महासंघमा २१ महिनाको अनुभव : डरैडरमा मिल्यो सन्तुष्टि

|

काठमाडौं : बुधबारदेखि नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष भएका पशुपति मुरारकाले विहीबार दिनभर बबरमहलस्थित आफ्नो कार्यालयमा बिताए। चैत २८ र २९ गते काठमाडौंमा भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेपछि उनी आफ्नो व्यवसायिक काममा लागेका छन्।

'झण्डै दुई वर्षदेखि यो अफिसमा धित मर्ने गरी बस्न पाएको थिइन, आज दिनभरनै अफिसमा बसेँ' बेलुका ५ बजेसम्म अफिसको आधा दर्जन मिटिङ सिध्याएका मुरारकाले थाहाखबरसँग भने। 

मुरारका विहीबार झण्डै एक घण्टा महासंघको नवनिर्वाचित पदाधिकारीलाई बधाइ दिन प्रधानमन्त्रीले बोलाएको कार्यक्रममा सहभागी भए पनि बाँकी समय भने आफ्नै काममा व्यस्त भए। 'विहान नौ बजे अफिस आइपुगेको थिएँ, आफै अफिस खोलेँ, चैत मसान्तको काम दिनभर व्यस्त नै भएँ' उनले भने। 

महासंघको नेतृत्व छाडेर फुर्सदिलो बनेका मुरारकाले यो वर्षमा कम्तीमा दुईवटा उद्योग स्थापना गर्ने तयारी सुरु गरेका छन्। तर उनले कति लगानीमा के उद्योग स्थापना गर्ने भन्ने खुलाएनन्। 'बेरोजगार छु, मरो लागि जागिर खोज्नै छ, त्यसको लागि कम्तीमा २०७४ सालमा दुईवटा उद्योग स्थपना गर्ने सोच बनाएको छु' मुरारकाले भने।

२१ महिना निजी क्षेत्रको प्रतिनिधिमुलक संस्थाको नेतृत्व सम्हालेका मुरारका आफ्नो कामबाट सन्तुष्ट छन्। 'के काम गर्ने, कसरी संस्थाको साख जोगाउने भन्नेमा अलि डर नै थियो, २१ महिना बिताएर फर्कने क्रममा म आफैलाई सन्तुष्टि मिलेको छ' उनले भने। 

२१ महिने कार्यकाल

महासंघको ४८ औं साधारण सभाबाट प्रदीपजंग पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन हुँदा मुरारका वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए। महासंघमा निर्वाचन हार्ने र जित्नेबीचको इगो बढ्दै गएको थियो। त्यसैको परिणाम ९ महिना कार्यकाल बित्न नपाउदै अध्यक्ष पाण्डे कानुनी फन्दामा फसे। वर्षौ पुरानो फौजदारी बाँकी रहेको देखिएपछि उनी पदमुक्त भए।  मुरारकाले केही महिना कार्यबाहक अध्यक्ष बनेर काम गरे। 

सधारण सभादेखि नै ध्रुवीकृत देखिएको महासंघ नौ महिनासम्म थप जटिल अवस्थामा पुगेको थियो। महासंघको साख जोगाउन र एकाताबद्ध गराउने कार्य निकै जटिल थियो। त्यो जटिलताको विषयमा पुशपति  मुरारकालाई 'तातो दूध थुक्ने वा निल्ने' जस्तै भएको थियो। महासंघको साधारण सभाबाट उनी सर्वसम्मत रुपमा अध्यक्ष चयन भए। 'मैले कार्यबाहकको जिम्मेवारी नपाएको वा वरिष्ठ उपाध्यक्ष नभएको भए त्यो परिस्थिमा अध्यक्ष बन्ने आट गर्दैन थिएँ होला, तर कार्यबाहक अध्यक्ष बनेको र वरिष्ठ उपाध्यक्ष भएको कारण अरु दुई आकांक्षीबीच मेरो पनि दाबी रह्‍यो, अन्तमा सहमतिकै आधारमा  म अध्यक्ष बनेँ' उनले भने।  

महासंघको अध्यक्ष निर्वाचित हुँदासम्म आफूमा काम गर्ने कन्फिडेन्स नभएको मुरारका स्वीकार्छन्। तर उनले यति धेरै मिहिनेत गरे कि २१ महिनापछि महासंघबाट बाहिरिँदा केही काम गरेकामा गर्व गर्न सक्ने भए। 'अध्यक्ष बनेपछि पनि के गर्ने, कस्तो काम गर्ने मसँग त्यति धेरै कन्फिडेन्स थिएन' उनी स्वीकार्छन् 'तर गएकै दिनदेखि १६ घण्टासम्म काम गरेँ,विस्तारै बानी पर्न थाल्यो।' 

