|

उदयपुर : वैशाख ३१ गते हुने स्थानीय चुनावका लागि जिल्लाको मुख्य व्यापारिक नाका कटारी नगरपालिकामा दलहरु उम्मेदवार चयनको तयारीमा छन्। सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिकापछिको कटारीमा नगर प्रमुखमा एउटै दलभित्र धेरै जना आकांक्षी छन्। नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुको लागि पार्टीभित्रैबाट हानाथाप र तछाडमछाड़ चलिरहेको छ।

सम्भावित नगर प्रमुख र उपप्रमुखका दाबेदारहरु कार्यकर्ता र पार्टी नेतासँगको भेटघाट तथा छलफलमा रातदिन व्यस्त छन्। आफ्ना पार्टीको उम्मेदवारको पक्षमा कार्यकर्ताहरु फेसबुक लगायतका सामाजिक सञ्जालमा फोटो हालेर समेत प्रचार गर्न थालेका छन्।

साविकको कटारी नगरपालिकामा रिस्कु, हर्देनी, मायँखु, लेखानी, सोरुङ, सिरिसे, लिम्पाटार गाविस मिसाएर अहिलेको कटारी नगरपालिका बनेको हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार ५६ हजार १ सय ६६ जनसंख्या रहेको कटारी नगरपालिकामा ३१ हजार ८९ जना मतदाता छन्। अधिकांश क्षेत्र पहाडी भूभागमा पर्ने कटारी नगरपालिकामा १४ वडा कायम गरिएको छ।

नेपाली काङ्ग्रेस

२०५४ सालको स्थानीय निर्वाचनमा तत्कालिन कटारी गाविसमा जित हासिल गरेको नेपाली काङग्रेस यस पटक सिंगो नगरपालिकामा पनि जित्ने योजनामा छ। अहिले नगरपालिकामा मिसाइएका अधिकांश गाविसमा २०५४ सालको निर्वाचनमा नेकपा एमालेले जित हासिल गरेको थियो। अमिक शेरचन नेतृत्वको तत्कालिन राष्ट्रिय जनमोर्चा दोस्रो भएको थियो। नेपाली कांग्रेस रिस्कु, हर्देनी, मायँखु, लेखानी, सोरुङ, सिरिसे, लिम्पाटार र त्रिवेणीमा तेस्रो र चौथो स्थानमा थियो। कटारी नगरपालिका रहेको उदयपुरको क्षेत्र नम्बर ३ मा पहिलो संविधानसभाको निर्वाचनमा काङ्ग्रेस तेस्रो भएको थियो भने दोस्रोमा संविधानसभा चुनावमा जित हासिल गरेको थियो।

यस पटकको स्थानीय चुनावमा कटारी नगरपालिका प्रमुखमा कांग्रेस जिल्ला सचिव रामकुमार राई, कृष्ण श्रेष्ठ, पूर्व केन्द्रीय कार्यालय सचिव ज्ञानेन्द्र राउत र पूर्व क्षेत्रीय सभापति त्रिभुवन दाहालले आकांक्षा राखेका छन्। कांग्रेस स्रोतका अनुसार राउतको सम्भावना बढी छ।

नेकपा एमाले

२०५४ सालको स्थानीय निर्वाचनमा हाल कटारी नगरपालिकामा रहेका हर्देनी, मायँखु, लेखानी, लिम्पाटार, रिस्कुमा एमालेले जित हासिल गरेको थियो। तर जितेका सबै नेताहरु माओवादी केन्द्रमा प्रवेश गरे। अहिले संगठन निमार्णमा जुटेको एमाले जित्ने आशामा छ। एमालेबाट कटारी नगरपालिका प्रमुखमा प्रदेश नम्बर १ कमिटीका सदस्य भीमकुमारी राउत, जिल्ला पार्टी उपसचिव ज्ञानेन्द्र श्रेष्ठ, जिल्ला कमिटी सदस्य शम्भु पोखरेल, पूर्व जिल्ला कमिटी सदस्य कृष्ण थापा र पूर्व पार्टी अध्यक्ष बेदप्रसाद पोखरेलले दावी गरेका छन्।

नेकपा माओवादी केन्द्र

कटारी नगरपालिका माओवादी केन्द्रका लागि प्रतिष्ठाको विषय बनेको छ। पहिलो संविधानसभा चुनावमा ६५ प्रतिशत मत ल्याएर जितेको माओवादीले दोस्रोमा पराजय व्यहोरेको थियो। अहिले विभिन्न माओवादी घटकसंगको एकता र संगठन सुदृढिकरण गरेकाले माओवादीले आफू बलियो रहेको दावी गरेको छ। नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य केपी बराल, जिल्ला पार्टी संयोजक विनोद कटुवाल, पार्टीको केन्द्रीय सल्लाहाकार कुमार सिंह राई, कटारी नगर अध्यक्ष हेम दाहाल र योगेन्द्र दनुवारको नाम नगर प्रमुखमा चर्चामा छ।

राप्रपा

कटारी नगर प्रमुखमा चौथो ठूलो दल राप्रपाबाट भने नरेन्द्र कार्कीको नाम चर्चामा छ। यसैगरी नयाँ शक्ति पार्टी पार्टीबाट नगर प्रमुखमा रामबहादुर सुनुवार चर्चा छ। कटारीमा प्रमुख तीन पार्टीबीच नै मुख्य प्रतिस्पर्धा हुने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर खड्का बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • All the best baba Ram kumar Rai