|

काठमाडौं :  सरकारी अस्पतालहरुमा दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता तथा एशियाली खेलकुदका पदक विजेता खेलाडीको निशुल्क उपचार हुनुपर्ने माग राष्ट्रिय खेलकुद परिषद्ले राखेको छ। परिषदका पदाधिकारीहरुले मंगलबार स्वास्थ्य मन्त्री गगन थापालाई आफ्ना ५ बुँदे मागसहितको ज्ञापनपत्र बुझाए।

राष्ट्रिय खेलकुद परिषद् खेलाडी सुविधा सुझाव कार्यदल समितिले  स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालहरु तथा स्वास्थ्य संस्थाहरुमा यी खेलाडीको निशुल्क उपचार हुनुपर्ने माग राखेको हो।

समितिले दक्षिण एशियाली खेलकुदका रजत पदक विजेता तथा ओलम्पिक खेलमा सहभागिता जनाएका खेलाडीहरुलाई स्वास्थ्य सेवामा ८० प्रतिशत छुट दिनुपर्ने माग राखेको छ। त्यस्तै दक्षिण एशियाली खेलकुदका कास्य विजेता खेलाडीलाई ७० प्रतिशत तथा राष्ट्रिय खेलाडीहरुलाई ५० प्रतिशत छुटको माग गरिएको छ। 

यस्तो छ परिषद्ले पेश गरेको पदक विजेता खेलाडीको सूची
  •  दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता खेलाडीको संख्या १०२ र एशियाली पदक विजेता खेलाडीको संख्या ८ छ। त्यसैले १ सय १० जनालाई निशुल्क उपचारको व्यवस्था मिलाउन माग गरिएको छ।
  • दक्षिण एशियाली खेलकुदका रजत विजेता तथा ओलम्पिकमा सहभागि समेत गरेर २ सय ३१ खेलाडी छन्। यी खेलाडीहरुका लागि ८० प्रतिशत छुटको माग गरिएको छ।
  •  दक्षिण एशियाली खेलकुदका कास्य पदक विजेताहरुको संख्या ४ सय ४२ छ। यी खेलाडीहरुलाई ७० प्रतिशत छुट उपलब्ध गराउन माग गरिएको छ।
  •  राष्ट्रिय खेलाडीहरुलाई ५० प्रतिशत छुट उपलब्ध गराउन माग गरिएको छ।
  •  खेलकर्मीका लागि छुट्टै अस्पताल खोल्न माग गरिएको छ।

ज्ञापनपत्र बुझाउँदै तेक्‍वान्दो खेलाडी दीपक विष्टले देशको गरिमाको लागि खेल्ने खेलाडीको स्वास्थ्य सुविधाको ग्यारेन्टी राज्यले दिनुपर्ने बताए। उनले  भने ' देशको गरिमाको लागि दिएर खेल खेल्ने खेलाडीले पनि केही सुविधा पाउनु पर्छ। जसले खेलाडीले गर्नु पर्ने स्वास्थ्य उपचार सेवा नेपालमै नि:शुल्क पाउनुपर्ने व्यवस्था हुनु पर्छ।'

अहिले पनि धेरै खेलाडीहरु उपचारको लागि विदेश जानु पर्ने बाध्यता भएकाले नेपालमै खेलाडीहरुको मात्र उपचार हुने एउटा छुट्टै सुविधा सम्मन्‍न अस्पताल स्थापना गर्नुपर्ने आफुहरुको माग रहेको विष्टले बताए।

मन्त्री थापाले खेलाडीहरुलाई सुविधा उपलब्ध गराउन आफू तयार रहेको प्रतिबद्धता जनाए। उनले भने,'खेलाडीहरुको स्वास्थ्य उपचारको सेवा सुविधाको उपचारबारे दिइने सुविधाको बारेमा धेरै पहिले दिखिनै छलफल चल्दै आएको छ। जस प्रति म पनि सकारात्मक छु।  जसको लागि आजै एक कार्यदल गठन गरि त्यस कार्यदलले दिएको सुझावको आधारमा खेलाडीलाई सरकारी स्वास्थ्य संस्थामा नि: शुल्क उपचार सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने छ।'

मन्त्रि थापाले खेलाडीको उपचारको छुट्टै अस्पताल खोल्नुपर्ने कुरामा खेलकुद मन्त्रालयसित  छलफल गरेर निर्णय लिने बताए। परिषदले खेलाडीहरुको प्रोत्साहनबापत सरकारले हाल प्रति पदक रु पाँच हजार रकम दिँदै आएकोमा आभार व्यक्त गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.