हुन त निजी क्षेत्रको छाता संस्थाको प्रतिनिधिले गर्ने ठूला ठूला काम हुँदैनन्। निजी क्षेत्रका समस्या सरकारसँग प्रष्ट रुपमा राख्ने र समाधानको पहल गर्ने नै मुख्य काम हो। मुरारका आफू त्यसमा केही हदसम्म सफल भएको बताउँछन्। 'हामीसँग कार्यकारी अधिकार हुदैन, यो नियम चेन्ज गर्छु, यहाँ छुट दिन्छु भन्न सक्ने कुरा आउँदैन। हामीले गएर आफ्ना समस्या सरकारसँग यथार्थपरक रुपमा प्रस्तुत गर्ने नै मुख्य काम हो' उनी आफ्नो विगतको भूमिकाबारे भन्छन् 'संस्थाको प्रतिष्ठा जोगाउने अर्को मुख्य काम हो यस्ता काममा मैले निकै लागि परेँ, आज सन्तुष्ट पनि छु।'

के हुन् सन्तुष्टि मिलेका काम?

महासंघको नेतृत्वमा रहँदा आफूले मुख्य चारवटा काम गरेको मुरारका बताउँछन्। संविधानमा उद्योगीको हक अधिकार, ट्रेड युनियन र रोगजारदादाता बीचको एकता, महासंघलाई एक ढिक्का, महासंघका विनोद चौधरीको आगमन तथा महासंघको विधान संशोधनलाई उनले आफ्नो विशेष कामको रुपमा लिएका छन्। 

निजी क्षेत्र मैत्री संविधान

मुरारका महासंघको अध्यक्ष रहेका बेला मुलुकमा नयाँ संविधानको मस्यौदामाथि छलफल हुँदै थियो। मस्यौदालाई उद्योगी व्यवसायीले ख्याल नगरेको भए भएका उद्योग समेत पलायन हुने र नयाँ उद्योग खुल्न नसक्ने अवस्था आउने उनी बताउँछन्। उनी नेतृत्वको महासंघकै पहलका कारण नयाँ संविधान निजी क्षेत्र मैत्री र अधिकतम निजी क्षेत्रका सुझावलाई सम्बोधन गरेर जारी भएको मुरारका दावी गर्छन्। 

संविधानमा महासंघको भूमिका
म कार्यबाहक अध्यक्ष रहेकै बेला संविधानको पहिलो मस्यौदा आएको थियो। त्यो मस्यौदामा भएको करका प्रावधान लगायतका विषय उद्यमी व्यवसायीको कोणले हेर्दा निकै डर लाग्दो थियो। एउटा किसिमका करहरु केन्द्र सरकारले उठाउन पाउने, अर्को स्थानीय सरकारले उठाउन पाउने। एक प्रदेशबाट अर्को प्रदेशमा सामान लैजादा दुईथरीका कर तिर्नुपर्ने व्यवस्था थियो। निजी सम्पत्ति माथिको हकमा प्रश्‍न चिन्ह थियो। उद्योग व्यवस्थापनमा श्रमिकहरुको पनि सहभागिता गराउनुपर्ने व्यवस्था थियो। तीन खम्बे अर्थनीतिमा सरकारी, निजी र सहकारी थियो। प्राथमिकतामा आधारमा निजी भन्दा सरकारी र सहकारी अगाडि थियो। हाम्रो प्रयासले निजीलाई पहिलो प्राथमिकतामा ल्याउन सफल भयौं।यदि हामीले त्यो शर्त परिवर्तन गराउन नसकेको भए त्यसले ठूलो समस्या निम्त्याइसकेको हुन्थ्यो। मैले त्यो बेला करिव डेढ दुई महिनाको समयमा सरोकारवालासँग सय भन्दा बढी मिटिङ गरेँ होला। विहान ६ बजेदेखि राती १०/११ जुन ठाउँमा पनि जान तयार भएँ। त्यसमा मैले नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको पनि साथ लिएँ।

श्रम सम्बन्धमा सुधार

नेपालमा ट्रेड यनियन र रोजगारदाताबीचको सम्बन्ध २५ वर्षयताकै सबैभन्दा राम्रो रहेको मुरारकाको दावी छ। उनले श्रम ऐन बनाउने क्रममा नेपाल संसारकै उदाहरणीय देश भएको समेत दाबी गर्छन्। 'मेरो विचारमा नेपाल मात्रै त्यस्तो देश हो जहाँ श्रम ऐनको मस्यौदा निर्माण गर्दा ट्रेड युनियन र रोजगारदाता मिलेर सहमतिको आधारमा अघि बढाइयो, सहमतिको आधारमा तय गरेको मस्यौदा संसदमा छ केही समयमा पास हुनेछ' उनले भने।  

