|

झापा : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशी मोर्चा सहमतिमा आए दुई चरणमा निर्वाचन गर्न सकिने बताएका छन्।

कांग्रेसले गरेको प्रदेश नम्बर एक स्तरीय चुनावी सभा अन्तर्गत झापाको कमल नगरमा सोमबार भएको कार्यक्रममा सभापति देउवाले मधेसी मोर्चा संविधान संशोधन प्रक्रियामा आए दुई चरणमा निर्वाचन गर्न सकिने बताएका हुन्। उनले भने,‘ मोर्चा सहमतिमा आएमा दुई चरणमा निर्वाचन गर्न सक्छौँ, होइन भने पनि निर्वाचन हुन्छ।’

सभापति देउवाले देश चुनावमय भएको भन्दै चुनावमा सहयोग गर्न सबैलाई आग्रह गरे। ‘हामीले अभियानका क्रममा निर्वाचनको माहोल गाउँ–गाउँमा तातेको देखेका छौं, जनता चुनाव चाहन्छन, मधेस चुनाव चहान्छ, त्यसैले अब चुनाव कसैले रोक्न सक्दैन’ उनले भने।

सभापति देउवाले एमाले पनि संविधान संशोधनको सहमतिमा आउन जरुरी रहेको बताए। उनले भने,‘एमालेले पनि हठ गरेर हुदैन, देशमा राजनीतिक स्थायित्वको खाँचो छ, त्यसका लागि एमाले पनि सहमतिमा आउने मैले आशा गरेका छु, यसमा मोर्चाले पनि सहयोग गर्नुपर्छ।’

देश अहिले महत्वपूर्ण खुट्किलोमा रहेको भन्दै निर्वाचन अपरिहार्य रहेको बताए। फरक प्रसंगमा उनले एमाले आदिवासीको विरोधी रहेको बताए। झापाको कमलनगर स्थित निर्माणाधीन आदिवासी रंगशालामा एमालेले नाममा बखेडा झिक्केको प्रसंग झिक्दै उनले भने,‘ मैले यही आएर थाहा पाएँ, ओली जीले यस्तो गर्नुहुन्छ जस्तो लागेको थिएन, तर उहाँले सारा आदिवासी जनजातीको भावनामा खेलवाड गर्नुभयो, आदिवासीको चिहान भत्काएर बनाइएको यो रंगशालामा मदन भण्डारीको नाम जोड्दा उहाँको आत्माले शान्ति पाउँदैन।’

उनले कांग्रेस हिमाल पहाड तराईको साझा पार्टी भएकाले अबको निर्वाचनमा पनि एक नम्बर पार्टीनै बन्ने दाबी गरे।

कुनै हालतमा निर्वाचन हुन्छ : गृह मन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले एमाले अध्यक्ष ओलीले बखेडा झिकेको बताए। उनले एमालेका कारण मोर्चा सहमतिमा आउन नसकेको बताए। उनले भने,‘ एमालेले शब्द कोषमा संशोधननै नभए जस्तो गरेको छ, उसले संविधानलाई धर्मग्रन्ध मानेको छ, संविधानबाट एउटा शब्द पनि हटाउन नहुने जस्तो गर्दैछ,एमालेकै कारण मधेसी मोर्चा टाढिएको छ' उनले भने। सरकार निर्वाचनका लागि बनेको हो, कुनै पनि हालतमा निर्वाचन हुन्छ, तपाईहरु ढुक्क हुनुहोस्।’

अहिलेको सरकार चुनाव गर्नकै लागि बनेको बताउदै उनले कुनै पनि हालतमा निर्वाचन हुने बताए। एमाले संघीयता विरोधी भएको समेत उनले आरोप लगाए। गृहमन्त्री निधिले भने,‘एमाले संघीयता विरोधी हो, उसले धर्म निरपेक्षलाई पनि स्वीकारेको छैन, उसले कुनै समय अब राजसंग साठगाँठ पनि गर्न खोजेकै हो।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उखान टुक्काका भरमा देश नचल्ने बताए। एमाले एकातिर राष्ट्रवादको कुरा गर्ने र मधेसी मोर्चा उग्रमधेसवादको कुरा गर्ने गरेका कारण देश जातीय द्वन्द्वको चपेटामा पर्न सक्ने खतरा रहेको पौडेलले बताए। उनले मोर्चालाई पनि सहमतिमा ल्याएर निर्वाचन गर्ने बताए। उनले निर्वाचन हुनेमा ढुक्क रहन समेत सबैलाई आग्रह गरे।

कार्यक्रममा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पछिल्लो समय निर्वाचन सर्ने चर्चा सञ्चार माध्यममा आएपनि निर्वाचन कुनै हालतमा नसर्ने दाबी गरे। कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइराला, नेता शेखर कोइराला, रामशरण महत, मिनेन्द्र रिजाल लगायतले पनि धारणा राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.