|

  • गोविन्द महतो

जनकपुरधाम : सरकारी निकायको बेवास्ताका कारण धनुषामा सुरक्षाकर्मीले पाँच वर्षअघि नियन्त्रणमा लिएका सवारी साधन अझै लिलाम-बिक्री भएका छैनन्। लिलाम हुन नसक्दा गाडी पुरानो भएर काम नलाग्‍ने अवस्थामा पुगेका छन्।

भारतीय र नेपाली नम्बर प्लेट लगाइ नियम विपरीत गुडेका एक सयभन्दा बढी जिप, मोटरसाइकल र ट्रयाक्टर प्रहरीले विभिन्‍न स्थानबाट नियन्‍‍त्रणमा लिई भन्सार कार्यालयमा बुझाएका छन्। सुरक्षाकर्मीले नियन्त्रणमा लिएका यी गाडीको मुल्याकंन गरी लिलाम बिक्री प्रक्रिया नथालिँदा जनकपुर भन्सार कार्यालयमै थन्किएका छन्।

आर्थिक वर्ष २०६८-०६९ देखि हाल सम्मका धेरै गाडीहरुको कागजपत्रको फाईल नै गायब रहेकाले लिलाम प्रक्रियामा जान कठिनाई भएको भन्सार कार्यालय जनकपुरका प्रमुख हेमचन्द्र शर्माको भनाइ छ। 'पुरानो फाईलहरु नभएका कारण खोज्नुपर्ने हुन्छ, फाईल भेटाएको खण्डमा सवारी जीर्ण अवस्थामा रहेको सवारी साधनलाई सफासुग्घर गरेर मात्र प्रक्रिया अगाडी बढाउनुपनर्छ, यसो गरेको खण्डमा नेपाल सरकार र लिने दुबैलाई फाईदा हुन्छ,' उनले भने।

जिल्ला प्रशासन कार्यालय, यान्त्रिक कार्यालय, भन्सार कार्यालय, कोष लेखा तथा नियन्त्रण कार्यालय र उद्योग वाणिज्य संघ सम्मिलित रहेको सवारी साधन लिलाम मुल्याङ्कन समिती प्रतिनिधिहरुबीच गाडीको मूल्याङ्कन  गर्ने विषयमा सहमति हुन नसकेकाले पाँच वर्षदेखि भन्सार हातामा रहेका गाडी लिलाम हुन नसकेको हो।

'सम्पुर्ण कानूनी प्रक्रिया पुर्‍याएर लिलाम गर्ने हो भने करोडोको राजश्व संकलन हुन्छ तर मधेश आन्दोलनको कारण देखाउदै वर्षौदेखि अर्थ मन्त्रालय तथा मातहतका कार्यालयहरुको लापरवाहीका कारण लिलामी हुन सकेको छैन्,' जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह (हिरा) ले भने।

अध्यक्ष हिराका अनुसार आफुहरुले पटक-पटक लिलामिको लागि पहल गरे पनि सरकारकै बेवास्ताका कारण पक्राउ गरिएका सवारी साधनहरु थोत्रो भइसक्दा समेत लिलामी हुन सकेको छैन्।

प्रहरीले आफ्नै नियन्त्रणमा राख्न थाल्यो

भन्सारमा बुझाएका गाडी वर्षौसम्म लिलाम बिक्री नभएको र भन्सार कार्यालयमा गाडी राख्ने ठाँउ समेत नभएकाले प्रहरीले अहिले भने आफ्नै नियन्त्रणमा राख्न थालेको छ। धनुषाका प्रहरी उपरीक्षक लिलामणि आचार्यले जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेका सवारी साधनलाई आवश्यक प्रक्रिया पुर्‍याएर भन्सार कार्यालयलाई पत्राचार गर्ने गरे पनि कार्यालयले ठाउँ अभाव देखाउनले गरेको बताए। भन्सार कार्यालयले प्रहरी कार्यालयमै राख्न भनेका कारण ती सवारीहरु जिल्ला प्रहरी कार्यालयमै राखिएको उनले बताए।

चोरीका गाडी नियन्त्रणमा लिई प्रहरीले भन्सारलाई बुझाए पनि ती गाडीमा रहेका बहुमुल्य पाटपुर्जा चोरी भइसकेका छन्। कर्मचारीको उदासिनताका कारण समयमा लिलाम बिक्री नहुँदा करोडौं राजश्व त्यसै खेर जाने अवस्थामा पुगेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.