|

विराटनगर : नेकपा एमाले विराटनगर नगरसमितिको विस्तारित भेलामा नगर प्रमुखको उम्मेदवार युवा हुनुपर्ने माग बढी उठेपछि उम्मेदवार छनोटमा एमालेलाई समस्या परेको छ। यसअघि लालबाबु पण्डित, विनोद ढकाल र महेश रेग्मीको नाम चर्चामा आएको थियो। पण्डितले आफ्नो उम्मेदवारी नहुने प्रष्ट पारेपछि नगर प्रमुखमा उम्मेदवार बन्ने लाइनमा ढकाल र रेग्मीको चर्चा थियो।

मंगलबार पार्टी कार्यालय पांचालीमा बसेको नगरको विस्तारित भेलामा बोल्ने अधिकांश सहभागीले युवा नेताहरुको नाम बढी ल्याएपछि उम्मेदवार सिफारिसको काम अन्यौल बनेको एक एमाले नेताले बताए। बैठकमा वसिम आलम, पर्शुराम बस्नेत, सागर थापा लगायतका नेताहरुको चर्चा भएको हो। एमाले जिल्ला अध्यक्ष ढकाल र रेग्मीको नाम सिफारिस गर्ने तयारी भइरहेको बेला एकाएक युवा नेताहरुको नाम बैठकमा प्रवेश गरेपछि सहभागी नेताहरु नै अलमलमा परेका थिए।

विराटनगर उपमहानगरपालिका भित्रका पार्टीका सक्रिय र अगुवा कार्यकर्ता गरी २ सय बढीको सम्मिलित भेलामा ५० भन्दा धेरैले बैठकमा बोलेका थिए। ‘एमालेले नगरमा सर्वसम्मत मेयरको उम्मेद्वार बनाउँछ भन्ने लागेको थियो तर लफडै लफडा देखियो,’ भेलामा सहभागी एक नेताले बताए, ‘यसअघि आएको ढकाल र रेग्मीको नाम छोडेर जुनियर नेताहरुको नाम लिन थालेपछि उम्मेदवारमा दाबी गर्नेको संख्या बढेको छ।’

स्रोतका अनुसार एमालेबाट विराटनगरको नगर प्रमुखमा महेश रेग्मी, विनोद ढकाल, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत, वसिम आलम, रमेश पोखरेल, चुडामणि आचार्य र तारा निरौलाले आकांक्षा राखेका छन्। भेलामा सहभागी नभएपनि अर्का युवा नेता पारुल क्षेत्रीले पनि आफू नगर प्रमुखमा योग्य र सक्षम रहेको दाबी गर्दै आएका छन्।

‘म सक्षम र योग्य छु, विराटनगरको मेयरका लागि पार्टीमा अहिले आएका नाममध्ये एउटा सशक्त, जुझारु युवा उम्मेदवार म पनि हुँ,’ सम्पत्ति शुद्धिकरण मुद्दामा तारेख खेपिरहेका एमाले मोरङका नेता परशुराम बस्नेतले भने, ‘सिनियरहरुबाटै मिलाउँदा मिल्छ तर, यस्तै अवस्था हो भने हामी पनि पछि हट्दैनौं।’

एमाले मोरङका चर्चित युवा नेता वसिम आलमले पनि आफ्नो दाबी रहेको बताए। ‘म भन्दा जुनियरहरुले पनि नाम बाहिर ल्याएपछि दाबी गरेको हुँ,’ आलमले भने, ‘उत्पीडित मुस्लिम समुदायको भएकोले समावेशी पनि हुने र योगदान, क्षमताले पनि म योग्य र सक्षम छु।’

ओली पक्षबाट बस्नेतको नाम प्रस्ताव भएपछि नेपाल पक्षले आलमको नाम लिएको हो। ‘एक हिसाबले भन्नुपर्दा आलम र बस्नेत को हुने भन्ने विषयमा छलफल भए जस्तो भयो,’ भेलामा सहभागी एक नेताले भने, ‘एउटाले बस्नेत भन्छ अर्कोले आलम भन्छ।’ एमाले मोरङमा पार्टी अध्यक्ष केपी ओली प्यानल र बरिष्ठ नेता माधव नेपाल प्यानलको कडा प्रतिस्पर्धा हुने गरेको छ। जसका कारण उम्मेदवार छनोटमा पनि एउटा पक्षले एउटाको नाम लिने वित्तिकै अर्को पक्षले अर्कोको नाम लिने गरेपछि बैठक प्रभावित हुने गरेको छ।

उपप्रमुखका लागि भने बिमला घिमिरे, शिला दीक्षित कार्की, सावित्रा रेग्मी, शिल्पा कार्की र लिला रिजालले दाबी गरेका छन्। भेलामा कोही पनि पुरुषले उपप्रमुखमा र कोही पनि महिलाले प्रमुखमा दाबी भने नगरेको स्रोतको दाबी छ।

एमालेले महानगरपालिका र उपमहानगरपालिका नगर प्रमुख र उपप्रमुखको टिकट केन्द्रीय समितिले वितरण गर्ने तथा वडा अध्यक्षको प्रदेशले गर्नेछ भने गाउँपालिका र नगरपालिकाको प्रमुख/मेयरको उम्मेदवार छनोट प्रदेशले गर्ने र वडा अध्यक्ष तथा सदस्यहरुको छनौट जिल्ला समितिले गर्ने कार्यविधि बनाएको छ।

यस्तै महानगर र उपमहानगरपालिकाको वडा सदस्यको उम्मेदरको छनौट पनि जिल्ला समितिले नै गर्नेछ। भेलामा आएका नाम जिल्लामा सिफारिस गर्ने र माथिल्लो तहबाटै टुंगो लगाउने तयारी भएको एमाले नगरसमितिका संयोजक सागर थापाले बताए। ‘थुप्रैको नाम आयो, आफू नबोल्ने अरुलाई बोलाउने काम बढी भयो,’ थापाले भने, ‘यद्यपी आएका नामलाई नगर पार्टीका पदाधिकारी तथा जिल्ला सदस्यहरुको सहभागीतामा बैठक बस्ने र नाम सिफारिस गर्ने काम हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.