|

रुपन्देही :  रुपन्देहीका दलहरुले टोल, वडा, गाउँ, नगरस्तरमा भेला र छलफललाई तीब्रता दिएका छन्। उम्मेदवारका आकांक्षीहरुले टिकटका लागि नेतृत्व तहमा लविङ गर्ने र माहोल बनाउन कस्सिएर लागेका छन्।

जिल्लामा एउटा उप–महानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका छन्। यी सबैमा गरेर एक सय ५५ वटा वडा तह कायम भएका छन् । करीब १२ लाख जनसंख्या रहेको रुपन्देहीबाट स्थानीय तहको निर्वाचनबाट ४ सय ५५ जना जनप्रतिनिधि चुनिदै छन्। जसमा महिलाहरुको संख्या मात्रै ३ सय भन्दा धेरै हुने छ। ३ सय महिला जनप्रतिनिधि चुनिँदा आधाजति दलित महिला चुनिने छन्। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँको मतदाता संख्या चार लाख ६५ हजार तीन सय १९ रहेको छ।  चुनावका लागि रुपन्देहीमा दुई सय छ वटा मतदान स्थल तोकिएका छन् भने करिब पाँच सय १६ वटा मतदान केन्द्र तय भएका छन्।

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना, देवदह, तिलोत्तमा, र लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ। स्थानीय वासिन्दामा निर्वाचनप्रति उत्साह देखिन्छ भने निर्वाचन आयोग र राजनीतिक दलहरू पनि तयारीमा सक्रिय भएर लागेका छन्।

ध्यान जति बुटवलमा

बुटवलमा ३१ वैशाखका लागि तोकिएको स्थानीय तह निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ। सबैजसो दल र जनताको चासो बुटवल उपमहानगरपालिकाप्रति छ। दलीय दाउपेचका कारण महानगर बन्न नसकेपनि प्रदेश नम्बर पाँचको राजधानी बन्ने कसरतमा छ बुटवल। यसकारण पनि बुटवल नगर प्रमुखमा सबैजसो पार्टीले जित्ने उम्मेदवार तयार गर्न कस्सिएका छन्। 

यसअघिका दुई स्थानीय निर्वाचनमा कांग्रेस र एमालेले एक–एक पटक चुनाव जितेकाले यसपटक कसले बाजी मार्ने भन्ने चासो छ। २०४९ मा कांग्रेसका सूर्यप्रसाद प्रधानले र ०५४ मा एमालेका भोजप्रसाद श्रेष्ठले मेयर जितेका थिए।

संविधान सभा निर्वाचनमा कांग्रेसलाई पछि पारेको एमाले जितलाई निरन्तरता दिने तयारीमा छ भने कांग्रेस एमालेको विजय यात्रामा विराम लगाउने योजना बुनेको छ। बुटवल उपमहानगर समेत रहेको रुपन्देही क्षेत्र नम्बर ४ मा २०६४ र २०७० का संविधान सभा चुनावमा एमालेका विष्णु पौडेलले जितेका थिए। पौडेलले पछिल्लो पटक माओवादी नेता बाबुराम भट्टराईलाई तेस्रो स्थानमा झार्दै करीव ६ हजारको मत अन्तरमा कांग्रेसलाई पराजित गरेका थिए।

यही दाउपेचमा बुटवलको भावी नगर प्रमुख निर्वाचित हुनेछ। सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रबीचमा तालमेल गर्ने तयारी भइरहेको अवस्थामा एमालेले चुनाबमा पासा पल्टिने शंका गर्न थालेको छ। माओवादी केन्द्र एक्लै चुनावमा जाँदा फराकिलो पराजय बेहोनुपर्ने र संगठन कमजोर बन्ने भएकाले पनि तालमेल गर्ने सोंचमा छ। बुटवलको चुनावमा माओवादी केन्द्रको समर्थन रहने दललाई जित्न सहज हुनेछ।

नयाँ अनुहार अगाडि आए

यसअघि मेयर र उपमेयर बनिसकेका व्यक्तिले इच्छा नदेखाएपछि नयाँ अनुहार बुटवलका लागि मेयर बन्न लागिरहेका छन्। एमालेको तर्फबाट मेयर बनेका भोजप्रसाद श्रेष्ठले एउटै पदमा दोहारिन इच्छा नदेखाएपछि एमालेभित्र धेरै आकांक्षी देखिएका छन्। कांग्रेसको तर्फबाट मेयर बनेका सूर्यप्रसाद प्रधानको निधन भइसकेको र उपमेयर बनेकाहरु इच्छुक नदेखिएपछि कांग्रेसमा नयाँ व्यक्तिको खोजी भइरहेको छ। माओवादी केन्द्र तालमेल गरेर धेरै पदहरुमा जित्ने योजनामा छ। माओवादीले आफ्नो तर्फबाट आकांक्षीको चर्चासँगै कांग्रेससँग तालमेल गर्ने कसरत गरिरहेको छ।

कांग्रेसमा पत्रकारदेखि व्यवसायीसम्म इच्छुक

कांग्रेसमा पूर्णकालीन राजनीति गर्नेसँगै व्यवसायिक पृष्ठभूमि भएका व्यक्तिहरु पनि नगर प्रमुखको दाबेदार देखिएका छन्। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह बुटवलको नगर प्रमुख  बन्नका लागि अग्रसर देखिन्छन्। ‘उद्योगी व्यवसायी साथीहरु र पार्टीका साथीहरुले पनि मलाई अघि बढ्नुस् हामी साथ दिन्छौं भन्नुभएको छ' उनले भने ‘सबैले यसपटक उद्योगी व्यवसायीको पनि प्रतिनिधित्व हुनेगरी बुटवलमा मलाई मेयर बनाउन चाहनुभएको छ, म त्यसका लागि तयार नै छु।’

