|

भक्तपुर : जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ। जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीको संयोजकत्वमा बसेको विद्यालय वर्गीकरण एव‌ शुल्क अनुगमन समितिको बैठकले जिल्लामा रहेका क, ख, ग र घ श्रेणीका विद्यालयको शुल्क निर्धारण गरेको हो। 

संस्थागत विद्यालयले पेश गरेको शुल्क प्रस्ताव विश्लेषण गर्दै शैक्षिक सत्र २०७४ मा भक्तपुर जिल्लामा वर्गीकरण गरिएका विद्यालयले श्रेणीगत रूपमा शुल्क सीमा निर्धारण गरिएको जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले जानकारी दिए। 

प्रावि तहको कक्षा १ देखि ५ सम्म बढीमा ‘क’ श्रेणीले र दुई हजार ३६०, ‘ख’ श्रेणीले एक हजार ९६०, ‘ग’ श्रेणीले एक हजार ५७० र ‘घ’ श्रेणीले एक हजार १८० रुपैयाँसम्म शुल्क लिन पाउनेछन्। 

त्यसैगरी निमावि तहका लागि कक्षा ६ देखि ८ सम्म बढीमा ‘क’ श्रेणीले दुई हजार ७००, ‘ख’ श्रेणीले दुई हजार २५०, ‘ग’ श्रेणीले एक हजार ७९० र ‘घ’ श्रेणीले एक हजार ३५० रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको छ। 

मावि तहको कक्षा ९ देखि १० सम्मको हकमा भने बढीमा ‘क’ श्रेणीले रु तीन हजार ६७०, ‘ख’ श्रेणीले तीन हजार ६०, ‘ग’ श्रेणीले दुई हजार ४४० र ‘घ’ श्रेणीले एक हजार ८३० रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको रायमाझीले जानकारी दिए। 

त्यसभन्दा बढी रकम र अतिरिक्त रकमका नाममा अनावश्यक रकम सङ्कलन गरेमा त्यस्ता विद्यालयलाई कडा कारबाही गरिने बताउँदै रायमाझीले त्यस्ता विद्यालय भए कार्यालयमा उजुरी गर्न समेत अभिभावकलाई आग्रह गरे। 

प्याब्सन जिल्ला अध्यक्ष श्रीकृष्ण केसी, नेसनल प्याब्सनका अध्यक्ष जीवी खड्का, अभिभावक संघ भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापति, जिल्ला समन्वय समितिका प्रतिनिधि माधवप्रसाद घोरसाइने, हिसानका अध्यक्ष पुरुषोत्तम ग्वाछा, विमलप्रसाद निरौला विद्यालय निरीक्षक, राष्ट्रिय अभिभावक सङ्घ भक्तपुरका अध्यक्ष वासुदेव खड्का, जिशिका शाखा अधिकृत मोतिलाल महतारालगायतको सहभागितामा बसेको बैठकले शुल्क निर्धारण गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.