|

इलाम : वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने माई नगरपालिकामा राजनीतिक दलहरु उम्मेदवार छनोटको तयारी छन्। पछिल्लो पटक स्थानीय तहको संरचना परिवर्तन हुँदा गठन भएको माई नगरपालिकामा नेतृत्वको आकांक्षीहरु धेरै छन्।

नेपाली कांग्रेसबाट नगर समिति संयोजक कृष्ण खाकी, जिल्ला कोषाध्यक्ष विष्णु कार्कीमध्ये एक जना नगर प्रमुखको उम्मेदवार हुने सम्भावना बढी छ। खाकी र कार्कीले दुवैमध्ये १ जना उम्मेदवार हुने पक्का भएको कांग्रेसका एक नेताले बताए।

खाकी २०५४ सालको स्थानीय चुनावमा हाल माइ नगरपालिकामा समेटिएको दानाबारी गाविसको अध्यक्षमा एमालेका उम्मेदवारसँग पराजित भएका थिए। कांग्रेसका पुराना नेता विष्णु घिमिरेले पनि नगर प्रमुखमा दावी गरेका छन्। घिमिरे नेपाली कांग्रेसका पुराना नेता हुन् भने कार्की नेविसंघबाट राजनितिमा प्रवेश गरेका युवा उमेद्धवार हुन ।

एमालेबाट रत्न अधिकारीको संभावना अधिक

माई नगरपालिका इलाम एमालेको पकड भएको क्षेत्र मानिन्छ। यो नगरपालिका क्षेत्र नम्बर १ र २ का केही गाविस मिसाएर बनाइएको हो। दोस्रो संविधानसभा चुनावमा इलाम क्षेत्र नम्बर १ बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल र २ बाट पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए।

यसपटकको स्थानीय तह निर्वाचनमा माइ नगरपालिका प्रमुखमा एमालेबाट जिल्ला सदस्य एवम नगर संगठन सह–संयोजक रत्न अधिकारीको नाम बढी चर्चामा आएको एमालेका नेता बताउँछन्। अधिकारी २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा साविक दानाबारी गाविसबाट अध्यक्षका निर्वाचित भएका थिए। नगर प्रमुखमा नै प्रदेश सदस्य ध्रुव श्रेष्ठ, जिल्ला सल्लाहकार समिति सदस्य दिपक थेबे, मोहन देवान र मेघनाथ गिरी लगायतले नेतृत्वमा आकांक्षा देखाएका छन्।

माओवादीलाई उम्मेदवार चयनमा कठिन

माओवादी केन्द्रबाट माइ नगरपालिका इन्चार्ज तथा केन्द्रीय सदस्य दीपक सेञ्चुरी, सह–इन्चार्ज तथा केन्द्रीय सदस्य श्रीमान राई ‘पवन’, केन्द्रीय सदस्य उर्मिला तामाङ ‘चन्दा’, नगर संयोजक धनकुमार लिम्बु, जिल्ला सदस्य भक्तबहादुर लुङगेली र राजेन्द्र गहतराजको नाम नगर प्रमुखको उम्मेदवारको रुपमा चर्चा भएको छ। लुङ्गेली २०५४ सालको स्थानीय निर्वाचनमा साविक दानाबारी गाविसबाट उपाध्यक्षमा जितेका उम्मेदवार हुन्।

३/३ जना केन्द्रीय सदस्य तथा जिल्ला सदस्यले दावी गरेका कारण माओवादीलाई उम्मेदवार चयन गर्न कठिनाइ भएको छ। माइ नगरपालिकामा तुलनात्मक रुपमा कमजोर मानिएको राप्रपा लगायत अन्य साना दलहरु अवस्था हेरेर सहकार्यमा चुनाव लड्ने तयारीमा छन्। झन्डै २ दशकपछि भएकाले स्थानीय तहमा आकांक्षीहरुको भीड छ। २०५४ सालको स्थानीत तहको निर्वाचन हुँदा जन्मिएकाहरु पनि मतदाता भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • यो पालिको निर्वाचन दलिय रुपमा नभइ ब्यक्तित्वको आधार बाट हुने कुरा माई नगरपालिकाका मतदाता हरुको माग रहेको छ। साना दल हरुको बारेमा भन्नू पर्दा आज मिती सम्म चुनाव चिन्न नदिनुलाई एकलौटी राजनितिकरण भन्न सकिन्छ।