|
फाइल फोटो

रुपन्देही : स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई रुपन्देही प्रहरीले राज्य विप्लव (राज्य विरुद्धको सगंठित अपराध) मुद्दा चलाएको छ।  

आइतबार उनीविरुद्ध जिल्ला अदालत रुपन्देहीमा राज्यविप्लव मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

चैत ३१ गते सिरहा जिल्ला अदालतबाट १० हजार रुपैयाँ धरौटीमा रिहा भएका उनलाई रिहालगत्तै सिराहा प्रहरीले पक्राउ गरी रुपन्देही प्रहरीलाई बुझाएको थियो।

प्रहरी स्रोतका अनुसार रुपन्देहीमा प्रहरीले राउतलाई केही विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरी सहयोग गर्न आग्रह गर्दै सिराहा प्रहरीलाई पत्राचार गरेको थियो।

सोही पत्रका आधारमा अदालतबाट धरौटीमा रिहा भएलगत्तै राउतलाई पक्राउ गरी बुटवल ल्याइएको थियो। आइतबार रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

गत माघ ५ गते लहानको सहिद चोकमा बलिदानी दिवसको अवसरमा उनले गरेको भाषणको अनुसन्धानका लागि भन्दै प्रहरीले राउतलाई माघ २० गते धनुषाबाट पक्राउ गरेको थियो। त्यसपछि प्रहरीले जिल्ला अदालत सिरहामा राज्य विप्लव विरुद्धको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको थियो।

प्रहरीले पाँच पटकसम्म म्याद थप गरी अनुसन्धान गरेको मुद्दामा जिल्ला अदालतले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशमा चैत ३१ गते छुटेका उनलाई प्रहरीले फेरि पक्राउ गरी रुपन्देही पठाएको हो। रुपन्देहीमा राउत विरुद्ध फागुन ५ गते नै राज्य विरुद्धको संगठित अपराध मुद्दा दर्ता भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.