|

बिर्तामोड : सरकारले वैशाख ३१ का लागि निर्वाचनको मिति तय गरेसँगै गाउँ–गाउँमा निर्वाचनको महाेल तातेको छ। करिब दुई दशक जनप्रतिनिधि विहीन बनेका स्थानीय तहमा हुन लागेको निर्वाचनमा मत खसाल्न मतदाताहरु आतुर छन्।

तर दलहरुलाई भने आन्तरिक किचलोका कारण उम्मेद्वार चुन्‍न सकस छ। लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले नेतृत्व लिने आकांक्षा राख्‍नेहरुको संख्या ठुलो छ। त्यसैले उम्मेदवार चयन गर्न सकस परेको दलका नेताहरु बताउँछन्। 

झापाको बिर्तामोड नगरपालिकामा पनि आकांक्षी धेरै भएका कारण दलहरुले उम्मेदवार चयन गर्न सकेका छैनन्। बिर्तामोड नयाँ नगरपालिका भए पनि झापाको प्रमुख शहरमध्ये एक हो। झापाको सदरमुकाम भद्रपुर भएपनि जिल्लामा क्रियाशिल सबै पार्टीको जिल्ला कार्यालयहरु बिर्तामोडमा छन्।

यस कारण पनि बिर्तामोड नगरपालिकालाई विशेष महत्वका साथ हेरिएको छ। यो जिल्लाकै प्रमुख व्यापारिक केन्द्र हो। यहाँ पूर्वी पहाडी जिल्लाका मानिसहरु सामान किनमेलका लागि आउँछन्। त्यसैले यस नगरपालिकाको प्रमुख पद आफ्नो पोल्टामा पार्न दलहरु चुनावी अभियानमा छन्। दलहरुभित्रै पनि नगरप्रमुख तथा उपप्रमुख पदका आकांक्षी धेरै छन्। 

संविधानसभाको दोस्रो निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका सुधिर कुमार सिवाकोटी विजयी भएका थिए। यस अर्थमा बिर्तामोडलाई कांग्रेसको पकड क्षेत्रका रुपमा हेरिने गरिएको छ। यस नगरको प्रमुखका लागि नेपाली कांग्रेसबाट भोजराज सिटौलाको नाम चर्चामा छ। उनी कृष्ण सिटौलाका भतिजा हुन्।

अन्य आकांक्षीहरुमा हर्कलाल गिरी, देवी गिरी लगायतको नाम चर्चामा छ। कांग्रेसबाट उपमेयरको उम्मेदवारका रुपमा उमा सिवाकोटी, राधा सुब्बा र पार्वता गिरीको नाम चर्चामा छ।

एमालेबाट नगर प्रमुखको उम्मेदवारका रुपमा एकराज कार्की, ज्ञानु प्रसाई लगायतको नाम र्चामा छ। उपप्रमुखमा एमालेबाट पवित्रा निरौला, विमला विक, कमला थापामगर, डिल्लिमाया आचार्य र पवित्रा पाठकको नाम चर्चामा छ।

माओवादी केन्द्रबाट सिपी कडरीया, दुर्गा प्रसाई, पार्टी पोलिटब्युरो सदस्य झलकसिंह दर्लामी ( सन्देश) लगायतको नाम चार्चामा छ। माओवादी केन्द्रबाट उपप्रमुखमा लक्ष्मी न्यौपाने (सरु) को नाम चर्चामा छ।

राप्रपाबाट नगरप्रमुखका उम्मेदवारका रुपमा भक्ति सिटौलाको नाम चर्चामा छ। उनी आफ्ना नातेदार कांग्रेस नेता कृष्ण सिटौलासँगको आन्तरिक विवादका कारण दोस्रो संविधानसभाको चुनाव हुनभन्दा केही समय अघि राप्रपा प्रवेश गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.