|

लहान : चिकित्सा विज्ञानले निःसन्तान दम्पतीहरुलाई सन्तान प्राप्तिका लागि अनेकौं विधिहरु पहिल्याई दिइसकेको छ। चिकित्सा विज्ञानले त्यति सुविधा पुर्‍याएको भए पनि मानिसहरुमा सांस्कृतिक र धार्मिक आस्था कति छ भन्ने उदाहरण हो, सिरहाको पतारीमा हरेक वर्ष वैशाख २ गते लाग्ने मेला।

पूर्व–पश्चिम सडकको धनगढी बजारबाट करिब १० किलोकमिटर दक्षिणमा पर्ने लक्ष्मीपुर गाउँपालिका ३ मा रहेको पतारी पोखरीमा सन्तान प्राप्तिको आकाङ्क्षासहित आउने निःसन्तान दम्पतीहरुको भीडले मानिसहरुमा अझै अदृश्य शक्तिमा अगाध आस्था छ भन्ने कुरा स्वीकार्न बाध्य बनाउँछ। हरेक वर्ष वैशाख २ गते लाग्ने मेलामा भारतको उत्तरी बिहारका पटना, मधुवनी, दरभंगा, जयनगरसहित नेपालका विशेष गरी तराई र तराईले छोएका विभिन्न जिल्लाहरुबाट निःसन्तान दम्पतीहरु सन्तान प्राप्तिको आकांक्षासहित त्यहाँ पुग्ने गर्दछन्।

पोखरीमा डुबुल्की मार्नै पर्ने

करिब १० बिघा क्षेत्रफलमा फैलिएको पोखरीको दक्षिणी किनारमा रहेको मन्दिर (गहवर) को पूर्वी ढोकामा वैशाख १ गते सा“झदेखि निरन्तर १८ घण्टासम्म निराहार बसेर भोलिपल्ट मध्याह्न गहवरभित्र रहने विशेष आराधना (कोकिया गुहाइर) बाट अक्षता लिएर गहवरको उत्तरी गेटबाट सिधै पोखरीमा हामफाल्नुपर्ने मान्यता छ। त्यसरी हाम फालेपछि पोखरीमा पहिलो डुबुल्कीमै पानीभित्र कुनै पनि जीव भेटिए सन्तान हुने विश्वास गरिन्छ।

पानीमा भेटिएको जीव मुठ्ठीमै राखेर दौडिँदै गाउँको सीमा पार गर्नुपर्ने मान्यताअनुरुप पोखरीबाट निस्केका भक्तजनहरुको पछिपछि आउने आफन्तले गाउँको सीमा कटेपछि कपडा फेरिदिने गर्दछन्। कपडा फेरेर आफ्नो घर पुगेपछि पानीबाट ल्याएको जीवको बुटी बनाएर व्रत बसेका महिलाले पाखुरा या घाँटीको मालामा राखे सन्तान प्राप्त हुने जनविश्वास रहेको छ। पतारी पकडियाका राजा कुलेसरका कान्छा भाइ हरिसिंहदेवको निवासस्थल रहेको लोकनायक सलहेश गाथामा उल्लेख छ। यो पोखरी राजा सलहेशकै बेला वि.सं. १३२५ तिरदेखि अस्तित्वमा रहेको मानिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.