|

भक्तपुर: नेपालको पुरानो मौलिक कलाको रूपमा अन्तर्राष्ट्रिय रूपमा परिचित पौभा कला प्रदर्शनी भक्तपुरमा सुरु भएको छ। शनिबार नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदर्शनीको उद्घाटन गरेका हुन्।

प्रदर्शनी उद्घाटन गर्दै बिजुक्छेले नेपालको मौलिक कलाको संरक्षणमा सबै मिलेर काम गर्नुपर्ने बताए। उनले भने, ‘नेपाली कलाको मौलिकतालाई बचाउन राज्य लाग्नुपर्छ।’ प्रदर्शनीको छेको पारेर वरिष्ठ पौभा कलाकार मुक्तिसिंह थापा र नारायणलक्ष्मी कारंजितलाई सम्मान तथा अभिनन्दन गरियो।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले पौभा कलाको महत्त्व र यसको ऐतिहासिक पक्षका बारेमा चर्चा गरेका थिए। पौभा कलाका क्षेत्रमा लाग्ने कलाकार संख्या बढ्दै गएको आयोजक संस्था ख्वप पौभा च्वमी पुचःका सचिव पूर्णप्रसाद हेय्जूले बताए। पौभाले नेपाली कलालाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सकेको बताउँदै हेय्जूले भने, ‘पौभामा नेपाली मौलिक विशेषता र शैली रहेको छ। यसको विशेषता र शैलीले विदेशीलाई आकर्षित गरेको छ।’ 

उद्घाटन कार्यक्रममा कला संकलक नीलकृष्ण ताम्राकारले नेपाली कलाको संरक्षणमा एकजुट भएर लाग्नुपर्ने बताए। 

पाँच दशक लामो समयसम्म काम गरेका कलाकारलाई जिउँदो सम्पदाको रूपमा सम्मान गरिनुपर्ने बताउँदै वरिष्ठ पौभा कलाकार दीपक जोशीले नेपाली कलालाई चिनाउने कलाकारको सम्मान राज्यले गर्न नसकेको बताए। 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काम गर्न नसकेकोमा लज्जाबोध भएको बताउँदै प्राज्ञ परिषद् सदस्य निमा लामाले भने, ‘परम्परागत कलाकारहरूले यत्ति सुन्दर प्रदर्शनी गर्नुभएको छ। प्रतिष्ठानको ओहोदामा बसेर काम गर्न नसक्नुमा लज्जाबोध भएको छ।’

प्रदर्शनीमा नेपालका वरिष्ठदेखि नयाँ पुस्ताका ८५ जना पौभा कलाकार सहभागी भएका छन्। नेपाली कलाको लामो इतिहास बोकेको पौभा कलाले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सकेको छ। पौभा कला बौद्ध तथा हिन्दु दर्शनमा आधारित हुन्छ। 

पुचःले छैठौँ पटक पौभा प्रदर्शनीको आयोजना गरेको हो। ग्यालरीको अभावका कारण ख्वप छें गेष्ट हाउस, भक्तपुर दरबार क्षेत्रमा यो प्रदर्शनी राखिएको कार्यवाहक कोषाध्यक्ष हरिप्रसाद वैद्यले बताए। वैद्यले भने, ‘प्रदर्शनीले नयाँ र पुराना पुस्तालाई जोड्ने र पुस्तान्तरणका लागि बाटो खोल्ने विश्वास लिएका छौं।’ प्रदर्शनीले नयाँ कलाकारमा उत्साह भरेको बताउँदै सहभागी कलाकार राजकुमार रानामगरले भने, ‘यस्ता बृहत कला प्रदर्शनीले परम्परागत कलाका क्षेत्रमा लाग्ने सबैमा नयाँ उर्जा भर्न सघाउने विश्वास लिन सकिन्छ।’ 

प्रदर्शनीमा प्रेममान चित्रकार, सूर्य बहादुर चित्रकार, कृष्णराम चित्रकार, स्व. ज्ञानकर बज्राचार्य, न्हुछेकाजी बज्राचार्य, लोक चित्रकार, उदयचरण श्रेष्ठ, दीपक जोशी, पूर्ण हेयजू, सुन्दर सिंख्वाल, रत्नगोपाल सिंख्वाल, मुक्तिसिंह थापा, शंकरकुमार जोशी, नारायणलक्ष्मी कारंजित, हरिप्रसाद वैद्य, कृष्णराम ध्येमोसु, बलराम न्हिसुतु, रेशमकाजी चित्रकार, उजय बज्राचार्य, कोमल नारायण श्रेष्ठ, देवकृष्ण मर्हजन, देवेन्द्र सिंख्वाल, महेन्द्र सिंख्वाल, माइला दोङ, योगेन्द्र शाक्य, रविन्द्र मुनिकर्मी, राजकुमार रानामगर, राजप्रकाश तुलाधर, रामप्रकाश श्रेष्ठ, रितेश शाही, शुक्रराज तामाङ आदि कलाकार सहभागी छन्।

प्रदर्शनी पाँच बैशाखसम्म चल्ने आयोजकले जानकारी दिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.