|

विराटनगर : १८ वर्षअघि प्रेम विवाह गरेकी एक महिलाले वडा सदस्यको उम्मेदवार बन्नका लागि श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी छिन्। विराटनगर उप-महानगरपालिका ११ की ३६ वर्षीया रिंकुदेवी परियारले वडा सदस्यको उम्मेदवार बन्न श्रीमान् सवदनारायण सरदार थारुसँग सम्बन्ध विच्छेद गरेकी हुन्।

उनीहरुबीचको वैवाहिक सम्बन्ध अन्त्य भएको फैसला ५ दिनअघि जिल्ला अदालत मोरङले सुनाएको छ। सम्बन्ध विच्छेदपछि रिङ्कुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट  बाबुको नाममा नागरिकता लिएकी छिन्।

नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनमा विराटनगर-११  बाट दलित महिला कोटामा उम्मेदवार बनाउने भएपछि रिंकुले श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी हुन्। सम्बन्ध विच्छेदपछि एमालेले उनको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ। अब उनी एमालेबाट वडा सदस्यको उम्मेदवार बन्ने पक्का छ।

स्थानीय तहको निर्वाचनमा सबै वडामा दलहरुले अनिवार्य रुपमा एकजना दलित महिलालाई उम्मेदवार बनाउनुपर्ने प्राबधान छ । रिंकुले थारुसँग विवाह गरेपछि श्रीमानकै थरबाट नागरिकता लिएको कारण दलित भएको प्रमाणित गर्न श्रीमानसँग सम्बन्ध बिच्छेद गरी माइतीकै थरबाट नागरिकता लिन पार्टीले लगाएको हो ।

एमालेको वडा कमिटीका अध्यक्ष सुरज श्रेष्ठले अन्य दाबेदार नभएपछि पार्टीले रिंकुलाई दलित महिला कोटाबाट वडा सदस्यको उमेद्धवार उठाउने निश्चित भएको बताए। पार्टीमा सक्रिय दलित महिला भएकालेले उनलाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ।

रिंकुदेवी थारुको नाममा भएको नागरिकताको कारण उम्मेदवार बन्नबाट बञ्चित हुनसक्ने चिन्ता रिंकुदेवीलाई थियो। श्रीमानसँग सम्बन्ध विच्छेद गरेर माइतीको थरबाट नागरिता लिएपछि दलित कोटाबाट उम्मेदवार बन्‍ने ढोका उनका लागि खुल्यो।

चुनावको मुखमा सम्बन्ध बिच्छेद भएपनि श्रीमानसँग लामो समयदेखि अलग बस्दै आएको रिंकुदेवीले बताइन्। ९ वर्षदेखि नै आफुहरु अलग बस्दै आएकोमा अहिले कानुनी रुपमा अलग भएको उनको भनाइ छ।

श्रीमानको नामबाट लिएको नागरिकता उमेद्धवार बन्न बाधक बन्ने भएपछि विकल्पका रुपमा सम्बन्ध विच्छेदलाई रोजेको रिंकुको प्रतिक्रिया छ। यो दम्पतीका २ छोरा छन् । दुबै छोरा रिङ्कुदेवीसँगै बस्दै आएका छन्। श्रीमानले पनि अर्को विवाह गरिसकेको रिंकुदेवीले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.