राजनीतिक पृष्ठभूमिका खेलराज पाण्डे पनि मेयरका बलिया दाबेदार हुन्। कांग्रेस बुटवल नगरका सभापति समेत रहेका उनी पार्टीलाई बलियो बनाउन र जित निश्चित बनाउन आफुलाई पार्टीले उम्मेदवार बनाउने विश्वास व्यक्त गर्छन्।

यस्तै महासमिति सदस्य युवराज गिरी, पत्रकारिताबाट भर्खरै राजनीतिमा प्रवेश गरेका कांग्रेस क्षेत्रीय सभापति हरि लम्साल, पूर्व क्षेत्रीय सभापति हरिबहादुर आचार्यलगायतको पनि नगर प्रमुखम आकांक्षा छ। कांग्रेसमा उपप्रमुखका लागि रिजन श्रेष्ठ र बालकुमारी भण्डारीलगायतको चर्चा छ।

एमालेमा पनि आकांक्षीका अनुहार उस्तै

बुटवलमा सांगठनिक हिसाबले बलियो रहेको एमालेले प्रादेशिक राजधानीको संभावना बोकेको बुटवलको नगर प्रमुख आफ्नो बनाउन कसरत थालिसकेको छ।एमालेमा पूर्णकालीन राजनीतिभन्दा बढी अन्य पेशासम्बद्ध र व्यवसायिक व्यक्तिहरुको चर्चा बढी छ। यसअघि बुटवलका मेयर भइसकेका भोजप्रसाद श्रेष्ठले मेयरभन्दा माथिल्लो तहमा जान इच्छा देखाएपछि नयाँ अनुहारहरु नगर प्रमुखका लागि दौडधुपमा छन्।

दुई कार्यकाल प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्ष र राष्ट्रिय समाचार समितिका अध्यक्ष भइसकेका वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं नगर प्रमुखको दौडमा छन्। उनीसँगै व्यवसायमा बढी समय दिइरहेका गोपाल राना, लुम्बिनी अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष बाबुराम भट्टराई, मजदुर नेता कमल गौतम पनि नगर प्रमुखको आकांक्षी हुन्।

विद्यार्थीकालमा अनेरास्ववियुको राजनीति गरेका पत्रकार चापागाईंले श्रेष्ठले माथिल्लो तहमा जाने बताएकोले आफु अघि सरेको बताउँछन्। ‘भोजप्रसादजीले मलाई नै सहयोग गर्छु भन्नुभएको छ',उनले भने ‘मलाई पत्रकारिता, राजनीति, उद्योगी व्यवसायी, समाजसेवीलगायत सबै जनताको साथ समर्थन रहन्छ र मलाई पार्टीले पनि उपयुक्त उम्मेदवार ठानेर टिकट दिन्छ भन्नेमा म विश्वस्त छु।’

राना व्यवसायी भए पनि पार्टीको गत जिल्ला अधिवेशनवाट सहसचिव भएका छन्। पार्टी केन्द्रीय उपमहासचिव विष्णु पौडेलसँगको निकट सम्बन्धका कारण उनलाई पनि टिकटको दाबेदार मानिएको छ।  भूमिगतकालमा मालेको पृष्ठभूमिबाट राजनीतिमा लागेका भट्टराई औषधि व्यवसायी संघको केन्द्रीय अध्यक्ष हुन्। उपप्रमुखमा भने एमालेमा तीनजना महिला सावित्रा अर्याल, विमला पन्थी र गोमा आचार्यको चर्चा छ।

माओवादी तालमेलको तयारीमा

माओवादी केन्द्रले एक्लै चुनाव जित्न नसकिने भएकाले तालमेलको तयारी गरिरहेको छ। तालमेलका लागि कांग्रेससँग छलफल भइरहेको पोलिटव्युरो सदस्य दधिराम न्यौपानेले बताए। माओवादीबाट नगर प्रमुखमा दधिराम न्यौपाने, रुपन्देही अध्यक्ष रामप्रसाद बन्जाडे, हरि घिमिरेको चर्चा छ। उपप्रमुखमा टीका वलीको चर्चा छ।

साना दल गठबन्धनको मुडमा

यहाँ साना दलहरुको उपस्थिति कमजोर छ। यसैले पनि साना दल सकेसम्म कुनै न कुनै पदमा आफ्नो प्रतिनिधित्व गराउने दाउमा छन्। बुटवल उपमहानगरमा नगर प्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्व मेयर पुनाराम पोखरेलको नाम चर्चामा रहँदा रुपसिंह थापा पनि दाबेदारको रुपमा अघि सरेका छन्। यस्तै चलचित्र निर्माता प्रदीपकुमार उदयको पनि चर्चा छ। उपप्रमुखमा भने भक्ति लिगलको नाम चर्चामा छ।

नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, जनमुक्ति पार्टी, नेकपा माले लगायतका दलहरु पनि निर्वाचनको तयारीमा जुटेका छन्। यी दलहरुले जिल्लाभरको तागत बुटवलमा लगाउँदै छन्। बुटवलको नगर प्रमुखदेखि वडातहसम्म आफ्नो प्रतिनिधित्व गराउन यी दलहरुले बलियो पार्टीसँग तालमेल गर्ने रणनीति बनाएर चुनावी प्रचारमा जुटेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.