|

सौराहा : तस्करले दुर्लभ एकसिंगे गैंडा मारेको शोकमा चितवनको रत्ननगरस्थित सौराहामा आइतबार शोक र्‍याली प्रदर्शन गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज आसपासका झण्डै ४० वटा संघ–संस्थाले संयुक्तरुपमा र्‍याली निकालेका हुन्।

यही चैतको अन्तिम साता पश्चिम चितवनको जगतपुरस्थित हरियाली सामुदायिक वनमा तस्करहरुले गोली हानेर एक गैंडा मारी त्यसको खागसमेत लगेका थिए। यसबीचमा २२औं वन्यजन्तु सप्ताहको अवसर पारेर ‘युवा अग्रसरताः संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नारासहित शोक र्‍याली निकालिएको हो।

र्‍याली सौराहाको विभिन्न क्षेत्र परिक्रमा गरी गैंडा चोकमा गएर सकिएको थियो। सहभागीले ‘खाग कुनै औषधि होइन’, ‘तस्करलाई किरा परोस्’ लगायतका नारा लेखिएका प्ले कार्ड तथा ब्यानर बोकेका थिए।

दुर्लभ वन्यजन्तुको संरक्षणमा जनचेतना जगाउन र्‍याली निकालिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले बताए। यसका लागि सबैको हातेमालो जरुरी रहेको उनको भनाइ छ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, वर्ड एजुकेसन सोसाइटी, यहाँका विभिन्न सामुदायिक वन, पर्यटनसँग सम्बन्धित तथा संरक्षणमा सहभागी संघ–संस्थाको सहभागिता र्‍यालीमा थियो।

‘दुर्लभ एकसिंगे गैंडा तथा बाघ एवम् वन्यजन्तुहरु नेपालको अमूल्य सम्पत्ति हुन्, संरक्षणकर्मी तथा चरा विज्ञ टिका गिरीले भने, ‘यसको संरक्षण आजको चुनौती भएको छ।’

वन्यजन्तु संरक्षणसँग समृद्धि पनि जोडिएकाले संरक्षणविना पर्यटन व्यवसाय फस्टाउन नसक्ने बाघ संरक्षण समिति संयोजक जितु तामाङ बताउँछन्। यसपालीको वन्यजन्तु सप्ताह संरक्षणमा केन्द्रित रहेको उनको भनाइ छ। १ गतेदेखि सुरु भएको सप्ताहमा अहिलेसम्म सरसफाइ, सचेतनामूलक कार्यक्रम, चरा अवलोकन, जंगल सफारी फोटो प्रदर्शनी कार्यक्रम गरिएको चोरी शिकार नियन्त्रण युवा जागरण अभियानकी अध्यक्ष डोमा पौडेलले जानकारी दिइन्।

वैशाख ४ गते घाँसे मैदन व्यवस्थापन, ५ गते निकुञ्जभित्रको खोला सरसफाइ, ६ गते बाघ संरक्षणसम्बन्धी अन्तरक्रिया र ७ गते गैंडा संरक्षणसम्बन्धी अन्तरक्रिया गरेर कार्यक्रम सकिने वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.