|

  • गोविन्द महतो

जनकपुरधाम : धुर्मुस-सुन्तली फाउन्डेसनले नयाँ वर्षको अवसर पारेर महोत्तरी जिल्लाको बर्दिबासस्थित एकिकृत नमुना मुसहर बस्ती हस्तान्तरण गरेको छ। हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पहलमा निर्माण भएको यो बस्ती हास्यँ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) तथा धुर्मुस-सुन्तलीका आमा बुबाले संयुक्त रुपमा हस्तान्तरण गरे।

बस्ती हस्तान्तरणका लागि गरिएको औपचारिक कार्यक्रममा उनीहरुले मुसहर बस्तीका अध्यक्ष विल्टु सदालाई साँचो प्रदान गरे। हस्तान्तरण समारोहमा कलाकार सिताराम कट्टेल धुर्मुसले आफुले गत पुस २५ गते गरेको वाचा पुरा भएको बताए। 'आज हामीले गरेको वाचा पुरा गर्‍यौ। हामीले जे बोलेका छौं त्यो गरेका छौं। हामीले आजको दिन सम्म तीन वटा एकिकृत नमुना बस्ती निर्माण गरी हस्तान्तरण गरिसकेका छौं,' उनले भने,' हामी नेता बन्दैनौं। राजनीतिमा जादैंनौ। तर जनताले हामीलाई अगाडी सारे भने पक्कै पनि देश र जनताको लागि यस्ता तराई, मधेश, पहाड र हिमालको आवाजलाई बुलन्द गर्नपछि पनि हटदैनौं।'

बर्दिबास २ मा निर्माण भएको यस बस्तीमा जम्मा ५३ घर छन्। बस्तीका प्रत्येक घरमा चर्पी, खानेपानीका लागि टयांकीसहितको धारा, सुत्ने खाट, हरेक घरमा ग्याँस सहितको चुल्हो जडान गरिएको छ। त्यस्तै बस्तीमा स्वागतद्वार, प्रतिक्षालय, एउटा बाल उद्यान  र ३५ फिट अग्लो भ्यू टावर निर्माण गरिएको छ।

बस्ती निर्माणका लागि ६ करोड ३६ लाख ३९ हजार रुपैयाँ सहयोग प्राप्त भएको र त्यसमध्ये ५ करोड ४ लाख ३६ हजार रुपैयाँ खर्च भएको जानकारी कार्यक्रममा दिइयो।

गरिबी र अशिक्षाको मारमा परेको मुसहर समुदायमा यस बस्ती निर्माणपछि खुसी छाएको छ। स्थानीय युवा मन्जय सदा भन्छन् 'हामीले कहिल्यै कल्पना पनि गरेको थिएनौं, की हामी पनि पक्की र आकर्षक सुविधा सम्पन्न घरमा बस्छौं। तर त्यो अकल्पनिय सपना पुरा गर्ने धुर्मुस सुन्तली हाम्रो लागि देवता समान हुन।'

फाउन्डेसनले यसअघि सिन्धुपाल्चोकको गिरानचौर तथा काभ्रेमा पहारी समुदायका लागि यस्तै नमुना बस्ती निर्माण गरेको थियो।   

सन्दर्भ सामाग्री : पुरा भयो धुर्मुस- सुन्तलीको सपना : नयाँ वर्षमा मुसहर बस्ती हस्तान्तरण हुने 

                          धुर्मुस-सुन्तलीको नयाँ यात्रा : मुसहर नमूना बस्ती निर्माण सुरु 
थप फोटो हेर्नुहोस् : 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.