|

सल्यान : जिल्लामा चार प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन्। सरकारले विद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाएको भए पनि विपन्न, अनाथ तथा शारीरिक अपाङ्गतालगायतका कारणले दुई हजार ६ सय बढी बालबालिका विद्यालय बाहिर रहेका हुन्। 

विद्यार्थी भर्नाका लागि जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियान नै चलाएको भए पनि 'क' र 'ख' वर्गका शारीरिक अपाङ्गता भएका बालबालिका विद्यालय भर्ना हुन नसकेको जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए। ‘क' र 'ख' वर्गका शारीरिक अपाङ्गता भएका विद्यार्थी विद्यालय आउन कठिन हुने र दुर्गममा रहेका विपन्न परिवारका बालबालिका पनि विद्यालय भर्ना नहुने भएकाले पनि उनीहरु शिक्षाबाट वञ्चित भएका हुन्’,उनले भने। 

जिल्लाका सबै बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर यस वर्ष जिल्ला शिक्षा कार्यालयले भर्ना अभियानलाई विशेष जोड दिएको छ। पाठ्यपुस्तक समयमा नपाउँदा पनि विद्यार्थी विद्यालय नआउने गरेका छन्। 

सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनका लागि उनीहरूको अवस्थाका आधारमा कार्यक्रम तय गरिने जिल्ला शिक्षा अधिकारी सुवेदीले जानकारी दिए। विद्यालयले समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर विद्यार्थी भर्ना हुन नआए त्यस्ता विद्यालयका प्रअलाई कानुनअनुसार कारबाही गर्ने उनले बताए। 

सल्यानमा १ देखि ५ कक्षासम्म ३६ हजार ९७, कक्षा ६ देखि ८ सम्म १९ हजार ४५६, कक्षा ९ र १० मा ११ हजार २९१ गरी जम्मा ६६ हजार ८४४ विद्यार्थी विद्यालयको पहुँचभित्र रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.