|

रुपन्देही : उपप्रधानमन्त्री कमल थापाले मधेसी मोर्चालाई चुनावमा सहभागी हुन आह्वान गरेका छन्। ‘यो चुनाव सबै जनताले चाहिरहेका छन्, मधेसका जनताले पनि चुनाव चाहेका छन्, बुटवलमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार बिहान गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका थापाले भने, ‘सबैको चाहना बुझेर मधेसी मोर्चा चुनावमा आउनुपर्छ, म उहाँहरुलाई आह्वान गर्दछु।’

उनले मधेसी मोर्चालाई चुनावमा ल्याउनकै लागि संसद्‍मा संविधान संशोधन प्रस्ताव पेस भएको भन्दै मोर्चा चुनावमा आउने वातावरण बनाउन सरकार तयार रहेको बताए।

‘यदि मोर्चा चुनावमा आउँछ भने चुनाव दुई चरणमा गर्नेबारे पनि सरकारले सोच्न सक्छ, उपप्रधानमन्त्री थापाले भने, ‘मोर्चाले जनताको भावना बुझेर भए पनि चुनावमा सहभागी हुनुपर्छ, अहिले चुनावको विकल्प छैन जसरी भए पनि यो चुनाव हुन्छ।’

मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन सबै प्रयासहरु भए पनि चुनाव नसर्ने उनले बताए। ‘हामीले मोर्चालाई सँगै लिएर जाऊँ, चुनावमा लैजाऊँ भनेर धेरै प्रयास गरेका छौं, उनले भने, ‘उहाँहरुले अत्यन्त कठोर निर्णय गर्नुभएको छ, त्यसमा पुनःविचार गर्न म आग्रह गर्दछु, एकपटक मोर्चाले फेरि सोचोस्।’

राप्रपाका अध्यक्षसमेत रहेका थापाले राप्रपाले राजसंस्था र हिन्दूराष्ट्रको मुद्दालाई स्थापित गराउन चुनावकेन्द्रित अभियान थालेको बताए। निर्वाचन आयोगले राप्रपाको विधानमा रहेको हिन्दूराष्ट्र र राजसंस्था हटाउन गरेको आग्रह न्यायोचित नभएको दाबी गरे। ‘अहिले मुलुकमा साम्यवाद छैन, तर कतिपय पार्टीहरुले साम्यवादको नारा लिएर हिँडिरहेका छन्, विधानमा उल्लेख गरेका छन्, उनी भन्छन्, त्यसैगरी हामीले हिन्दुराष्ट्र र राजसंस्थालाई राखेका हौं, यसबारे संविधानले रोकेकै छैन, यो अधिकार निर्वाचन आयोगलाई छैन।’

कार्यक्रममा उनले निर्वाचन आयोगलाई आफ्नो निर्णय सच्याउनसमेत आग्रह गरे। थापाले चुनावको समयमा दलहरुलाई चिढाउने काम कसैले गर्न नहुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.