|

काठमाडौं : निर्वाचन आयोगले स्थानीय निर्वाचनको समयमा दलहरुलाई ५ हजार भन्दा बढी चन्दा नदिन आग्रह गरेको छ। मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघका प्रतिनिधिसँगको छलफलमा आयोगले ५ हजार भन्दा बढी नगद चन्दा दिनु आचार संहिता विपरीत हुने बताए।

'प्रमुख निर्वाचन आयुक्तले बढीमा ५ हजार रुपैयाँ मात्रै नगद लिन सक्ने आचारसंहिता रहेको र त्यसलाई पालना गर्नको लागि आग्रह गर्नु भएको छ' मंगलबार दिउँसो १ बजे आयोग कार्यालय कान्तिपथमा भएको छलफलमा सहभागी एक व्यवसायीले थाहाखबरसँग भने। 

पाँच हजार भन्दा बढी रकम दिनु परेमा एकाउन्ट पे चेक दिनुपर्ने हुन्छ। संशोधित निर्वाचन आचार संहिता २०७३ अनुसार उम्मेदवार वा राजनीतिक दलले निर्वाचन खर्चको लागि अलग्गै बैङ्क वा वित्तीय संस्थामा खाता खोली निर्वाचन सम्बन्धी सम्पूर्ण कारोबार उक्त खाताबाट सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ। पाँच हजार भन्दा बढी रकम लिन त्यो खाताको प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ।

छलफलमा उद्योगी व्यवसायीहरुले आफूले भोगेको समस्याबारे प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई जानकारी गराएका थिए। अप्रत्यक्ष दवाव दिने र बलजफ्ती चन्दा माग्नेलाई के भन्ने र कहाँ गुनासो गर्ने भन्ने विषयमा प्रमुख आयुक्तको ध्यानकर्षण गराएको छलफलमा सहभागी एक उद्योगीले बताएका छन्।

'चन्दाको लागि अप्रत्यक्ष दबाब दिने,बलजफ्ती चन्दा माग्ने तर्साउने जस्ता कामहरु निर्वाचनको बेला हुने गर्छन्, यसरी चन्दा माग्दा के गर्ने भन्ने विषयमा हामीले जिज्ञासा राखेका थियौ' ती व्यवसायीले भने। उनीहरुले बलजफ्ती रुपमा चन्दा माग्ने र बलजफ्ती गर्नको लागि उजुरी दिने व्यवस्था गरिदिनको लागि समेत व्यवसायीहरुलाई प्रमुख निर्वाचन आयुक्तलाई आग्रह गरेका छन्।

छलफलमा अर्थ मन्त्रालयका राजश्व सचिव राजन खनाल, आन्तरिक राजश्‍व विभागका महानिर्देशक चुडामणि शर्मा लगायतका कर्मचारीहरु पनि सहभागी थिए। छलफलमा उनीहरुले चन्दाको रुपमा दिइएको पैसा आफ्नो खर्चमा देखाउन पाउनुपर्ने व्यवस्था गर्नको लागी समेत आग्रह गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.