|

काठमाडौँ : 'मुलुकमा राम्रो कामको सुरुवात हुन खोज्यो कि प्रतिगमन हुन्छ लोडसेडिङ अन्त्य त भयो, फेरि कहिलेबाट सुरु हुन्छ हामीलाई चिन्ता छ, मन्त्रीज्यू कहिलेसम्म बस्नुहुन्छ कुलमानजी कहिलेसम्म रहनुहुन्छ?' उर्जा मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रमा डा भोला रिजालले प्रश्न गरे। 

कुलमानलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारीमा सिफारिस गर्ने मन्त्री जनार्दन शर्मा नै हुन्। प्राधिकरणमा कुलमानको आयुबारे डा रिजालले सोधेपछि कार्यक्रमका सहभागीले मन्त्रीबाट आउने उत्तरको प्रतिक्षा गरिरहे। उत्तर दिनुअघि उर्जामन्त्री शर्मा मज्जाले हाँसे। आफ्नो सरकारको आयु छोटिँदै गएको हेक्का गर्दै उनले भने 'म त अब कति दिन बस्छु भन्ने स्थिति छैन राजनीतिक परिस्थिति नै यस्तै छ। म पदबाट बाहिरिएपनि जनप्रतिनिधिको हैसियतले संसदमा विद्युत विकासका लागि निरन्तर दबाब दिनेछु।' 

मन्त्री शर्माले आफ्नो पदको आयु धेरै नरहेको संकेत गरेपछि शर्मासँगै कुलमान घिसिङ पनि प्राधिकरणबाट विदा हुने हुन् कि भन्ने शंका फ्लोरमा कायम भयो। उदघोषकले डा. रिजालको दोस्रो प्रश्नबारे मन्त्री शर्मालाई स्मरण गराए। शर्माले मुस्कुराएर भने 'मेरो कार्यकाल त मैले तोक्न मिलेन, कुलमानजीलाई सिधै हटाउने स्थिति छैन बाङ्गो टिङ्गो बाटो अपनाउँदैनन् होला।'

कुलमानको आयु कहिलेसम्म भन्ने प्रश्नमा अमूर्त जवाफ दिँदै मन्त्रीले प्रशंगमा पूर्णविराम लगाए। छेउमा रहेका सहयोगीले मन्त्रीको जवाफ सकिएको मानेर माइक्रोफोन फिर्ता लिन खोजे। अन्तिममा मन्त्री शर्माले जवाफ दिए 'अबको चार वर्षसम्म कुलमानजी विद्युत प्राधिकरणमा रहनुहुनेछ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.