गाँजा व्यापारको लेनदेनमा कुरा नमिलेपछि अपरहण भएको खुलासा

|

लहान : सिरहाको लहान नगरपालिका १५ बेतहाबाट प्रहरीले अपरहण मुक्त गराएका भारतीय नागरिक गाँजा व्यापारको लेनदेनमा कुरा नमिलेपछि नेपाल र भारतका सीमावर्ती क्षेत्रबाट गाँजा तस्करी गर्नेहरुको योजनाअनुरुप अपहरणमा परेको खुलेको छ।

छिमेकी मुलुक भारतको बिहार राज्य सुपोल जिल्लाको मौहुवा मझारी ग्राम पञ्चायत २ का रामअशिष यादवका छोरा वर्ष १८ को प्रदीपकुमार यादवलाई गत चैत २४ गते अपराह्न उनकै गाउँ नजिकैको निर्मली बजारबाट अपहरण गरेको खुलेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक (डिएसपी) हीराबहादुर पाण्डेले जानकारी दिए।

किन गरियो अपहरण ?

भारतको मौहुवा मझारीका यादवलाई अपहरण गरेर ११ दिनसम्म ठाउँसारी गर्दैै चुरे जङ्गल क्षेत्र पार गरेपछि पुगिने सिरहाको लहान १९ बेतहामा बन्धक गरेर राखेको अवस्थामा पक्राउ परेकाहरुको प्रारम्भिक बयानको आधारमा उनलाई गाउँ नजिकैको निर्मलीबाट ‘बजार घुम्न जाउँ’ भन्दै दुई जना छिमेकीले अपहरण गरेका हुन्।

निर्मलीमा आएपछि दुई जना छिमेकीले स्कर्पियो जिप भाडा गरेर भारतको सीमावर्ती बजार लौकहाको मरिक टोलसम्म ल्याएका थिए। त्यहाँबाट नेपालको सीमावर्ती क्षेत्रमा गाँजा कारोबार गर्नेहरुले यादवलाई मोटरसाइकलमा राखेर लहान बजारदेखि पूर्व पर्ने बलान नदीको पश्चिमी किनारमा रहेको सामुदायिक वनभित्रको खाली कटेरोमा तीन दिनसम्म राखेर फेरि लहान १५ को ढोढना पुर्‍याएका थिए। त्यहाँ एकदिन राखेर पुनः बेतहाका रमेशसँग सम्पर्क गरी चार दिनअघि मात्र यादवलाई त्यहाँ पुर्‍याइएको थियो।

पक्राउ परेकाहरुको बयानको आधारमा अपहरित यादवका बाबु रामअशिषसँग नेपाली गाँजा कारोबारीहरुले पछिल्लो करिब ६ महिनाको अवधिमा पटक–पटक सीमा कटाएर पठाएको गाँजाको ५ लाख १० हजार भारतीय रुपैयाँ बक्यौता रहेको थियो तर, उनले ‘४ लाख १० हजार भारतीय रुपैयाँ मात्र छ, दिन्छु’ भन्दै आलटाल गरेकाले अपहरण गरिएको हो।

कसरी सफल भयो प्रहरी ? 

भारतको मौहुवास्थित घरमा बसिरहेका यादवलाई निर्मली बजारबाट अपहरण गरेर नेपाल ल्याएपछि नेपालका सीमावर्ती क्षेत्रमा गाँजा कारोबार गर्ने तस्करहरुले उनका बाबु रामअशिषसँग ‘मोवाइलमा फोन गरेर १२ लाख रुपैयाँ फिरौती माग गरेका थिए। स्थानीयस्तरमा राम्रै हैसियत बनाएका रामअशिषले पनि ‘हुन्छ’ भन्दै ६० हजारका सक्कली र बाँकी नक्कली नोटको बण्डल बनाएर भारतीय प्रहरीलाई समेत खबर गरी रकम बुझाउन गएका थिए।

फिरौती रकम बुझ्न नेपालबाट गएका गाँजा व्यापारी किसुनदेव यादव प्रहरी आएको सुइँको पाएलगत्तै भाग्न भ्याए भने उनीसँगै गएका सिरहाको तरेगना गोविन्दपुरका वर्ष ४० का अलिउद्दिन अन्सारी मियाँ, धनगढी माई नगरपालिका १३ का निर्भय यादवका छोरा वर्ष ४० का रामसागर यादव भने भारतको ललमनिया प्रहरीको फन्दामा परेपछि अपहरणको पोल खुलेको हो।

त्यसपछि मोवाइलको ट्रेस र कल डिटेलको आधारमा अनुसन्धान गर्दै जाँदा बेतहासम्म पुगेको यकिन भएपछि सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजबाट आएका नेपाल प्रहरीका चार, इलाका प्रहरी कार्यालय लहानबाट पाँच र सशस्त्र प्रहरी बलका दुई जनासहित ११ जना प्रहरीको टोलीले सोमबार राति ९ बजेतिर स्थानीय ब्रिजलाल तामाङका छोरा रमेश तामाङको घरबाट यादवलाई अपहरण मुक्त गरिएको हो।

चार पक्राउ परे आठ फरार छन्

प्रहरीले बेतहाबाट यादवलाई बन्धक बनाउन घर उपलब्ध गराएका रमेश, हतियारसहित कुर्न बसेका सखुवा नन्कारकट्टी गाउँपालिका ३ पोर्ताहाका वर्ष ३६ का किसुनदेव यादवलाई पक्राउ गरिएको डिएसपी पाण्डेले बताए। त्यसपछि प्रहरीले सप्तरीको राजविराजबाट विष्णुपुर गाउँपालिका ६ का वर्ष २२ का दिपु भनिने दिपनारायण यादव र सिरहाको धनगढीमाई नगरपालिका १० जिरोमाइलबाट वर्ष ३५ का जयराम यादवलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार यादवको अपहरणको योजना बनाउने, अपहरण गरेर बेताहासम्म पुर्‍याउने र फिरौती रकम माग्न संलग्नमध्ये आठ जना फरार रहेकाले खोजी भइरहेको जनाएको छ।

प्रहरीले यादवको अपहरणमा संलग्न रहेकाविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दाअन्तरगत मंगलबार नै सिरहा जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ भने फरार रहेकाहरुको खोजी तीव्र बनाइएको जनाएको छ।

गाँजा तस्करीको पर्दाफास हुँदै  

प्रतिबन्धित लागुऔषध गाँजाको कारोबारमा संलग्न रहेका तस्करहरुबीच रकम लेनदनेको कुरा नमिलेपछि अपहरणमा संलग्न भएको पुष्टि भएपछि प्रहरीले गिरोहका केही सदस्यहरुलाई पक्राउ नै गरिसकेको छ। कहिलेकाहीँ गाँजासहित पक्राउ पर्ने व्यक्तिहरु भरिया मात्र रहेको, मुख्य व्यापारीसम्म पुग्नै नसक्ने आरोप खेपिरहेको प्रहरीले यो पटक भने गाँजा कारोबारमा संलग्न मुख्य व्यक्तिहरु नै संलग्न रहेको खुलेपछि गिरोहको पर्दाफास हुने जनाएको छ।

प्रहरीले अपहरणमा संलग्न रहेकामध्ये चार जनालाई पक्राउ गरी मंगलबार सप्तरीको राजविराजमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरी पुनः लहान प्रहरीलाई बुझाएको छ भने अपहरण मुक्त गराइएका प्रदिपलाई मंगलबार नै सम्बन्धित परिवारलाई जिम्मा लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.