|

श्रीलंककाको राजधानी कोलम्बोको उपमहानगर कोलोन्नवाको मिथोतमुल्ला इलाकामा फोहोरको पहिरो जाँदा २६ जनाको मृत्यु भएको छ। गत शुक्रबार गएको पहिरोमा परी मर्नेमा ६ बालबालिका रहेको बिबिसीले जनाएकाे छ।

३ सय फिट उचाइ र २ करोड ३० लाख टन रहेको फोहोरको पहाडमा पहिरो गएपछि आगलागी भएको थियो। जहाँ दैनिक ८ सय टन फोहोर थपिन्थ्यो। जल्दै गरेको फोहोरको पहिरोले आसपासका घरहरुलाई पुरेको थियो। जसमा ४० घर नष्ट भएका छन्।

तमिल र सिंहाली समुदायको नयाँ वर्ष मनाउने क्रममा गएको फोहोरको पहिरोमा पुरिएर दर्जनौं बेपत्ता भएको हुन सक्ने आशंका गरिएको छ। पहिरोबाट १ हजारभन्दा बढी मानिस घरबारबिहीन भएका छन्।

आक्रोशित स्थानीयले घटनास्थल भ्रमणमा आउने नेताहरुलाई रोक लगाएका छन्। पीडित नुवान बोपेजले भने, 'हाम्रो कुरा कसैले सुनेनन्। यति धेरैको मृत्युपछि नेताहरु फोहोर फाल्न रोक्छौं भनिरहेका छन्। उनीहरु हत्यारा हुन्, उनीहरुविरुद्ध हामी अदालत जान्छौं।'

राष्ट्रपति मैत्रिपाला सिरिसेनाले घटनालगत्तै सेना र अर्धसैन्य बललाई खोजिकार्यमा जुट्न निर्देशन दिएका छन्।

सरकारी अधिकारीहरुका अनुसार पहिरोबाट प्रभावितहरुलाई सेना, प्रहरी र विशेष कार्यदलले खोजी कार्य र राहत वितरणको काम गरिरहेका छन्। त्यस्तै आगो निभाउन सैनिक हेलिकप्टरमार्फत पानी फालिरहेको छ भने हराएकाहरुको खोजी कार्यमा सेना जुटिरहेका छन्।

फोहोरले स्वाथ्यमा गम्भीर समस्या सिर्जना गरेको विषय श्रीलंकाको संसद्‍मा पनि उठेको थियो। सरकारले तत्काल उक्त ठाउँमा फोहोर फाल्न रोक लगाएको छ।

इथियोपियामा मार्चमा गएको फोहोरको पहिरोमा १ सय १३ जनाको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.