|

सुर्खेत : जिल्ला कारागार सुर्खेतको भवन निर्माणमा ढिलाइ हुँदा कारागारका कैदीबन्दीहरुको व्यवस्थापनमा समस्या भएको छ। कैदीबन्दीहरुलाई हिउँदको समयमा व्यवस्थापन गरिए पनि गर्मी मौसम सुरु भएसँगै कैदीहरुको व्यवस्थापनमा चुनौती थपिएको हो।

कारागार भवन निर्माणका लागि पटक–पटक सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतमा पहल गरिए पनि आलटाल गरिँदा भवन निर्माणमा ढिलाई भएको जिल्ला कारागार सुर्खेतका निमित्त जेलर लालबहादुर खत्रीले जानकारी दिए। निर्माण कार्य सुरु भएको ७ वर्ष बितिसक्दा पनि जिल्ला कारागार सुर्खेतको भवन निर्माण हुने कुनै संकेत नदेखिएपछि जिल्ला कारागार सुर्खेतले आफ्नै ४ लाख बजेटमा निर्माण गरेको भवनमा हाल कैदीहरुलाई व्यवस्थापन गरिएको खत्रीले बताए।

जिल्ला कारागार सुर्खेतमा अहिले २५ जना क्षमता भएको पुरुष कैदी भवनमा ८२ जना कैदी र ४ जना महिला कैदीबन्दी क्षमता भएको भवनमा १६ जना महिला कैदीलाई मिलाएर राख्नु परेको जेलर खत्रीले बताए। जिल्ला कारागार सुर्खेतमा अहिले १ सय ६२ जना पुरुष, १६ जना महिला, र ४ जना नाबालक गरी १८२ जना कैदी रहेको जिल्ला कारागार सुर्खेतका निमित्त जेलर लालबहादुर खत्रीले जानकारी दिए ।

जिल्ला कारागार भवन निमार्णका जिएम कन्स्टक्सनले २०६६ सालमा २ करोड ३६ लाख ९८ हजारमा ठेक्का सम्झौता गरेको थियो। कन्स्टक्सनले २०७० सालसम्म जिल्ला कारागार सुर्खेतको भवन निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। कारागार भवन निर्माणका लागि हालसम्म १ करोड ७७ लाख ४२ हजार भुक्तानी भइसकेको र ५० प्रतिशत काम सम्पन्न भइसकेको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ।

बारम्बार सम्पर्कका लागि सुचना र पत्राचार गर्दासमेत ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि कालोसूचीमा राखी सकेर जिल्ला कारागार सुर्खेतको भवनको लागि ठेक्का तोडेर नयाँ टेन्डर गर्ने तयारी भइरहेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ। निमार्णको जिम्मा लिएको ठेकेदार कम्पनी सँगको सम्झौता तोडेलगत्तै नयाँ टेन्डरका लागि बजेट मागसमेत गरी निमार्णको काम पूरा गर्ने सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृत परशुराम पराजुलीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.