|

लहान : करिब दुई हप्ताअघि अपहरणमा परेका भारतीय नागरिक प्रदीप यादवलाई मंगलबार बिहान सिरहा सप्तरीको प्रहरी टोलीले सिरहाको लहान नगरपालिका १५ बेताहबाट सकुशल मुक्त गराएको छ। 
प्रहरीले अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। गत चैत २३ गते अपहरणमा भारत बिहारस्थित मझारीका वर्ष २३ का यादवलाई बेतहा गाउँबाट मुक्त गराएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक (डिएसपी) हिराबहादुर पाण्डेले जानकारी दिए। ‘खोजतलासको क्रममा यादवलाई बेतहा गाउँमा बन्धक बनाएर राखिएको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा स्थानीय रमेश लामाको घरबाट सकुशल मुक्त गरायौं’ डिएसपी पाण्डेले भने। 

प्रहरीले यादवलाई अपहरण गरी बन्धक बनाएर राखेको घरमा कुरुवा बसेका घरधनी लामासहित सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका ३ पोर्ताहाका वर्ष ३५ का किसुनदेव यादव, धनगढीमाई नगरपालिका १३ का वर्ष ३५ का जयराम यादव र सप्तरीको विष्णुपुर गाउँपालिका ६ का वर्ष २२ का दीपनारायण यादवलाई पक्राउ गरेको छ। 
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराज पठाइएको प्रहरी नायव उपरीक्षक पाण्डेलले बताए। पक्राउ परेका चार जनालाई मंगलबार दिउँसो राजविराजमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने र अपहरणमुक्त भारतीय नागरिकलाई सम्बन्धित परिवारको जिम्मा लगाइने तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.