२०७४ सालमा नेपालीले आफ्नो वास्तविक क्षमता चिन्न सकून् भन्ने इच्छा आमनेपालीको छ। आजसम्म हामी अपवादलाई छोडेर आर्थिक रूपमा परनिर्भर छौँ र मानसिक रूपमा विदेशपरस्त छौँ। कसैले स्थानीय तहको निर्वाचनमा भाग नलिनुको पछाडि पनि हामी हाम्रो पौरखमा भन्दा पराईको उक्साहटमा रमाइरहेका छौँ जस्तो लाग्छ। होईन भने स्थानीय निर्वाचनको विरोध गर्नुको आधार शुद्ध नेपाली नागरिकसँग कतैबाट नहुनुपर्ने हो।
कतै मोर्चाले असहमतिहरू अन्यत्रबाट आयात त गरिरहेको छैन? होइन भने गाउँगाउँमा विकास पुर्याउने यो निर्वाचनलाई किन अपहेलना गरिँदै छ? के एउटा स्थानीय निर्वाचन हुँदैमा मधेसी मागका सबै मुहान थुनिन्छन्? यदि थुनिँदैनन् भने मोर्चा चुनावमा सहभागी हुनै पर्दछ। यो निर्वाचन सबैभन्दा धेरै स्थानीय तह रहेको मधेसलाई अझै बढी आवश्यक छ।
जुनकीरीे रातमा उज्यालो देखिन्छ तर उसले त्यो उज्यालो प्रयोग गरेर आफ्नो गन्तव्य तय गरिरहेको हुँदैन। सूर्यलाई आफूभित्रको अथाहा झल्झलाकारको अलिकति पनि अनुमान हुँदैन। कस्तुरीले आफँैभित्रको सुगन्ध खोज्न जंगलजंगल चहार्छ। कतै हामी पनि त्यस्तै त भइरहेका छैनौँ?
जलविद्युत र जलस्रोतको अथाह संभावनालाई हामी कम आँकलन गरिरहेका छौँ। हामीले हामीभन्दा अरूलाई ठूलो देखिरहेका छौँ। हामी अनेक विगतदेखि नै आफैँ केही गर्न सकिन्छ भन्नेमा भन्दा कसले के दिन्छ भन्नेमा बढी आशावादी भयौँ। आउँदा दिनमा पनि यो क्रम जारी रहने हो भने हाम्रो भविष्य कहिले सुध्रने हो? अन्दाज गर्न कठिन छ। यसैको परिणाम हो कि मधेसी मोर्चाले पहाड त्यागेर तराई मात्र मागिरहेको छ।
जलविद्युतमा त हामी धनी छौँ। त्यसको आँकडा पनि निकालेर बसेका पनि छौँ– ८३ हजार मेगावाट। तर हामीले हाम्रा नदीहरूको पानी मुहानबाट नै प्याक गरेर विश्व बजारमा बेच्न सक्ने हो भने देशले आर्थिक रूपमा काँचुली फेर्नेछ भन्नेबारेमा बुझ्न सकेका छैनौँ। नेपालको पानीमा विकासका संभावना अथाह छन् तर खाँचो छ, स्थायित्वको।
देश सधैँ अस्थिर रह्यो। साना कुराहरूमा हामी विभाजित हुँदै गयौँ। संविधान बन्नुपूर्व देशको हितलाई हेरेर होइन, एउटा मञ्चमा ताली खान गरिएका नेताहरूको भाषणको प्रतिबद्धतामा हामी फस्दै गयौँ।
अहिले जब देश चुनावमय भएको छ, यस्तो अवस्थामा मधेसी मोर्चाले अनेक बहाना देखाएर मतदान बहिष्कार गरिरहेको छ। प्रदेशको सिमाना हेरफेर गर्दा पहाडलाई जोड्नुपर्ने माग राख्नुपर्नेमा पहाडबाट अलग हुने माग राख्नु आफैँमा विरोधाभाषी चरित्र नेपालमा मौलाएको छ। यसको अर्थ नेपालको जलस्रोतसँग मधेसी मेर्चा आशावादी छैन जस्तो प्रतीत हुन्छ। अन्यथा उसले यसरी पहाडको हरियालीसँग नाता तोड्न मरिहत्ते गर्ने थिएन।
मधेसी मोर्चाका केही नेता किन यसरी पहाडलाई बाईबाई गर्दै छन्? किन देशले मधेसी मोर्चालाई आफ्नो सम्पदा र औकातको बारेमा आस्वस्त पार्न सकिरहेको छैन? वा मधेसी मोर्चाले सबै बुझेर पनि अन्य कारणले पहाडबाट तलाकचाहिँ रहेको छ? बुझ्न कठिन छ।
आर्थिक विकासको लागि तेल हुनेले तेल, नुन हुनेले नुन बेच्ने हो। हामीसँग पानी छ, पानी बेच्ने हो। जीवन भनेकै पानी हो। पानीविना जीवन संभव छैन। पृथ्वीबाहेक अन्य ग्रहमा यहाँ पाइने सबै तत्त्व पाइन्छ तर पानी नभएकोले जीवन छैन।
हामीसँग पृथ्वीको सबैभन्दा उच्च स्थानको र सबैभन्दा शुद्ध पिउने पानी छ। यसलाई अझै शुद्ध बनाएर विश्व बजारमा बेच्ने हो भने नेपाल आर्थिक रूपमा परिपूर्ण हुनेछ। दिनानुदिन पिउने पानीको अभावबाट पीडित दुनियाँलाई पूर्ण शुद्धताको प्रत्याभूतिका साथ पानीमा केही गर्न सक्ने हो भने देशको मुहार फेरिन्छ। ग्लोबल वार्मिङको कारण दुनियाँमा पानीको माग दिनानुदिन बढ्दै छ। नेपाल विश्वका अति बढी जनसंख्या भएका देशहरूको बीचमा छ। यसले पानी र बिजुली दुवैको समानान्तर व्यापार गरेर जनताको मुहार फेर्न सक्छ। यो तुलनात्मक लाभको क्षेत्रमा मोर्चाले मधेसलाई अलगथलग पार्ने प्रयास गर्नु उपयुक्त छैन।
