चितवन : गोहीको कब्जामा परेपछि कुनै पनि जनावर फुत्किने सम्भावना कमै हुन्छ। ठूलाठूला वन्यजन्तुलाई समेत गोहीले सजिलै मारेका दृश्यहरु हामीले टेलिभजनको पर्दाहरुमा देख्ने गरेका छौँ। तर आश्चर्य ! गोहीको मुखमा परेका चितवनका एक बालक फुत्किन सफल भएका छन्।
घटना गत चैत २५ गतेको हो। भरतपुर महानगरपालिका–२३ जगतपुर घैलाघारीका १३ बर्षीय बालक अर्जुन हरिजन गोहीको मुखबाट फुत्किएका हुन्। अर्जुन सदा झै चितवन निकुञ्जको छेउमा रहेको राप्ती नदीमा साथीहरूसँग पौडी खेल्न गए। राप्ती नदी उनको पानी पँधेरो हो र त्यही गोहीको बासस्थान पनि।
अपराह्न ३,४ बजेको हुँदो हो। लुगा नदी तीरमा राखेर अर्जुन हाम फाले। गोही लेउले ढाकेको ठाउँमा बसेको रहेछ। उनी गोहीको पिठ्युँमा बजारिन पुगे। ‘लेउ भन्ठानेर हाम फालेको, गोहीको पिठ्युँ परेछ’ अर्जुनले सम्झिए, उसको जिउमा पर्नेबित्तिकै झ्याप्पै हात छोपेर समात्यो।’
गोहीले अर्जुनको देब्रे हातमा समाएर ३ चोटी पछार्यो। त्यसलगत्तै पानीमुनि लग्यो। ‘सुनेको थिएँ, सामान्यतया गोहीले समाइसकेपछि पानी मुनि लगेर सास फेर्न नदिई मार्छ’, उनले भने, ‘कब्जामा परे पनि हरेश खाइनँ। फुत्किने प्रयास सबै व्यर्थ भइरहेको थियो।’
देब्रे हात गोहीको मुखमै थियो। यति बलियोसँग समातेको थियो कि, यो हात त सबै पड्याकपुडुक भा छ’, गोहीले समाएको देब्रे हात देखाउँदै उनले भने। दा
फुत्किने प्रयास विफल भए पनि उनले दाहिने हातले साथीहरूलाई इशारा गरे। ‘मैले साथीहरूलाई एउटा हातले बोलाएँ। उनीहरू आए, पानीमुनि नै लठ्ठीले गोहीको आँखामा हाने। मुहारमा चमक ल्याउँदै अर्जुनले भने, गोहीको आँखामा लाग्यो भने भाग्छ भन्ने कतै सुनेका थिए साथीहरूले।
अब बाँचिन्न भन्ने मनस्थितिमा पुगेका अर्जुन यी दृश्य हेरिरहेका थिए। ‘हात त छोडेकै थिएन। बरु टाउको समाउने प्रयास गर्दै थियो’, अस्पतालको शय्याबाट उनले भने, ‘टाउको समायो भने मार्छ भन्ने लागेर अर्काे हातले रोक्न खोजिरहेको थिएँ। तर त्यो हात पनि टोक्यो।’
भुँडीमा प्वाल पारेको छ। छातीका विभिन्न ठाउँमा टोकेको छ। खुट्टाभरि घाउ नै घाउ छन्। देब्रे हात तीन ठाउँमा भाँचिएको छ। तै पनि गोहीको मुखबाट फुत्किएर नयाँ जीवन पाएकोमा अर्जुन कम्ता खुशी छैनन्। अस्पतालको शय्यामा बसेर उनले एउटा प्रतीज्ञा गरेका छन्, ‘अब पौडी खेल्न कहिल्यै जाने छैन।’
छोरालाई गोहीले टोकेको सुनेर आमा फूलमाया बेहोश भइन्। ‘म घरमै थिएँ। गोहीले छोरालाई टोक्यो, छोरो लिन जानु भनेको सुन्नेबित्तिकै ढलेछु।’ फूलमायाको होश भोलिपल्टमात्र होश आएको थियो। ‘होशमा आउँदा छोरो 'आईसीयू'मा थियो’उनले भनिन्।
अस्पताल ल्याउँदा नरुने कोही थिएन
त्यो दिन आकस्मिक कक्षमा थिइन्, अस्पतालकी कर्मचारी मञ्जु भट्ट। ‘अस्पताल ल्याउँदा अर्जुनको हालत देखेर नरुने कोही थिएन’, उनले भनिन्, ‘घाउहरु हेरिसाध्य थिएनन्।’
भुँडीमा पारेको प्वालबाट आन्द्रा नै देखिन्थ्यो भनेर चिकित्सकले भनेको कुरा उनी सम्झिन्छिन्। ‘ हातको हड्डी नै टुक्रा भा’थ्यो रे!’ मञ्जु सुनाउँछिन्। दर्दनाक हालतमा उपचारका लागि आइपुगेका अर्जुन अहिले यो अवस्थामा आइपुग्दा आफूलाई पनि खुशी लागेको मञ्जुले बताइन्।
पैसा तिर्न सकेन परिवारले
सामान्य सुकुमवासी परिवार एक कठ्ठा जमिन छ। त्यही पनि ऐलानी। घरको एउटा छोरो। तीन छोरी । आमा फूलमाया १३ दिनदेखि छोराको उपचारमा चितवन मेडिकल कलेजमा धाइरहेकी छिन्।
कलेजको अर्थाेपेडिक वार्डको २९६ नम्बर शय्यामा छन्, अर्जुन। अर्जुनकी दिदी सरिता पनि अस्पतालमै उनको हेरचाहमा छिन्। आमा फूलमायाका अनुसार अहिलेसम्म करिब झण्डै २ लाख रुपैयाँ खर्च भइसेकेको छ। ९ दिन त आईसीयूमा राखियो। एकदिन ‘पोष्टअप’मा राखेर ४ दिनअघि मात्र उनलाई ‘अर्थाे’मा सारिएको हो ।
औषधिको पैसा तिरे पनि अस्पतालको डेढ लाख रुपैयाँ तिर्न बाँकी छ। अस्पतालको बिलको बिटो देखाउँदै फूलमाया भन्छिन्, ‘यो पैसा तिर्न कठिन छ।’ बुबा रामबहादुर लेबर काम गर्छन्। फूलमाया मेलापातमा जान्छिन्।
पैसा तिर्न चन्दा संकलन हुँदै
‘हिजो नै पैसा जम्मा गर्नु भनेको थियो’, अर्जुनकी दिदी सरिताले भनिन्, ‘१० हजार जम्मा गरियो अरु गर्न सकिएन। कहाँबाट ल्याउनु पैसा।’ कसैले सहयोग गरिदिए हुन्थ्यो भन्छिन्, उनी।
भरतपुरका सामाजिक अभियन्ता तथा राजनीतिक कार्यकर्ता द्रोण सिवाकोटीले फेसबुकमा उनको दर्दनाक तस्विर हालेपछि यो घटना बाहिर आएको हो।
उनीलगायत गाउँलेहरुले अहिले उनको उपचारका लागि चन्दा संकलन शुरु गरेका छन्। सानाे सानाे सहयोग पाए पनि उनको अस्पतालको शुल्क तिर्न सकिने थियो भन्छन्, सिवाकोटी।
तपाईंको ईमेल गोप्य राखिनेछ ।