|

लहान : नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा गत चैत ३० गतेदेखि धर्नामा बस्दै आएका सप्तरीका पत्रकारहरुको अविलम्ब माग पूरा गराउन माग गर्दै सप्तरीमा युवा र पत्रकारहरुले सोमबार बिहान छुट्टाछुट्टै र्‍याली निकालेका छन्।

महासंघको जिल्ला शाखामा भइरहेको अवैधानिक हस्तक्षेप तत्काल बन्द गरी विधानसम्मत रुपले अधिवेशनको माग्दै धर्नामा बसेका पत्रकारहरुको माग अविलम्ब सम्बोधन गर्न मागसहित जिल्लाका सक्रिय पत्रकार तथा सप्तरी युथ नेपालमा आबद्ध युवाहरुले राजविराजमा छुट्टाछुट्टै र्‍याली निकालेका हुन्।

महासंघको जिल्ला शाखाको राजविराज १ स्थित कार्यालय परिसरबाट सप्तरी महासंघका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, अनील कुमार अनल, सुरेन्द्र गुप्ता लगायतको नेतृत्वमा निस्किएको पत्रकारहरुको र्‍यालीले बजार परिक्रमा गरेको छ। त्यस्तै, सप्तरी युथ नेपालमा समेत आबद्ध रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादव सहितको र्‍याली नगरपालिका रोड, अदालत रोड, सहिद चोक हुँदै गजेन्द्र चोकमा पुगेर समापन गरिएको थियो।

महासंघको सप्तरी शाखाको तीन वर्षअघि सम्पन्न आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचित प्रकाश खतिवडाको व्यक्तिगत कार्यशैलीको जिल्लाका बहुमत पत्रकारहरुले विरोध गर्न थालेपछि जिल्लामा विवाद बढेको हो। अध्यक्ष खतिवडाले जिल्लाका अग्रज र सक्रिय पत्रकारहरुको समेत सदस्यता नवीकरण सिफारिस रोकेर आफ्नो वरिपरिका ४० जनालाई एकलौटी ढङ्गले नयाँ सदस्यता सिफारिस गरेपछि जिल्लाका पत्रकारहरु महासंघको केन्द्रीय कार्यालयमा धर्ना बस्न बाध्य भएको कार्यवाहक अध्यक्ष श्रवणदेवले बताए। धर्नामा कार्यवाहक अध्यक्ष देवसहित सप्तरीका १७ जना पत्रकारहरु बसेका छन्।

कार्यवाहक अध्यक्ष देवले विधानअनुरुप जिल्ला शाखाले गरेका कामकाज अनुमोदन, प्रक्रिया पूरा गरेका सबै सदस्यहरुको नवीकरण, विवाद समाधान गरी अविलम्ब जिल्ला शाखाको अधिवेशन र रोक्का गरिएका बैंक खाताहरु फुकुवा गर्नुपर्ने माग सम्बोधन नभएसम्म धर्ना नतोडिने बताए। ‘जिल्ला शाखाका बहुमत पत्रकारहरुले उठाएको माग सम्बोधन गर्न केन्द्रले आनाकानी गरेपछि बाध्य भएर धर्नामा बसेका हौं’ कार्यवाहक अध्यक्ष देवले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.