त्यस्तै  नयाँ औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन आएको छ, कम्पनी ऐन जस्ता ऐनहरु पनि आउने क्रममा रहेका कारण औद्योगिक वातवरण बन्दै गएको मुरारकाले बताए।

निजी क्षेत्रका संस्थाबीच सुमधुर सम्बन्ध 

उद्योगी व्यवसायीहरुले विभिन्न उद्देश्य सहित संस्थाहरु खडा गर्ने क्रम जारी छ। तर उद्योगी व्यवसायीबीच एक मत भने देखिदैन। साझा एजेण्डा समेत संगै गएर राख्न नसक्ने स्थिति भएको विगत मुरारका सम्झन्छन्। उनले आफू अध्यक्ष भएसंगै व्यवासायीको हक हित र निजी क्षेत्रको एकताको साझा एजेण्डा बनाउने कार्यमा सफल भएको बताउँछन्।  'व्यवसयिक संगठनहरु धेरै छन्। तिनीहरुको बीचमा पानी बारबारको अवस्थामा म अध्यक्ष भएको थिएँ, अहिले त्यो परिस्थिति देख्दिन' मुरारकाले भने 'आजको दिनमै नेपाल उद्योग परिसंघ महासंघकै कार्यलयमा आएर काम गर्न सकेको छ, संयुक्त रुपमा हामीले कार्यक्रम राखेका छौं, नेपाल चेम्बर अफ कमर्स र हामीबीच पनि एक भएर काम अघि बढेका छन् यही नै ठूलो कुरा हो।' 

उद्योगीहरु एक भएर संगै डेलिगेसन जाने र साझा एजेण्डा राख्न सक्दा पनि राज्यले निजी क्षेत्रका कुरा सुन्न बाध्य भएको र संविधान निजी क्षेत्र मैत्री आएको मुरारकाको दाबी छ।

विनोद चौधरीको आगमन

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष विनोद चौधरी दुई दशकदेखि महासंघको कुनै पनि कार्यक्रममा सहभागी भएका थिएनन्। आफूपछिको महासंघको नेतृत्वप्रतिको असहमतिका कारण उनले महासंघलाई बहिस्कार गर्दै आएका थिए। तर चैत २८ गते महासंघको साधारणसभामा उनी सहभागी भए। चौधरीलाई महासंघमा फर्काएको भन्दै वाहावाही पाएका मुरारकाले त्यो काम त्यति सजिलो नभएको बताए। उनले आफ्नो व्यतिगत सम्वन्धलाई समेत त्यहाँ प्रयोग गरेको बताए।

मैले व्यवसायिक हित र एकताको सन्देशको लागि आइदिन आग्रह गरेँ उहाँले स्वीकार गर्नुभयो। 

'आउदिन नै भनेर बस्नुभएको थियो, मैले निकै ठूलो कसरत गरेपछि उहाँ आउनुभयो' मुरारका भन्छन् 'मैले व्यवसायिक हित र एकताको सन्देशको लागि आइदिन आग्रह गरेँ। तपाई अन्यायमा परेको हो म पनि मान्छु, ती कुरा एक ठाउँमा छन तर निजी क्षेत्रको अवस्था आर्थिक क्षेत्रको हितको लागि तपाई आउनै पर्छ भनेपछि मान्नुभयो।'

चौधरीको आगमनले निजी क्षेत्रबीचको एकताको सन्देश दिएको मुरारका बताउँछन्। साथै चौधरीले समेत अबका दिनमा महासंघमा कुनै पनि रिसइबी नभएको र आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको उनले बताए।  

विधान संशोधन

महासंघको साधारण सभामा झण्डै १२ वर्षदेखि लगातार विधान संशोधनको विषय उठ्दै आएको थियो। तर विधान संशोधन मुरारकाकै कार्यकालमा भयो। देश संघीय ढाँचामा गएको कारण पनि विधान संशोधन अनिवार्य बनेको थियो। 'हामी देशको संघीय अवस्था अनुसार अघि बढ्नुपर्ने थियो, यदि हामी नगएको भए त्यही मुद्दा उठाएर अर्को संस्था खुल्ने थियो र महासंघ कमजोर बन्ने संभावना थियो त्यसैले पनि उपयुक्त समयमा विधान संशोधन गरेका हौं' मुरारकाले भने।

संघीय संरचनाअनुसार महासंघ गएकोमा धेरै उद्योगी व्यवसायी र पूर्व अध्यक्षहरु पनि खुशी देखिए पनि केही पूर्व अध्यक्ष र सदस्यहरुले भने विरोध गरे। तर मुरारका भने वरिष्ठ उपाध्यक्षलाई स्वत: अध्यक्ष बन्ने गरी विधान संशोधन गर्ने विषय धेरै पहिले उठेको बताउँछन्। यसले महासंघको अस्थिरता मेटेको समेत दाबी गर्छन्।

