामा उठेका फोका सफा गरेर काँचो सुतीको कपडाले बेरी प्रेम खन्याइरहेका भक्तजनहरू देखेर मध्यरातमा जून मुसुमुसु हाँस्छ।

ओमकारनाम पशुपतिनाथमा गुञ्जिरहेको छ।

नयाँ वर्षको संघार

प्रिय लरेट, कवि डा. नीरविक्रम थापाको कविता हरेक नयाँ वर्षमा बौरिएर आउँछ। सात समुद्रपारि बस्ने बूढा प्राध्यापकको आत्मीय डोरी पनि गज्जबकै छ। अमेरिकामा नेपाली नयाँ वर्षको परवाह कसलाई? तर कवि थापाले टीका लगाएका छन्। उनको भित्तामा उभिएर काखमा 'स्ट्याचु अफ लिबर्टी' लिएको अंग्रेजी क्यालेन्डरलाई नेपाली तिथि, मिति, बार, मुहूर्तलाई रातो हाइलाइटरले ज्योतिर्मय पारेका छन्।

नेपाली नयाँ वर्षमा उनी मलाई फोन गर्छन् र त्यही पुरानो कवितालाई मेरो ताजा नयाँ कविता भनेर सुनाउँछन्। उही कवितालाई एक दशकभन्दा धेरै लामो समयसम्म वाचन गरिरहेका छन् र म सुनिरहेको छु- उनको नयाँ अर्थात् प्राचीन कविता।

नयाँ वर्ष

कहिल्यै नआउने दिन फेरि आएको छ

कहिल्यै नपर्खेको दिन फेरि आएको छ

पुरानो साज, समय, समर्पण जुर्मुराएको छ

नयाँ साल सिसौको रूखमा चढेर आएको छ

खयरको दापमा लुकेर आएको छ

मानौं, यो आलो चोप हो रूखको

बोक्रा उघारेर आँखा चियाएको छ।

 

दि इन्द्रले बिछ्याएको इन्द्रेणी जस्तो

बादल थाकेर माटोमा मिसिएजस्तो

बालुवामाथि उकासिँदै गरेको तृष्णाजस्तो

र्‍याण्डिकुवामा अडेको श्वास बनेर

रातो तर्वुजाको गुदीभित्र खुम्ची बसेको रहेछ

जुनी-जुनी जीवन पाएको कछुवाको छायामा

छोपिएर बसेको रहेछ यो नयाँ वर्ष

उल्लास, अत्यासको भारी बोकेको नयाँ वर्ष।

 

जो आफ्ना थिए, आफ्नै रहे

त्यसमा नयाँ के भयो?

जो टाढा बसेर चोर औँला ठड्याइरहेका थिए

तमाम ती हृदयश्रावक त्यहीँ रहे

जहाँ मैले उनीहरूलाई प्रथम पटक देखेको थिएँ

मभित्रको अमूर्त चित्र अझै क्यानभाषमा ओर्लेको थिएन

त्यसमा अनौठो के भयो? संसारको जाँतोमा क्यानाम जो म पेलिएको थिएँ।

 

एक मुठी सास फेरेर

एक मुठो दाउराको भारी बोकेर

एक चिम्टी नुन किन्न हिँडेको कामदेव

अहिले फलाहारी भएको छ

खाना फेरिएर के भयो र!

भोको पेटको रागमाला उही छ

जामा फेरिएर के भयो र!

जाग्न उठ्नुपर्ने जागृति सुषुप्त बसेको छ।

प्रिय कविको प्रिय वाणी वर्षौंदेखि नियमित बनेर आइरहेको छ। वर्षको पहिलो दिन, पहिलो घाम तापेर बसिरहेका बेला फोन आउँछ र म तन्मयतापूर्वक उनको कविता सुन्छु। रीतको नयाँ वर्षगाँठ मनाउनेहरूको भीडमा म कविता उत्सव मनाउन बस्ने गर्छु। नयाँ वर्षमा मोहक कविको प्राचीन कविता सुनेर नवीन रसविहारमा डुंगा खियाउँछु। न्यु जर्सी निवासी डाक्टर नीरको कविहृदय धनी छ, सम्झनामा उनको काव्य सिर्जनाको गह्रुंगोपन बोकेर म स्वदेशी सोफामा खुम्चन्छु।

आँखा केवल दृश्य हेर्नलाई होइन रहेछ, आँसु लुकाउने घर पनि हो भन्ने हेक्का तलाउमा चलिरहेका वहावहरूले दिलाइरहन्छन्। कत्रो संसार अटाउने रहेछ यी आँखामा? नयाँ वर्ष लोभमा भित्री क्रन्दन थुनेर बाहिर मुस्कुराउँदै मीठो रङ पोतेर परिवारमाझ खुसी बाँडिरहेका छन्

नयाँ वर्षको उल्लास

काठमाडौँ यतिबेला नयाँ वर्ष मनाइरहेको छ। नयाँ नेपाल नयाँ वर्षमा धुमधामले तराई-पहाड घुमिरहेको छ। नेताहरू परदेशमा स्वेदेशी देह सुकाइरहेका छन्। राष्ट्रिय फूल लालीगुँरासको महत्त्व नयाँ वर्षको मौसममा अझ प्रगाढ भएर आउँछ। बाटोभरि, भीरभरि, जंगलभरि, मनभरि गुँरासको लाली पोतिएको छ।

