लहान : सिरहाको लहान नगरपालिका वडा नम्बर ४ स्थित खुट्टीखोलामा मंगलबार अपरान्ह एक नवजात शिशुको शव भेटिएको छ।अवैध गर्भ रहेकाले लोक लाजका कारण शिशु जन्मिए लगत्तै फालिएको हुनसक्ने प्रहरीको आशंका छ।
लहानको अस्पताल चोकतिरको कुनै निजी स्वास्थ्य संस्थामा शिशु जन्माएर फालिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले शिशुको शव हेर्दा आजै जन्माएर फालिएको हुनसक्ने बताए।
महिना पुगेरै जन्मेको जस्तो देखिने शिशु (छोरा) मृत अवस्थामा भेटिएपछि प्रहरीले घटनास्थलबाट प्रकृति मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल ल्याएको प्रहरी निरीक्षक राउतले बताए। सालनाल काटेको, नाइटोमा टेप टाँसेको शिशुको शव सेतो प्लाष्टिक र कालो कपडाले बेरेको अवस्थामा शिशु खोलाको बगरमा भेटिएको हो।
शिशुको शव भेटिएपछि प्रहरीले लहानका सबै स्वास्थ्य संस्थाहरुमा खोजबिन गर्दा पछिल्लो २ दिनभित्र कुनै शिशु नजन्मिएको बताएको छ। प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।