|

दाङ: उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीकोे विधानमा उल्लेख गरिरएको वाक्यांशका विषयमा निर्वाचन आयोगले पुनर्विचार नगरे कठोर निर्णय गर्ने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लव दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा राप्रपा अध्यक्षसमेत रहेका थापाले आफ्नो पार्टीको विधानमा उल्लेख गरिएको ‘संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र’ भन्ने वाक्यांश निर्वाचन आयोगले हटाएकामा असन्तोष व्यक्त गरे। उनले आयोगको सो निर्णयमा तत्काल पनर्विचार नगरे सरकारबाट बाहिरिने संकेत पनि गरे।

‘विचार र सिद्धान्त हरेक पार्टीका प्राण हुन्, त्यसकारण संवैधानिक तथा राजनीतिक दृष्टिकोणले आयोगले राप्रपाको विधानका विषयमा गलत निर्णय गरेको छ’, अध्यक्ष थापाको भनाइ थियो।

लोकतन्त्रमा आआफ्नै विचार र सिद्धान्त हुने उल्लेख गर्दै थापाले वामपन्थीहरूले पनि साम्यवादी विचारलाई विधानमा उल्लेख गरेर पार्टी निर्वाचन आयोगमा दर्ता गराएका बताए। ‘राप्रपाको विधान असंवैधानिक छ भने वामपन्थीहरूको साम्यवादी सिद्धान्त उल्लेख भएको विधानलाई आयोगले के भन्छ?’, उनको प्रश्न थियो। 

बैशाख ५ गते स्थानीय तहअन्तर्गत ७४४ वटै केन्द्रमा निर्वाचन आयोगले हटाएको वाक्यांश रहेको विधान जलाउनेलगायतका आन्दोलनका कार्यक्रम बैशाख ८ गतेसम्म रहेको उनले बताए। ८ गतेपछि पार्टी केन्द्रीय कार्यसमितिको बैठक बसी यससम्बन्धी ठोस निर्णय गर्ने उनले जानकारी दिए।

स्थानीय तहको घोषित निर्वाचन मिति बैशाख ३१ आउन मात्र २६ दिन बाँकी रहेको र यसअघि नै यससम्बन्धमा पुनर्विचार गरिसक्न निर्वाचन आयोगलाई उनले आग्रहसमेत गरे। 

मधेसवादी दलहरू विभिन्न माग राख्दै सडकमा भएका, डा. बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पार्टीसहित ६८ दलले चुनाव चिह्नको माग गर्दै आन्दोलनमा रहेका यस्तो बेलामा राप्रपालाई पनि आन्दोलनमा धकेली बैशाख ३१ गतेको चुनावलाई अन्योल बनाउनतर्फ नलाग्न पनि अध्यक्ष थापाले निर्वाचन आयोगलाई चेतावनी दिए।

उपप्रधनमन्त्री थापाले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित, विश्वसनीय र भयरहित बनाउन सरकारले हरसंभव प्रयत्न गरिरहेको पनि बताए।

धेसवादी दलका मागलाई सम्बोधन गर्न सरकारले संविधान संशोधन प्रस्ताव फेरि दर्ता गराएको बताउँदै संवाद र बार्ताबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिए। मधेसवादी दलहरूले सकारात्मक संकेत देखाए दुई चरणमा भए पनि निर्वाचन गर्न सकिने पनि उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.