|

चितवन : चितवन प्रहरीले घरेलु मदिरा बनाउने भट्टीसहित ठूलो परिमाणमा घरेलु मदिरा र त्यसको कच्चापदार्थ बरामद गरी नष्ट गरेको छ। यसक्रममा जिल्लाका विभिन्न ठाउँमा रहेका ३७ वटा भट्टीसमेत भत्काइएको प्रहरीले जनाएको छ।

घरेलु मदिरा नियन्त्रण अभियानमा लागेको प्रहरीले मंगलबार एकै दिन भट्टी भत्काउँदै मदिरा बनाउन प्रयोग गरिने ५ हजार ९३० लिटर कच्चापदार्थ र ६ सय ६५ लिटर तयारी मदिरा बरामद गरी नष्ट गरेको हो।

चितवनको चनौली, खैरहनी, भण्डारा, गीतानगर, भरतपुर, नारायणगढ, बछौली, मुग्लिन र पश्चिम चितवनका विभिन्न क्षेत्रबाट यसरी मदिरा बरामद गरेको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रहरीले वैशाख लागेपछि घरेलु मदिरा नियन्त्रण अभियान चलाएको छ। 

सो क्रममा मदिरा बनाउन प्रयोग हुने ६५ थान भाँडाकुँडासमेत बरामद गरेको छ । 

यसैबीच लागु औषध नियन्त्रण विशेष अभियानअन्तर्गत प्रहरीले भरतपुर १० दुरसञ्चार रोड नजिकै लागु औषधसहित ३२ वर्षका समर क्षेत्रीलाई पक्राउ गरेको छ।

उनलाई आफ्नै कोठाबाट पक्राउ गरी लागु औषध ऐन अन्तरगत मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ। उनीबाट खैरो हेरोइन बरामद गरिएको छ। सात दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.