स्वदेशमै गर्न सकिन्छ भन्ने उदाहरण

|

  • रमेश पराजुली-

सिन्धुपाल्चोक: राम्रो रोजगारी र आकर्षक कमाइका लागि विदेश जाने होड चलिरहेका बेला मिहिनेत गरे के हुँदैन र! भन्ने उदाहरण पछिल्लो समय बढ्न थालेको छ समाजमा। कुखुरा पालन, माछा पालन, मौसमी÷बेमौसमी तरकारी खेती आदि स्वरोजगारमूलक व्यवसायप्रति नेपालीहरूको आकर्षण बढ्न थालेको छ पछिल्लो समय। यसकै पछिल्लो उदाहरण बनेकी छन्, सिन्धुपाल्चोक मेलम्चीकी सम्झना गिरी।

मेलम्ची नगरपालिका– ८ की सम्झना पछिल्लो समय नर्सरी किसानको रूपमा चिनिँदै छन्। अकबरे खुर्सानीको बिरुवा बिक्री गरेर राम्रो आम्दानी भएपछि उनी बिरुवा उत्पादनतर्फ आकर्षित भएकी हुन्। 

‘अकबरे खुर्सानीको झण्डै आठ हजार बिरुवा उत्पादन भएकोमा ५ हजार पाँच सय बिरुवा एउटाको चार रूपैयाँका दरले बिक्री भयो’, सम्झना भन्छिन्, ‘त्यसबाट २६ हजार रूपैयाँ आम्दानी भयो।’ सम्झनाले सामुदायिक आत्मनिर्भर सेवा केन्द्रबाट अकबरे खुर्सानीको बेर्ना उत्पादन र नर्सरीसम्बन्धी तालिम लिइन्। एउटै नर्सरीबाट झण्डै आठ हजारा बिरुवा उत्पादन गरिन्। बिरुवा लैजाने किसानबाट एउटा बिरुवाको दुई रुपैयाँ लिइन्। आत्मनिर्भर केन्द्रले पनि एउटा बिरुवाको दुई रुपैयाँका दरले किन्यो। 

व्यावसायिक किसानको रूपमा अगाडि बढ्दै गरेकी सम्झनाले एक रोपनी जग्गामा अकबरे खुर्सानीको बिरुवा पनि लगाएकी छन्। उनी भन्छिन्, ‘बाटोको सहज पहुँच नभएका कारण तरकारी उत्पादन गर्दा बिक्रीका लागि बजारसम्म बोकेर लैजानुपथ्र्यो भने बिरुवा उत्पादन गर्दा घरबाटै बिक्री हुँदोरहेछ।’ 

एउटा टनेलमा अकबरे खुर्सानीको बिरुवा उत्पादन गरेकी सम्झनाले अर्को टनेलमा भेँडे खुर्सानी र गोलभेँडाका बिरुवा लगाएकी छन्। दुई आना जग्गामा बनाएको एउटा प्लास्टिक टनेलबाट उनले तीन सिजनमा गरी ७६ हजार रुपैयाँ बराबरको आम्दानी गरेकी छन्।

‘२०७३ असोजमा टनेलका लागि प्लास्टिक र निर्माणका लागि पाँच हजार रुपैयाँ पाएपछि तत्कालै टनेल बनाएर गोलभेँडा लगाएकोमा ६६९ किलो बिक्री गर्दा ३७ हजार रुपैयाँ आम्दानी भयो’, गिरी भन्छिन्, ‘त्यसपछि भेँडे खुर्सानी लगाएकोमा २४८ किलो बिक्री गरेर १७ हजार ३६० रुपैयाँ र अर्को चरणमा गोलभेँडा लगाएकोमा ५०१ किलो बिक्री गरेर २२ हजार ५४५ रूपैयाँ आम्दानी भयो।’ 

खुर्सानीका बिरुवा उखेल्दै सम्झनाले भनिन्, ‘टनेलभन्दा बाहिर लगाएको तरकारीबाट पनि १० हजार आठ सय रुपैयाँ आम्दानी भएको छ।’ खाद्य सुरक्षा तथा जिविकोपार्जन कार्यक्रमले उनलाई व्यावसायिक किसान बन्न सिकाएको छ। अहिले त उनी नर्सरी किसानको रूपमा चिनिन थालेकी छन्।

भूकम्पअघि जीवन निर्वाहका लागि मात्रै तरकारी लगाउन सुरु गरेकी सम्झना कार्यक्रमको प्रभावका कारण व्यावसायिकतातर्फ उन्मुख भएको बताउँछिन्। ‘एक रोपनी खेतमा बढीमा छ मुरीसम्म धान फल्छ, जसबाट १८÷२० हजार रुपैयाँ आम्दानी हुन्छ’, उनी भन्छिन्, ‘तर दुई आना जग्गामा बनाएको टनेलबाटै एक सिजनमा ३० हजार रुपैयाँसम्म आम्दानी लिन सकिँदोरहेछ।’ पाँचवटासम्म टनेल बनाएर व्यावसायिक रूपमा तरकारी खेती गर्ने हो भने पैसा कमाउन विदेश जानु नपर्ने उनको अनुभव छ।

भूकम्पका कारण माउ–पाठा गरी १९ वटा जमुनापारि जातका बाख्रा मरेपछि जीविकोपार्जनको बाटो बन्द भएको थियो सम्झनाको। तरकारीबाट आयआर्जन हुन थालेपछि फेरि उन्नत जातका बाख्रा पाल्ने योजना रहेको उनको भनाइ छ। मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न थालेपछि हरियो तरकारी खाने बानीको विकास भएको र तरकारी किन्ने पैसासमेत बचत भएको उनी बताउँछिन्। उनले भनिन्, ‘चैत–बैशाखको सुख्खा समयमा त हरियो तरकारी केही हुन्नथियो।

‘मेलम्ची बजारबाट किनेर तरकारी खाइन्थ्यो’, उनी भन्छिन्, ‘अहिले आफैँले फलाउन थालेपछि प्रशस्त खान पाइयो र बढी भएको बिक्री गरेर आम्दानी पनि गर्न पाइयो।’ विष्णु–लक्ष्मी कृषि सहकारी संस्थाको सदस्यसमेत रहेकी सम्झनाले मासिक रूपमा बचत गर्ने गरेकी छन् भने तरकारी खेती तथा नर्सरी व्यवस्थापनसम्बन्धी आमा समूह तथा कृषक समूहलाई तालिमसमेत दिइरहेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.