|

लहान : सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका ४ सिम्राहामा सात दिनअघि भएको भीषण आगलागीले खण्डहर बनेको दलित बस्तीका अग्नि पीडितहरुको बिचल्ली भएको छ।

आगलागीले खण्डहर बनेको बस्तीका पीडितहरुले वर्षात् नहुँदा जसोतसो गुजारा गरेको भएपनि शनिबार हावाहुरीसँगै दिनभर वर्षात् भएपछि बिचल्लीमा परेको गुनासो गरे। ‘आगलागीमा घर टहरा, लत्ता कपडा, अन्नपातसहित सबै जलेर खरानी भएपछि घरमा भएका बालबालिका, बृद्ध बाबुआमाका लागि त्रिपालको ओत लाग्ने ठाउँ बनाएको थिएँ’अग्निपीडित घुरन मण्डलले भने ‘हावाहुरीले त्रिपाल समेत उडाएर ज्यान जोगाउनै मुस्किल पर्‍यो।’

आगलागीपछि स्थानीय पीडितहरु खण्डहर बनेको ठाउँ र बस्ती नजिकैको खाली खेतमा त्रिपाल टाँगेर बस्दै आएको भएपनि शनिबार आएको हावाहुरीले फेरि संकटमा परेका छन्। आगलागीको भोलिपल्ट जिल्ला दैवी प्रकोप उद्दार समिति सिरहाले पीडित परिवारलाई राहत स्वरुप जनही पाँच/पाँच हजार रुपैयाँ नगदसहित एकसरो लत्ताकपडा, भाँडावर्तन र त्रिपाल बाँडेको थियो। ‘वर्षातमा शरीर लुकाउन पनि सकस भइरहेका बेला आफन्तले ल्याइदिएको अनाज समेत राख्ने ठाउँ भएन'  स्थानीय देवचन मण्डलले भने।

'गहुँ भित्र्याउने समयमा बस्तीमा भएको आगलागीमा आफन्त त गुनाएनौं तर घर व्यवहार चलाउन जोहो गरेर राखेको नगद, गरगहना समेत जलेपछि सर्वस्व गुमेको जस्तो भएको छ' स्थानीय वृद्ध विन्दुलाल मण्डलले दुःखेसो गरे ‘घर निर्माणको ठेक्कापट्टा गर्ने कान्छो छोरोले मजदुरहरुलाई बाँड्न ल्याएको दुई लाख नगद समेत आगलागीमा जलेर खरानी भयो, कहाँबाट तिर्ने त्यत्रो रकम?’

उनका जेठा छोरा राजकुमार मण्डलको पनि केही महिना पहिले वैदेशिक रोजगारीबाट फर्किंदा ल्याएको एलसिडी टेलिभिजन, गरगहना, नगद तीन लाख, अन्नपात सबै जलेर खरानी भएपछि मण्डलको आँखा अझै ओभाएको छैन। लहानबाट करिब १० किलोमिटर दक्षिण पूर्व पर्ने दलित बस्तीमा चैत २८ गते साँझ भएको भीषण आगलागीमा स्थानीय २९ घर परिवारको करिब ६० वटा घर टहरा जलेर खरानी भएको थियो। प्रहरीका अनुसार नौ थान पशु चौपाया जलेर मरेको उक्त आगलागीमा डेढ करोड बढीको क्षति भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.