|
Photo : Goal.com

बार्सिलोनाका ब्राजिलियन स्टार नेयमारले आफ्नो टोलीले च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा फेरि उत्कृष्ट पुनरागमन गर्ने विश्वास व्यक्त गरेका छन्। 

प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा बार्सा युभेन्टससँग ३–० ले पराजित भएको थियो। सो नतिजाले अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर देखिएका बेला नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध गरेजस्तै जादूयी कमब्याक गर्न सफल हुने विश्वास व्यक्त गरेका हुन्। त्यतिबेला ०–४ को अवस्थालाई उल्ट्याउँदै समग्रमा ६–५ को जित दर्ता गर्नेक्रममा नेयमार नायक सावित भएका थिए।

बार्सिलोना र युभेन्टसबीचको दोस्रो लेग बुधबार राति क्याम्पनाउमा हुनेछ।

‘हामीले विश्वास गर्नुपर्छ, हामी जित्न सक्छौं,’ इस्पोर्ट इन्टेराटिभोसँग नेयमारले भने, ‘जब हामी बार्सिलोनामा हुन्छौँ, सधैँ उस्तै हुन्छ, जुनसुकै टिमसँग पछि परेको किन नहोस्, हामी जित्छौँ।’

नेयमारले अघि भनेका छन्, ‘मलाई हाम्रो टिम र क्षमतामा पूर्ण विश्वास छ, सबैकुरा सोचेजस्तै भयो भने अर्को कमब्याक सम्भव हुनेछ। हामीलाई गुमाउनु केही छैन, छ त केवल जित्नु मात्र।’

पीएसजीसँग जस्तै यसपटक पनि बार्सा अघिल्लो चरणमा जाने सम्भावना १ प्रतिशत रहेको भन्दै उनले बाँकी ९९ प्रतिशत काम गर्नै बाँकी रहेको बताएका छन्।

यद्यपी बलियो र सन्तुलित टोली युभेन्टसविरुद्ध बाजी पल्टाउन सहज भने नरहेको उनको स्वीकारोक्ति छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.