|

काठमाडौँ: वन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा ‘युवा अग्रसरताः संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नाराका साथ बैशाख १ देखि ७ गतेसम्म बाइसौँ वन्यजन्तु सप्ताह मनाइँदै छ। यसअन्तर्गत आइतबार माध्यमिक विद्यालयस्तरीय चित्रकला तथा सोमबार कविता प्रतियोगिताको आयोजना गरियो।

आइतबार माइतीघर मण्डलमा माविस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा काठमाडौँ उपत्यकाका निजी तथा सरकारी ४२ माविका १०४ विद्यार्थीको सहभागिता रहेको विद्यालय सेक्टरका संयोजक देवीप्रसाद घिमिरेले जानकारी गराए।

वन्यजन्तु संरक्षणका लागि युवालाई ज्ञान प्रदान होस् भन्ने उद्देश्यका साथ चित्रकला प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले बताए। सो अवसरमा विद्यार्थीले वन र वन्यजन्तु संरक्षणसम्बन्धी चित्र बनाएका थिए।

यसैगरी सोमबार सदर चिडियाखाना जावलाखेलमा माविस्तरीय कविता प्रतियोगिताको आयोजना गरियो। चिडियाखानाको साथी टिचर्स कमिटीका अध्यक्ष भक्ति घिमिरेका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाद्वारा आयोजित संरक्षणसम्बन्धी कविता प्रतियोगितामा उपत्यकाका निजी तथा सरकारी विद्यालयका तीन दर्जन विद्यार्थीले भाग लिएका थिए।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने तीन जनालाई पुरस्कृत गरिने राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाकी प्रमुख रचना शाहले जानकारी गराइन्।

कविता प्रतियोगितामा ब्राइट फ्युचर बोर्डिङ स्कुलकी इशा पौडेल प्रथम, पृथ्वी सेकेण्डरी स्कुलका अभिनन्दन घिमिरे द्वितीय, लिटिल एञ्जलकी ओजस्वी ढकाल तृतीय भएका थिए भने ज्ञानोदय बालबाटिकाकी स्मृति यादव, सुजन बाँस्कोटा र विजेश्वरी ज्ञानमन्दिर सैनिक स्कुलकी श्रीशा पाण्डेले सान्त्वना स्थान हासिल गरेका थिए।

कार्यक्रमका प्रमुख निर्णायक प्राज्ञ रमेश श्रेष्ठले अन्य अनेकौँ माध्यमभन्दा एउटा कविताले प्रकृति, वातावरण तथा वन्यजन्तु संरक्षणसम्बन्धी जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.