|

 विश्वराज पछल्डङ्गया-

    बाँके : बाँकेको कर्णाली भनेर चिनिने राप्तीपारि बघौडा क्षेत्रमा पर्ने नरैनापुर गाउँपालिकामा यतिबेला चुनावी चहलपहल बढेको छ। मतदातालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलहरु गाउँकेन्द्रित भएर घर दैलो कार्यक्रम गर्न थालेपछि गाउँपालिकामा चुनावी चहलपहल बढेको हो।

    स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गएपछि राजनीतिक दलहरुले हरेक दिन कार्यक्रम गर्ने गरेको नरैनापुर गाउँपालिका–६, कोहलाका रामसमुझ यादवले बताए । उनले कहिल्यै नदेखिने राजनीतिक दलहरु अहिले गाउँमा आएर कार्यक्रम गर्न थालेको बताए। राजनीतिक दलले गाउँमा गतिविधि गर्न थालेपछि गाउँमा रौनक  छाएको बताए। ‘स्थानीय तह निर्वाचन घोषणा भएदेखि हरेक दिन कुनै न कुनै दलले कार्यक्रम गरेकै हुन्छन्,’ उनले भने।

    ‘स्थानीय तहमा जनप्रतिनिधि नहुँदा जनताको कुरा सुन्ने र सहयोग गर्ने कोही भएन, गाह्रो पिरोमा समेत बोलिदिने कोही भएनन्,’ यादवले भने।विकासका लागि स्थानीय तहको निर्वाचन आवश्यक भएको नरैनापुर गाउँपालिका–३ का अब्दुल हुसैन खाँले बताए। उनले गाउँमा निर्वाचनको माहोल तातिसकेको समेत बताए। राजनीतिक दलहरुको गतिविधिले मतदातालाई समेत तताएको उनले बताए । ‘महिला, पुरुष, ज्येष्ठ नागरिक र युवालाई निर्वाचनको हावाले छोइसकेको छ,’ उनले भने।

    महिला समूहको बैठक र छलफलमा उम्मेदवारको चर्चा हुने गरेको नरैनापुर गाउँपालिका–६, कोहलाकी मुनादेवी खत्रीले बताइन्। उनले हाम्रोभन्दा राम्रो उम्मेदवारलाई जिताउने सल्लाह हुने गरेको बताइन्।

    राजनीतिक दलहरु गाउँमा आएर उम्मेदवारको खोजी गरिरहेको बताउँदै उनले राजनीतिक दलहरु संगठन विस्तारमा लागेको जानकारी दिइन्। ‘राजनीतिक दलबीच उम्मेदवार खोसाखोस भइरहेको छ, मतदातालाई आफ्नो पक्षमा पार्न सकेसम्मको जोड बल गरिरहेका छन्,’ उनले भनिन्, ‘कहिल्यै नदेखिएका राजनीतिक दलसमेत घरदैलोमा आउन थालेका छन्।’

    निर्वाचनको मिति नजिकिएसँगै स्थानीय महिला पनि उत्साहित भएको नरैनापुर गाउँपालिका–६, दोन्द्राकी ६७ वर्षीया कुसुम कुमारी मौर्यले बताइन्। नेकपा (एमाले) ले नरैनापुर गाउँपालिका–६, कोहलामा आयोजना गरेको कार्यक्रममा भेटिएकी मौर्यले बैठक र भेटघाटमा समेत चुनावको कुरा चल्ने गरेको जानकारी दिइन्। ‘समूहको भेला र बैठकमा समेत निर्वाचनको चर्चा चल्ने गरेको छ, आउजाउ गर्ने क्रममा भेट भएको बेला समेत कसलाई भोट हाल्ने कुरा उठ्छ,’ मौर्यले भनिन् ।

    मत माग्न राजनीतिक दलहरु घर आँगनमा आए पनि निर्वाचनविरोधी दल अहिलेसम्म नआएको नरैनापुर गाउँपालिका–३, बालापुरका अब्दुल्लाह खाँले बताए। उनले राजनीतिक दलहरुले सम्पर्क कार्यालय समेत स्थापना गरिसकेको बताए। ‘राजनीतिक दलहरुको गतिविधिले निर्वाचन हुन्छ भन्ने आशा पलाएको छ,’ उनले भने।

    स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने बताउँदै उनले नरैनापुरका सबै जनताले निर्वाचन चाहेको बताए। उनले एकदुई जनाले निर्वाचन हुन दिन्नौं भनेको आफूले सुनेको बताए। ‘धेरैजसोको भनाइ निर्वाचन हुनुपर्छ भन्ने छ, कसै–कसैले निर्वाचन हुनुहुन्न भन्छन्,’ खाँले भने ।

    नरैनापुर गाउँपालिकामा मधेसी समुदायको बसोबास छ। यहाँ ९५ प्रतिशत मधेसी÷मुस्लिम र ५ प्रतिशत अन्य समुदायको बसोबास रहेको २०६८ सालको जनगणनाले देखाउँछ। स्थानीय तहको निर्वाचनमा बाँकेमा कुल २ लाख ४६ हजार ७८ मतदाता रहेका छन्।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.