|

उदयपुर : गरिब तथा विपन्न आर्थिक स्रोत भएका मिर्गौला रोगीलाई अहिले सरकारले निःशुल्क उपचार गर्ने घोषण गरेको छ। तर, त्यही निःशुल्क उपचार गर्ने माध्यम खोज्दै एक मिर्गौला रोगी भौतारिइरहेका छन्। यसरी भौतारिँदै हिँड्ने मिर्गौला रोगी हुन् खोटाङ चिसापानी स्थायी घर भई हाल उदयपुर त्रियुगा नगरपालिका ११ गाइघाटमा भाडामा बस्दै आएका ३४ वर्षे पशुराम परियार।

सोमबार दिउँसो नेपाल पत्रकार महासंघ उदयपुरको कार्यालयमा न्याउरो अनुहार भएका परियार निःशुल्क उपचारबारे पत्रकारलाई सोध्न आइपुगे। ‘दुवै मिर्गौला काम नलाग्ने भएको छ’ मेरो दुवै मिर्गौला फेल भएका छन्, म बाँच्न चाहन्छु सहयोगी कोही हुनुहुन्छ? लेखिएको प्लेकार्ड देखाउँदै परियारले भने, ‘सामान्य औषधी उपचार गर्नेसमेत पैसा छैन।’

गएको फागुन महिनामा एक्कासि लगातार बान्ता हुने, शरीर सुनिन थालेपछि स्वाथ्य परीक्षण गर्न बिराटनगरको गोल्डेन हस्पिटल प्राली पुगेको परियारको दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो। ‘फागुन ८ गते बिरामी भएर चेक गर्न गोल्डेन हस्पिटल प्राली गएँ,’ परियारले भने, ‘त्यहाँ चेक गर्ने मिर्गौला रोगका डाक्टर रमेशकुमार चौरासियाले दुवै मिर्गौला फेल भएको जानकारी दिए।’

गाईघाट बजारमा सामान्य सिलाइकटाइ गरेर ४ जनाको परिवारको जीविका चलाउँदै आएका परियार उपचारको लागि आर्थिक रुपमा अति कमजोर छन्। ‘सिलाइकटाइले परिवारको गुजारा चलाउनै धौधौ भएको छ,’ उनले भने, दुईवटै मिर्गौलाले काम गर्दैन, डाक्टरले प्रत्यारोपण गर्नुपर्छ भनेका छन्, कसरी बाँच्न सक्छु होला?’

‘अब छोरा छोरीको बिजोग हुने भयो’ आँखाभरि आँसुका धारा बगाउँदै पत्रकार महासंघ शाखा उदयपुरको कार्यालयमा पत्रकारसँग बिलौना गरे, स्वास्थ्य कार्यालय उदयपुरले निःशुल्क उपचारको लागि गोल्डेन अपस्तामै सिफारिस गरेको छ, त्यहाँ उपचारको पैसा नलागे पनि औषधीको लागि पैसा लाग्छ भनेर त्यहाँका डाक्टरहरुले भनेका छन्, पैसा छैन।’ गोल्डेन निजी अस्पताल भएकाले सरकारी अस्पतालमा उपचार गराउने माध्यम परियारले खोजी गरेका हुन्।

मिर्गौला रोगीको निःशुल्क उपचार हुन्छ भनेको समाचार सुनेका परियारलाई उनकै श्रीमती ३४ वर्षे निर्मला परियार आफ्नो मिर्गौला दिन तयार छिन्। श्रीमतीले दिने मिर्गौला मिल्ने, नमिल्ने चेक जाँचको लागि निःशुल्क हुने अस्पतालको खोजीमा अहिले पशुराम छन्।

‘सामान्य औषधी उपचार गर्ने पैसासमेत कसरी जुटाउने,’सहयोग माग्दै हिँडेका परियारले भने, ‘श्रीमतीको मिर्गौला मिल्ने नमिल्ने चेक जाँचसम्म गराउन आर्थिक समस्या भो।’पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले आर्थिक सहयोगको लागि समचार पनि प्रकाशन प्रसारण गर्दै निःशुल्क उपचारको लागि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने बताए।

‘कुन अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुन्छ,’ अध्यक्ष खड्काले भने, ‘त्यसको पनि खोजी गर्ने अनि आर्थिक सहयोगको लागि विगतमा समाचारको कारण उपचार भएका रोगीको जसरी उपचारमा सहयोग गर्ने प्रयास गर्दछौं।’आर्थिक सहयोग गर्न चाहनेहरुका लागि पर्शुराम परियारको मोबाइल नम्बर ९८०७९०६२८६ र कर्ण सुनाम ९८४२८३१३५३ मा सम्पर्क गर्न पर्शुरामले अनुरोध गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.