|


साँच्चो हार्दिकता र शान्ति-समता ल्याइस् कि उद्दण्डता?

आमाको ममता, बुबासँग हुने सद्भाव-शालीनता
या ल्याइस् कि कृतघ्नता-विषमता संसार स्वार्थी हुने?
के ल्याइस् नववर्ष आर्त मनका मुस्कान फर्काउने?

 

हाँसो-निश्छलता अचेल छ कहाँ? षड्यन्त्र हुङ्कार छ
झूठा दम्भ र निर्विवेकपनले संसार आक्रान्त छ
या ल्याइस् व्यभिचार, उग्र जडता सम्मोह सिध्याउने?
के ल्याइस् नववर्ष आर्त मनका मुस्कान फर्काउने?

 

सत्ताको मद वा अराजक हुने सिद्धान्त हावी भयो?
मान्छेको मनभित्रको सरलता कस्को मलामी गयो?
मान्छे द्रव्य-पिचास भो, मनुजता कल्ले यहाँ ल्याउने?
के ल्याइस् नववर्ष आर्त मनका मुस्कान फर्काउने?

 

पैसाकै बलले जितिन्छ सहजै आसन्न निर्वाचन
पैसाकै पछि चण्डमुण्ड सब छन् गर्नू तपस्या किन?
आस्थाको अवसान भो कि त कठै! निष्ठा छ एक्लो रुने
के ल्याइस् नववर्ष आर्त मनका मुस्कान फर्काउने ?

 

मान्छे पत्थर भो, शिलाजित बनी पग्ल्यो बरु पत्थर
मान्छे बाँदरको जुनी लिन पुग्यो, सज्जन् भयो बाँदर!
भुल्दा नैतिकता कठै! समय भो आदर्श बौलाउने
के ल्याइस् नववर्ष आर्त मनका मुस्कान फर्काउने?
छन्द: शार्दूलविक्रीडित

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.