|

काठमाडौं : नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरले पदबाट राजीनामा दिएका छन्। महासंघका नयाँ सदस्यको नाम गोप्य राखिएको भन्दै असन्तुष्टि जनाउँदै आएका कुँवरले चैत २१ गतेदेखि  लागू हुने गरी राजीनामा दिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।

‘सदस्यता समेत हेर्न नपाउने र (उक्त विषयलाई) केन्द्रीय समितिमा पेश नगर्ने प्रवृत्ति स्वीकार गर्न सकिएन’, सोमबार जारी विज्ञप्तिमा कुँवरले भनेका छन्।

पेशागत मर्यादासित जोडिएको सदस्यता शुद्धीकरण महासंघका हरेक बैठकमा छलफलको विषय बने पनि त्यो छलफलमै सीमित भएको उनले उल्लेख गरेका छन्।

‘प्रस्तावित सदस्य (नयाँ सदस्य) को सूचि केन्द्रीय समितिमा पेश नै गरिएन र केन्द्रीय सदस्यलाई थाहा समेत दिइएन। पुष २७ गतेको बैठकमा ‘महासचिवले पद्धतिगत ढंगले पेश गर्न नमिल्ने’ बताउनुभयो र त्यसको प्रतिवाद भएपछि अध्यक्षबाट वितरण गर्ने प्रतिवद्धता व्यक्त भएको थियो । तर प्रतिवद्धता अनुसार व्यवहार भएन र चैत २० गते नगरकोटमा बसेको बाह्रौं बैठकमा पनि त्यो सूचि पेश गरिएन र असहमति राख्ने अधिकार पनि दिइएन। अध्यक्षले पटक पटक पेश गर्ने वचन दिए पनि त्यो हुन सकेन’, उनले भनेका छन्।

‘अध्यक्षले वितरण गर्नुपर्छ भन्दा पनि वितरण नहुने अवस्था कसका कारणले सिर्जना भयो? मैले बुझ्न सकेको छैन।  त्यसैले मैले चैत २१ गतेदेखि लागू हुने गरी नगरकोट बैठकमै नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यबाट राजीनामा दिएको छु’, विज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.