नयाँ उल्लास मनाउन कन्जुस्याइँ गरिरहेका धूवाँवाहक धुम्रकेतुहरू मुखमा मास्क लगाएर गाली गरिरहेका छन्। सहरमा उत्सव मनाउन मान्छेहरूसँगै मिसिएको छ धूलो, खाली पाइप, लाज मानेर मुख लुकाइरहेका रूखका पातहरू एकटकले हेरिरहेका छन्, समकालीन काठमाडौँको कारुणिक दृश्यलाई।

को गोलामा रानुको काम रानी माहुरीले झैँ दैनिक जीवनलाई धुलाम्य गरी टाँसिदिएको छ। सुदूरपश्चिममा बस्ने एकजोर सुकिला आँखा कफी हातमा लिँदै घरनजिकैको तलाउमा मन खेलाइरहेकी छन्। त्यो एक जुग कुनै बेला रारा ताल बन्न सक्छ र खसेको पहेँलो पात टिप्नलाई आउने पाहुना चरोसँग वार्ता घट्न सक्छ। परिवारनाहरू सन्तानले आफ्नो ललाटमा निकै मधुरो गरी लाउँछन् अथवा मुख बिगार्छन् पुरानो पारा भनेर। तर तिनै मातापिता मुख मिठ्याउँदै बाल्यकालको झोलीमा सुताएको बालक सम्झन्छन्- जुँगाधारी छोरालाई र सुनाउँछन् एकादेशको कथा निद्रादेवीलाई निमन्त्रणा दिन।

सतहमा जमेको पानीमा लेखिएका लहरका हल्का हस्ताक्षरमा विगतको ऐना देख्छन्, जहाँ सन्तानलाई सानो देख्ने एकजोर चिम्से आँखा सेलरोटीझैँ घुमेर फेरि विगतबाट वर्तमानसम्म आइपुग्छन्। आँखा केवल दृश्य हेर्नलाई होइन रहेछ, आँसु लुकाउने घर पनि हो भन्ने हेक्का तलाउमा चलिरहेका वहावहरूले दिलाइरहन्छन्। कत्रो संसार अटाउने रहेछ यी आँखामा? नयाँ वर्ष लोभमा भित्री क्रन्दन थुनेर बाहिर मुस्कुराउँदै मीठो रङ पोतेर परिवारमाझ खुसी बाँडिरहेका छन्।

प्राचीन वीर्य नयाँ बीज बनेर धर्तीमा विचरण गरिरहेको छ। नयाँ नाम, दुर्लभ नाम लिएर अर्थमा फक्रिरहेको छ। विष्णु शिरमा, काखमा लक्ष्मी बसी फुलाइरहेका छन्, आउने युगको गीतमा संगीत भरिरहेका छन्। अहोभावका धेरै नामहरू मानव जीवनलाई आनन्द दिनलाई विभिन्न नाम लिई आउँछन् र सधैँका लागि सँगै रहन्छन्। शरीरको खेला र हरिको लीला अपरम्पार छ। नयाँ वर्ष सुदूरपश्चिमको डिलबाट चियाइरहेको छ- सगरमाथाको पाखोतर्फ। उपहार अर्थमा मात्र निहीत छैन, अर्थममा घना अर्थ लुकेको छ, सायद ऊ आफूलाई बुझ्न समर्थ हुनेछ, जतिबेला उसलाई अर्थ दिनेहरू साथमा हुने छैनन् र प्रेम वर्षाइरहनेछन्।

गन्धकुटीमा नयाँ वर्ष

बुद्धको गन्धकुटीमा क्यालेण्डर थिएन, यद्यपि, समय चलिरहेको थियो। बुद्धको अवस्थामा उत्सव हरक्षणमा घटिरहेको थियो,जसका लागि खास एक दिनको कुनै महत्त्व थिएन। सुरक्षित जीवनयापनका पालकले पललाई घडीको दाम्लोमा बाँधेर संसारलाई घुमाए। यो चक्र घुमिरहेको छ मेरो युगको नयाँ वर्षसम्म र आउने कैयौँ कालसम्म पनि स्काइक्रापरमा नयाँ वर्षको विगुल बजी नै रहनेछ। सहजनहरूले बुझे कि बुझेनन्, लण्डन आईको चंगुलबाट आइफल टावर हेरिरहँदा बेबीलोनको बगैँचामा झुलिरहने अलमस्ता बुद्ध हुनुपर्छ। कपिलवस्तुबाट हिँडेको ठिटो सिद्धार्थ जोर्बालोकमा पुगेर विवेकको तराजुमा समयको ढक राखेर ज्ञान बेचिरहेको छ। तिलआनन्द उसको नाम भयो, उच्चारण लरबराउनेहरू तिलानन्दका रूपमा पुजिरहेका छन्। जय हो, जय हो, सबैको जय होस्।

नयाँ वर्षको शुभकामना!

नयाँ पलको शुभकामना!!

नयाँ तपका लागि अग्रीम शुभकामना!

पल प्रतिपलमा बाँच्न सकेस्, यही अन्तिम कामना!!

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.