वरिष्ठ उपाध्यक्ष यसकारण स्वत: अध्यक्ष
वरिष्ठ उपाध्यक्षलाई स्वत: अध्यक्ष बनाउने भन्ने विषय धेरै पहिलेदेखि उठेको हो। एक व्यक्तिले संस्थामा तीन कार्यकाल (वरिष्ठ उपाध्यक्ष, अध्यक्ष र निवर्तमान अध्यक्ष) सम्म आफ्नो सीप योगदान गर्न पाउँछ। वरिष्ठ उपाध्यक्षको तीन वर्षको कार्यकालमा उसले धेरै कुरा सिक्छ त्यो सिकको कुरा अध्यक्ष हुँदा कार्यन्वयन गर्छ, साथै निवर्तमान भएपछि उपयुक्त सुझाव दिन सक्ने गरी खारिएको हुन्छ। उद्योग वाणिज्य महासंघको अहिलेम्मको इतिहासमा निवर्तमान अध्यक्ष र वर्तमान अध्यक्ष मिलेको रेकर्ड अपवाद बाहेक छैन। तर, अब भने मिलेर काम गर्ने अवस्था आउँछ। यदि दुई प्यानलबाट आएको भए पनि तीन वर्षसम्ममा रिलेसन डेभलप हुन्छ। आपसी रिस राग देखिदैन। निवर्तमान अध्यक्ष र अध्यक्ष नमिल्दा व्यक्तिगत भन्दा पनि संस्थालाई निकै ठूलो क्षति पुगेको थियो अब यस्तो हुँदैन। 

समय व्यवस्थापन

महासंघको नवनिर्वाचित अध्यक्ष भवानी राणाले पदबहाली गरेपछि मुराकाले अलि फुर्सदिलो भएको प्रतिक्रिया दिएका थिए। छोटो समयमा धेरै काम गरेको दाबी गर्ने मुरारकाले महासंघमा दिनमा १२ देखि १६ घण्टासम्म बिताएको बताउँछन्। 'यो पोष्टमा टाइमको डिमान्ड धेरै हुने रहेछ, दिनको चार/पाँचवटा कार्यक्रममा एटेण्ड गर्नुपर्ने, १२ देखि १६ घण्टासम्म महासंघकै काममा व्यस्त हुन्थेँ' उनी सम्झन्छन् 'होस्टेलबाट छोराछोरी १० दिनको विदा मिलाएर आउँथे तर मैले उनीहरुलाई भेट्ने नपाई  होस्टेल जाने दिन आउथ्यो।' अध्यक्ष भएपछि मुरारकाले महासंघको काममा ५५ वटा जिल्ला गए। 'कुनै जिल्ला तीन चार पटक समेत जानु पर्‍यो तर मैले ५५ भन्दा बढी जिल्लामा महासंघको अध्यक्ष भएपछि पुगे' उनले भने। 

भाषण कला गिफ्टको रुपमा पाएँ

नेपाल उद्योग वाणिज्य महासंघमा विभिन्न समितिको सभापति तथा एक कार्यकाल उपाध्यक्ष र एक केही समय वरिष्ठ उपध्यक्ष भएका मुरारका आफू राम्रो वक्ता नभएको स्वीकार गरे। तर महासंघको अध्यक्षबाट बाहिरिदा उनी स्पष्ट र आफ्ना कुरा जोडदारका साथ राख्न सक्ने वक्ताको रुपमा दरिए। 

मुरारका महासंघको अध्यक्ष भएपछि भाषण कला गिफ्टको रुपमा पाएको बताउँछन्। 

मुरारकाको अनुभव
म बच्चादेखि व्यवसायी हुँ, जन्मदादेखि नै व्यवसायीका कुरा मात्रै सुनेँ, नाफा घाटाकै कुरा सुनेँ। मसँग विषयवस्तु थियो। तर प्रस्तुति गर्ने कला थिएन। पछि दिनदिनै बोल्नुपर्ने, दिनकै तीन/चार ठाउँ जानुपर्ने र बोल्नैपर्ने भयो। विस्तारै बोल्दै जाँदा त्यसमा सुधार हुदै गयो। कन्फिडेन्स पनि बढ्दै गयो। मैले बोलेका कुरा पछि सुन्दा ठीकै बोलेँ भन्ने भयो। अर्को, धेरै कथा र लामो भाषण रुचाउदैनन् भन्ने कुरा मलाई थाहा थियो। बुँदागत रुपमा सटिक बोलेमा धेरैले मन पराउँछन्। वास्तवमै महासंघको अध्यक्ष भएपछिको यो मेरो व्यक्तिगत उपालव्धि हो। यसलाई मैले महासंघको अध्यक्ष हुँदा आएको गिफ्टको रुपमा लिएको छु।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.