|

  • मणिलाल  विश्वकर्मा

लहान : सिरहाको धनगढीमाई नगरपालिका ६ मोथियाहीकी एक प्रौढ महिलामाथि बोक्सीको आरोप लगाउँदै स्थानीयले खुकुरी प्रहार गरेका छन्। छिमेकी किशोरीलाई टुनामुना प्रयोग गरेर बिरामी बनाएको भन्दै तीन जनाले वर्ष ५० की कुसमादेवी यादव र उनका पति वर्ष ५५ का अशेश्वर यादवलाई कुटपिट गरेका हुन्।

घाइते दुबैको लहानस्थित लिला मदन पोलिक्लिनिक एण्ड प्रसूती गृहमा उपचार भइरहेको छ। कुटपिटसँगै पीडकहरुले खुकुरी प्रहार गर्दा कुसमाको बायाँ हात, खुट्टा, हात र टाउको गहिरो चोट लागेको छ। उनका पति अशेश्वरको बायाँ हत्केला, नाकमा चोट लागेको छ।

पीडितकी छिमेकी शिवकुमार यादवकी छोरी किरण भनिने अंशुकुमारी यादव पटक-पटक बिरामी पर्न थालेपछि 'टुनामुना गरेर बिरामी बनाई' भन्दै चैत मसान्तको दिन एकाबिहानै घरमै आएर तीन जनाले लछार-पछार गर्दै कुटपिट गरेका थिए।

'घरआँगन बढार्दै थिएँ। एक्कासी आएर लछापछार गर्न थाले,' पोलिक्लिनिकमा उपचार गराइरहेकी कुसमाले भनिन्,'भैंसी दुहुन छोडेर मलाई बचाउन आएका पतिलाई समेत छोडेनन्।’ कुटपिटमा रक्ताम्य भएका दुबै घाइतेलाई गाउँलेहरुले उपचारका लागि लहान ल्याएका थिए।

घाइते कुसमाका अनुसार छिमेकीहरु शिव कुमार यादव, विजय यादव र आशाराम दासले पति पत्नी दुवैलाई लाठी र खुकुरी लिएर कुटपिट गरी घाइते बनाएका हुन्। कथित बोक्सीको आरोपमा प्रौढ पति-पत्नीलाई कुटपिट गर्ने शिवकुमार यादव, शिवकुमारका विजय यादव र आशाराम दासलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरा बहादुर पाण्डेले बताए।

घटनालाई कानुनी प्रक्रियामा जान नदिन अहिले इलाका प्रहरी कार्यालयमा दुबै पक्षको छलफल चलिरहेको छ। घटनामा संलग्न रहेका तीनै जना नयाँ शक्ति नेपाल पार्टीका कार्यकर्ताहरु रहेको स्रोतले बताएको छ।     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.