विकास गफबाट र कोरा सपनाबाट कहिल्यै हुँदैन। यसका लागि कुनैकुनै वस्तु तथा सेवाको भौतिकीकरण गर्न सक्नुपर्दछ। हामीसँग भौतिकीकरण गर्नका लागि पानीजत्तिको सहज शुद्ध वस्तु केही छैन। कुनै जमानमा दिल्लीका मुगल सम्राट औरंगवेजका लागि कास्मिरबाट बरफ ल्याइन्थ्यो। कुनै ठाउँको बरफ अहिले पनि विश्व बजारमा शानका साथ बेचिन्छ। त्यसैगरी सगरमाथाको देशको पानी दुनियाँले पिउन पाउनुपर्दछ र हामीले त्यो आपूर्ति गर्न सक्नुपर्दछ। यसका लागि देशले एउटा विशाल परियोजना बनाएर शुद्ध पानी वितरणको बहुराष्ट्रिय कम्पनी बनाउनुपर्दछ।
हामी फरक तरिकाले दुनियाँमा उपस्थित भए मात्र हाम्रो राष्ट्रवाद फराकिलो हुन्छ। शुद्ध पानी मनिससका लागि आधारभूत आवश्यकता पनि हो र ‘एभरेष्ट वाटर’ गर्वको विषय पनि हो। त्यसैले मोर्चाले नेपाली पानीको क्षमता बुझेर तराई, पहाड र हिमालसहितको नेपाल निर्माणमा सामूहिक प्रयास गरोस्।
समुद्रको पानी जतिसुकै शुद्ध बनाए पनि नेपाली पानीको तुलनामा पाँच प्रतिशत पनि स्वस्थ र स्वादिलो हुँदैन। त्यसैले नेपालले पानीको व्यापारमा आफ्नो औकात देखाउन सक्नुपर्दछ। आज नेपालीको मूल समस्या आफ्नो क्षमताको पहिचान गर्न नसक्नु र आफूसँग नभएको क्षमतालाई दुनियाँ सामु उजागर गर्ने प्रयास गर्नु हो। नेपाललाई प्रकृतिले दिएको सबैभन्दा ठूलो उपहार पानी हो। यसको व्यवस्थापनबाट नेपाली जनताको जीवनस्तर माथि लैजान सकिन्छ। त्यसैले मधेसी मोर्चाले जहिले पनि देशलाई अप्ठ्यारो पार्ने र धर्मसंकटमा पार्ने व्यवहार छोडेर निर्वाचनमा भाग लिनु अतिआवश्यक छ।
अधिकार खोज्नका लागि जिम्मेवार पनि बन्न सक्नुपर्दछ। हिजो मधेसी मोर्चाले देशमाथि नाकाबन्दी गराएर एउटा गैरजिम्मेवारीपन प्रस्तुत गरिसकेको छ। फेरि स्थानीय निकायको चुनावमा अवरोध खडा गरेर देशलाई असहयेग गराउने व्यवहारवाट मुक्त हुन जरुरी छ। नेपाल सम्पन्नशाली भए त्यसको सामूहिक लाभ नेपाली जनताले नै प्राप्त गर्ने हो। छ हजारभन्दा बढी साना, ठूला नदीको जननी पहाड हिमाललाई मोर्चाले अवहेलना नगरेर चुनावमा भाग लेओस् भन्ने चाहना सर्वत्र देखिन्छ।
तसर्थ पहिलो पटक प्रयोगमा आएको स्थानीय तहको प्रयोगलाई राम्रोसँग उपलब्धिपूर्ण बनाउनका लागि मोर्चाले यो चुनावलाई सफल बनाउन हरेकतिरबाट सहयोग गर्नु पर्दछ। नेपाल अरूको लहैलहैमा नलागेर आफ्नै मौलिक तरिकाबाट काम गर्न सक्ने हो भने विकासशील देशबाट विकसित देशमा परिणत हुन बेर लाग्नेछैन। यस्तो अवसरलाई बाधा पुर्याउने काम मोर्चाबाट हुँदै छ। यो मधेसी जनताको मनोभावविपरीत, नेपाली जनताको मनोभावविपरीत र समग्र देशको विकासविरोधी चिन्तन हो।
स्थानीय तहको निर्वाचनपछि गाउँगाउँमा निर्वाचित युवाहरूमार्फत् अन्य माग राख्नुका साथै सिमानाको उचित विकल्प खोज्दै जाने परिवेश सर्वथा उपयुक्त देखिन्छ। स्थानीय तहको निर्वाचनपछि देशले स्थायित्व र संविधानले वैधानिकता पाउने भएकोले हारे पनि जिते पनि यसपटक जनताको लागि र नयाँ प्रयोग भइरहेको तहको भविष्यका लागि यो निर्वाचन कोशेढुङ्गा हो। त्यसैले मधेसी मोर्चाले यो अवसर गुमाउनु कुनै दृष्टिकोणबाट पनि उपयुक्त छैन।
बाँकी, मोर्चामा बौद्धिकताको खाँचो पक्कै छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।