चुनावी चहलपहल

|

काठमाडौं : बागबजारको 'साकेला आर्ट' मा एक महिला झन्डा सिउँदै छिन्। उनी एउटै धागोमा माओवादी केन्द्रको चुनाव चिह्न 'हँसिया हथौडा' अंकित झन्डा र एमालेको चुनाव चिह्न 'सूर्य' भएको झन्डा सिउँदै छन्। उनी हुन् अम्बिका राई।

'साकेला आर्ट' को साँघुरो कोठामा राता सेता कपडा छरिएका छन्। सेता कपडामा रातो र रातो कपडामा सेतो रङले कतै 'सूर्य' त कतै 'गोलाकार भित्रको हँसिया हथौडा' बनाइएको छ। त्यस्तै केही सेता कपडामा हरियो पेन्टले नेपाली कांग्रेसको चुनाव चिह्न 'रुख' रंगिएका छ। 

व्यस्त बागबजारमा पसल बाहिर यस्ता झन्डा झुन्ड्याएको धेरैतिर देख्न सकिन्छ। बाहिर एकअर्काको चर्को आलोचना गर्ने राजनीतिक दलहरुका प्रतीक चुनाव चिह्न भएका झन्डा एउटै डन्डा वा डोरीमा मिलाएर राखेका देख्न सकिन्छ। यिनै दृश्य पछ्याउदै बुधबार बागबजारका गल्ली छिर्दा भेटिएको थियो साकेला आर्ट।

भित्तामा सजाएर राखेका प्रसंशा पत्र र फ्रेममा सजाएर राखेका समाचारका कटिङ, विभिन्न नेताका पेन्टिङ भएको साँघुरो कोठामा चुनाव लागेको झल्को दिनेगरी झन्डा तयार पारिँदै थियो। अम्बिका भन्छिन्, 'चुनाव आएकै हो कि जस्तो छ, बिस्तारै काम आउँदै छ', उनले भनिन्, 'चुनावका बेला अलि बढी व्यस्तता हुन्छ।'

साकेला आर्टका प्रमुख चन्द्र रानाहँछाले थपे, 'चुनावको सुरुवात जस्तो भएको छ। झन्डा बनाइमाग्ने आइरहेका छन्। विगतका चुनावमा जस्तो त छैन। पहिले त पार्टी कार्यकर्ता पनि आउँथे, आत्तिन्थे (ढिलो हुन्छ भनेर)। अब अलि व्यस्तता बढ्दै जाला।' कवि समेत रहेका रानाहँछा चुनाव हुनेमा विश्वस्त देखिए। उनले भने, 'चुनाव त हुन्छ नै। जिम्मेवारी पाएका निकायले काम पनि गरिरहेकै छन्।' १५ देखि १५० सम्मको झन्डा तयार पार्ने उनले विभिन्न पार्टीका प्रचारप्रसार सामग्री धमाधम तयार पार्दै थिए।

दुई छेउमा रातो र बीचमा सेतो कपडामा सेतो भागमा रातो रङले चार तारा बनाउँदै थिए इन्क्रेडिबल स्केच मिडियाका निरज श्रेष्ठ। नेपाली कांग्रेसको चारतारे झन्डा तयार पार्दै गरेका श्रेष्ठले २-३ दिनमै २ हजार तयार पार्ने भनेर आधा रकम पेश्की लिइसकेका छन्। जसका लागि ४ जनाले दिनभर काम गरिरहेको उनले बताए।

श्रेष्ठलाई एमालेले १० हजार झन्डको अर्डर दिएको थियो। जसमध्ये केही लगिसकेको र अरु तयार पार्नै बाँकी रहेको उनले बताए। उनको कम्पनीले एमालेको सूर्य अंकित ब्याच पनि तयार पारेको छ। त्यस्तै टोपी र टिसर्ट बनाउने काम आएको छ। यी सबै चुनावका लागि भएको उनले बताए। उनले भने, 'चुनाव सर्छ जस्तो छ भन्छन्, तयारी चाहिँ गरिराखौं न भनेर छाप्न दिएका छन्।'

चुनावी सामग्री तयार पार्नका लागि अर्डर दिनेमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र अगाडि रहेको आर्ट इन्टरनेसनलका चन्द्रप्रसाद चौधरीले बताए। उनले भने, 'राप्रपाले पनि कुरा गरेको छ, साना दलहरु पनि आइरहेका छन् तर अर्डर नै दिनेमा भने तीन ठूला पार्टीहरु नै छन्।'

फ्लेक्स, पर्चा-पम्पलेट भने छाप्न सुरु भएका छैनन्। बागबजारका छापाखाना चहार्दा विद्यालयका भित्तेपात्रो, विद्यालयका बिल, पुस्तक छापिइरहेका थिए। चुनावी प्रचारप्रसार सामग्री छाप्न सुरु भइनसकेको छापाखाना सञ्चालकहरुको भनाइ थियो। राजनीतिक दलहरुले राजधानीका सबै स्थानीय तहमा उम्मेदवार तय गरेपछि पर्चा-पम्पलेटको अर्डर आउने भनेर तयारी गरिरहेको उनीहरुले बताए।

'कुरा भइरहेको छ तर छाप्नैका लागि अर्डर भने आइसकेको छैन', नवज्योती प्रिन्टिङ प्रेसका प्रकाश सुवेदीले भने, 'उम्मेदवार घोषणा नभएर होला, सम्भावित उम्मेदवार र उनीहरुका मान्छे बुझ्दै जादै गर्देछन्। उम्मेदवारको प्रचारप्रसार सामग्री, स्वस्तिक छाप सहितको मतपत्र छाप्न कति लाग्छ भन्दै बुझ्न आउँछन्, १-२ दिनमा आउँछौ भन्दै जान्छन्।'

सुवेदीले भने, 'गाउँबाट मेरो पक्षमा प्रचार गर्न आइदिनु भनेर फोन गरेका गर्‍यै छन्, राजधानीमा भने चुनाव स्लो मोसनमा लाग्दैछ।' उनले राजधानीबाहिर जति गतिमा चुनाव लागेको छ त्यसको तुलनामा सुस्त रुपमा चुनाव लाग्दै गरेको बताए।

राजधानीका विभिन्न ठाउँमा निर्वाचन आयोगले मतदानविधि सिकाउन र निर्वाचनमा भाग लिन अपिल गरेका प्रचारप्रसार सामग्री राखेको छ। राजनीतिक दलहरु भित्रभित्रै उम्मेदवार तय गर्ने अन्तिम चरणमा पुगेका छन्।  उनीहरु पनि बिस्तारै चुनावी प्रचारप्रसारको मैदानमा उत्रिदै छन्।

हेर्नुस् थप फोटोहरु :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.