|

काठमाडौं : स्थानीय तहको निर्वाचन जति नजिकिँदै छ, दलहरू तीब्र रूपमा आ-आफ्नो चुनावी तयारीमा जुटेका छन्। आगामी बैशाख ३१ गते हुने निर्वाचनबारे दलहरूबीच अन्योल भइँरहदासमेत दलहरूले आफ्नो आन्तरिक तयारीलाई भने तीब्र पारेका छन्।

चुनावका लागि सबै दलले चुनावका लागि आवश्यक गतिविधिसँगै अन्य सामग्रीहरू समेत तयार पारिसकेका छन्। मुख्य प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना निर्वाचनका गतिविधि केन्द्रदेखि गाउँसम्म तीब्र पारेको छ। एमालेले स्थानीय तहको निर्वाचनका लागि साङ्गीतिक रूपमा जनताका बीचमा जान साङ्गीतिक तयारीसमेत गरिरहेको छ।

एमालेको चुनावी प्रचारका लागि चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेले 'घामलाई दिनुहोस्, भोट कल्लाई ? उज्यालो घामलाई दिनुहोस्, देश बनाउने जिम्मेवारी हाम्लाई दिनुहोस्। नेकपा एमाले जिन्दावाद ! भोट केमा सूर्यमा जिन्दावाद !!' बोलको चुनावी गीत तयार पारेका छन्।

सो गीतमा यसो भनिएको छ-

सिमानामा छिमेकीले साह्रै आँखा गाढे

अरू कोही बोल्ने छैनन् एमालेले छाडे

आँच पुर्‍याउन खोजे भने राष्ट्रियतामाथि

एकजुट हुने बेला आयो देशैभरका साथी!

गीतमार्फत् गायक न्यौपानेले सिमानामा छिमेकीले आँखा गाडेर नेपालीलाई दुःख दिएको उल्लेख गरेका छन्। उनले सिमानामा आँखा गाडेर नेपालीलाई दुःख दिएको कुरा एमालेले बोल्ने छाडे अरूले कोही नबोल्नेसमेत भनेका छन् गीतमा।

सूर्य न्यौपानेको शब्द तथा संगीत रहेको 'घामलाई दिनुहोस्' भनेर गीतमा एमालेलाई भोट दिन आग्रह गरिएको छ। नेपाली लोकसङ्गीतको क्षेत्रमा पुराना तथा पाका गायक पुरुषोत्तम न्यौपानेले नेपाली राष्ट्रियतामाथि आँच पुर्‍याउनेमाथि एकजुट हुने बेला भएको आग्रहसमेत गरेका छन्।

गीतमार्फत् हिमाल, पहाड, तराईका सबै नेपाली लामो समयदेखि मिलेर बसेको भन्दै अहिले केहीले पहाडलाई फुटाएर पराई बनाउन खोजेको भन्दै त्यसका विरुद्ध लाग्नसमेत आग्रह गरिएको छ।

आफै मिली बसेका छन् हाम्रा हिमाल-तराई

पहाडलाई फुटाएर बनाउँदै छन् पराई

ठूला पार्टी भनेकाले छिमेकीलाई टेरे

सधैँ शान्ति पाउने थियौँ देशले मुहार फेरे।

ठूला पार्टी भनेका केही दलले छिमेकीलाई टेर्न छाडे देशमा शान्ति छाउने र देशको अहिलेको मुहार फेरिनेसमेत बताइएको छ गीतमा।

सिमानाको सुरक्षाका क्रममा आज पनि कयौँ नेपाली युवाहरू छातीमा गोली थापेर मर्न तयार भएको भन्दै गीतमा विभिन्न क्षेत्रमा मिचिएको नेपालको सिमाना फिर्ता पाउनुपर्ने उल्लेख छ।

नेपालीको छोरा यहाँ सिमानामा मर्छ

मिचिएको सिमा हाम्ले फिर्ता पाउनुपर्छ

हाम्ले आफ्नो संविधान मान्न पाउनुपर्छ

किन विवाद भएको छ? जान्न पाउनुपर्छ।

नेपाली जनताको लामो समयको संघर्षपछि प्राप्त उपलब्धि नेपाली जनताका प्रतिनिधिले निर्माण गरेको संविधान नेपालीले नै कार्यान्वयन गर्न पाउनुपर्ने गीतमा उल्लेख छ। संविधानबारे अहिले भइरहेको विवादको चुरो कुरो जनताले जान्न पाउनुपर्नेसमेत उल्लेख छ गीतमा।

जनताको बहुमतले एमालेलाई पठाऊ

देशै बेच्न खोज्नेलाई नेतृत्वमा हटाऊ

देश विकासका थाक्ने छैनन् एमालेका नेता

हार्‍यौ भने उस्तै हुन्छ यो देशको ब्यथा।

देश विकासका लागि अब नेकपा एमालेको आवश्यकता मुलुकमा भएको भन्दै अबको चुनावमा एमालेलाई बहुमतले जिताएर पठाउन आग्रह गरिएको छ। एमालेका नेताहरू देश विकासमा डटेर लाग्ने भन्दै देशै बेच्न खोज्नेलाई नेतृत्वबाट हटाउनसमेत जनतालाई एमालेको चुनावी गीतमा आग्रह गरिएको छ। गीतमा चुनावमा एमालेले हारे देशको मुहार कहिल्यै नफेरिनेसमेत उल्लेख गरिएको छ।

शालिग्राम इन्टरटेनमेन्टको युट्युव च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको उक्त गीत करिब ९ मिनेट लामो छ।

हेर्नुस भिडियोः

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.