|

विराटनगर : स्थानीय तहको निर्वाचनमा मोरङका पत्रकारहरू पनि चुनावी मैदानमा उत्रने भएका छन्। १९ वर्षपछि हुन लागेको स्थानीय तहको नेतृत्व लिन पत्रकारहरू अहिले चुनावी दौडमा रहेका छन्।

नेपाल पत्रकार महासंघ मोरङ शाखाका पूर्व अध्यक्ष महेन्द्र विष्ट, पूर्वसचिव नवराज कट्टेल, पूर्वसचिव गोकुल पराजुली, महासंघका सदस्य किसन शाही, अप्सरा निरौला, किशोर बस्नेत, भक्तशेर लिम्बू र दिनेश साह स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्दैछन्।

उनीहरूमध्ये विष्ट, कट्टेल, निरौला र साहीको उम्मेदवारी टुंगो लागिसकेको छ भने अन्य पत्रकारहरू पनि चुनावी दौडमा छन्। पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर ५ बाट नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बन्ने निश्चित भएको छ। पार्टीको वडा समितिले सर्वसम्मत रुपमा आफूलाई उम्मेदवार बनाउन सिफारिस गरेपछि चुनावमा होमिएको विष्टले जानकारी दिए।

महासंघका निवर्तमान सचिव कट्टेल इलामको रोङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बन्दैछन्। लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीले गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न आग्रह गरेपछि उम्मेदवार बन्न लागेको कट्टेलले बताए। उनी चुनावी अभियानको क्रममा विराटनगरबाट गाउँपालिका गएर प्रचार अभियानमा जुटिसकेका छन्।

यसैगरी महासंघका सदस्य एवं प्रेस सेन्टर मोरङका सचिव किसन शाही मोरङको केराबारी गाउँपालिका वडा नम्बर १० बाट नेकपा माओवादी केन्द्रको उम्मेदवार बन्ने निश्चित भएको छ। वडाबाट शाहीको नाम मात्र सिफारिस भएकोले उनी उम्मेदवार बन्ने निश्चित भएको हो। केराबारीकै वडा नम्बर १० बाट माओवादी केन्द्रले भक्तशेर लिम्बूलाई वडाध्यक्षको उम्मेदवार बनाउने सम्भावना रहेको छ। सो वडाबाट लिम्बूसहित अन्य दुई जनाको नाम सिफारिस भएकोमा लिम्बू उम्मेदवार हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

यता विराटनगरको वडा नम्बर ५ बाट प्रेस सेन्टर मोरङका अध्यक्ष गोकुल पराजुली वडा अध्यक्षको उम्मेदवार बन्ने चर्चा छ। निर्णय भइनसके पनि पराजुली उम्मेदवार बन्ने सम्भावना रहेको माओवादी केन्द्र निकट स्रोतले जनाएको छ। यद्यपी सो वडाबाट अन्यले पनि दावी गरिरहेकोले अन्तिम निर्णय भइसकेको छैन। पत्रकार महासंघ मोरङकै सदस्य रहेका दिनेश साह पनि राप्रपाबाट विराटनगर वडा नं. ९ बाट अध्यक्षको उम्मेदवार बन्ने प्रयास गरिरहेका छन्।

यसैगरी पत्रकार महासंघका सदस्य रहकी अप्सरा निरौला विराटनगर–३ बाट वडा सदस्यमा माओवादी केन्द्रको उम्मेदवार बन्दैछिन् भने विराटनगर १ बाट किशोर बस्नेतको उम्मेदवारी एमालेले सिफारिस गरेको छ। संविधान कार्यान्वयन र स्थानीय सरकारको स्थापना महत्वपूर्ण विषय भएकोले पत्रकारिता छाडेर चुनावी मैदानमा होमिएको पत्रकार कट्टेलले बताए। पत्रकार पनि समाजको सचेत वर्ग भएकोले संविधान कार्यान्वयनमा उसको दायित्व भएको तथा स्थानीय सरकार सञ्चालनमा सहभागिता जनाउन उम्मेदवार बन्न लागेको विष्टको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.