|

मलाई होस्टेलमा बोर्डर्स गरेर जानुभएका बुबाआमाको स्पष्ट छवि म कल्पना गर्न सक्दिनँ तर बोर्डर्स भएको स्कुलबाट बाल आश्रममा पुर्‍याइने दिनको नमीठो सम्झना भने अझै उस्तै छ मसँग। त्यस बेला मलाई पढाउने मिसले भनेकी थिइन्, ‘तिम्रा बुबाआमा विद्यालयमा नआएको र तिम्रो फिस नबुझाएको एक वर्ष भइसकेछ। तिमीलाई अब विद्यालयले निःशुल्क राख्न नसकेका कारण बाल आश्रममा लगिँदै छ। तिम्रो बुबाको लेख छापिएको यो पत्रिका सुरक्षित राख्नू। मैले भनेर हुने भए त तिमीलाई म यही विद्यालयमा राख्थेँ तर मेरो केही चल्दैन। तिमी बाल आश्रममा गए पनि राम्ररी पढ्नू, पढाइ राम्रो भयो भने ठूलो मान्छे बन्न सजिलो हुन्छ।’

बोर्डिङको होस्टेलमा आमाबाबाको अत्यासले म खुब छट्पटिन्थेँ। पछिपछि त मिस नै आमा जस्तो लाग्थ्यो मलाई। बाल आश्रमको जीवन सुरु भएपछि भने क्षणिक बात्सल्यले भरिएका सबै महिला आमा र सबै पुरुषलाई बाबा भन्न सिकाइयो। मेरो वास्तविक बुबाआमाका बारेमा कसैले बताएनन्। बाल आश्रममा आआफ्ना आमाबुबालाई बिर्सन सिकाइन्थ्यो। यसर्थ आमाबुबाका बारेमा म चाहेर पनि कुरा गर्न सक्दिनथेँ। जब मैले बाल आश्रम छाडेँ, त्यसपछि बाआमालाई खूब खोजँे। पत्ता लागेन। जुन पत्रिकामा बुबाले लेख लेख्नुहुन्थ्यो, त्यसैको कार्यालयमा पुगेँ।

यस्तो सुन्दर ठाउँमा बसेर म कथा लेख्ने तयारीमा थिएँ। जहाँ ईश्वर हुन्छन्, त्यहाँबाट शक्ति प्राप्त हुन्छ। त्यो शक्तिले मान्छेलाई सफल बनाउँछ भन्ने कुराबाट प्रभावित थिएँ म।

त्यस बेलाका कर्मचारीहरू फेरिइसकेछन्। रेकर्ड खोजेर सम्पादकले द्वन्द्वकालीन समयमा बेपत्ता भएको बताए। म मानवअधिकार, प्रहरी सबै ठाउँमा पुगेँ तर द्वन्द्वकालीन घटना राजनीतिक भएको र त्यसले नयाँ मोड लिइसकेकाले कोट्याउनुको कुनै औचित्य नभएको बताएपछि मैले बाआमाको खोजी गर्न छाडिदिएको थिएँ।

बाआमाको मप्रतिको सपना के थियो? मैले बुझ्नै पाइनँ। मभित्र किशोरावस्थाले प्रवेश गरेपछि बाल आश्रममा फिल्म सुटिङ गर्न आउने रङ्गकर्मीहरूका आँखामा पर्न खोजे तर समयले मलाई पर्दापछाडिको कलाकार अर्थात् फिल्मको पटकथा लेखक बनायो। 

कथा लेखनका लागि मलाई एकान्त परिवेश चाहिन्थ्यो। एकान्त खोज्दै म देशका विभिन्न ठाउँमा पुग्थेँ। मैले देशका विभिन्न ठाउँमा पुगेर त्यहाँको भोगाइ लेखेको छु। यस पटक पनि निर्देशकलाई समयको मागअनुसारको कथा चाहिएको थियो। निर्देशक अग्र्यानिक खालका कथा खोज्थे। म त्यस्तै कथा लेख्न केही दिनका लागि नवलपरासीको त्रिवेणीधाम आएको थिएँ। 

म बस्ने शहर कति प्रदूषित छ? वागमतीको दुर्गन्धले नदीछेउ उभिन पनि गाह्रो हुन्छ तर त्रिवेणीमा म बसेको ठाउँबाट देखिने पानी क्या निर्मल! नदीको वेगसँगै मेरा आँखा माथिबाट तलसम्म पुग्छन्। कति सुन्दर ठाउँ! कति मनमोहक दृश्य! सोना–तमसा र सप्तगण्डकी नदीहरूको सम्मिश्रणबाट बनेको प्रसिद्ध त्रिवेणी धाम। लाखौँको आस्थाको केन्द्र। त्रिवेणी धाम स्वर्ग जस्तै लाग्थ्यो, मलाई। प्रसिद्ध वाल्मीकि ऋषिको आश्रम। सीता पाताल प्रवेश गरेको स्थल। अमृत कुवा। वाल्मीकि ऋषिको हवनकुण्ड। लवकुशले घोडा बाँधेको ढुङ्गा रहेको ठाउँ।

यस्तो सुन्दर ठाउँमा बसेर म कथा लेख्ने तयारीमा थिएँ। जहाँ ईश्वर हुन्छन्, त्यहाँबाट शक्ति प्राप्त हुन्छ। त्यो शक्तिले मान्छेलाई सफल बनाउँछ भन्ने कुराबाट प्रभावित थिएँ म। लाग्थ्यो, केही दिनमै म राम्रो कथा लेख्नेछु। मैले लेखेको कथा म काम गर्ने फिल्म कम्पनीको निर्देशकलाई मनपर्नेछ। 

त्रिवेणीमा म बस्ने स्थान नजिकै अतिसुन्दर बगैँचा थियो। बगैँचामा थरीथरीका रङ्गीचङ्गी फूलहरू फुलेका थिए। बगैँचाका बीचमा फलफूलका बोटहरू पनि थिए। ठीक त्यसैको अगाडिपट्टि पर्खालमा पेन्ट गरेर ठूल्ठूला अक्षरमा लेखिएको थियो, ‘सुखशान्ति वृद्धाश्रम।’ नचाहेर पनि म उक्त आश्रममा बस्ने वृद्धवृद्धालाई एकतर्फी रूपमा चिन्न थालिसकेको थिएँ।

जो बोल्न र सुन्न पनि सक्दैन, उसले मेरो हात समातेर मलाई किन एकान्तमा लगेको होला? के बताउन खोजेको होला उसले? उसको जीवनको कथाव्यथा कस्तो होला

ती वृद्धहरूलाई टाढैबाट देख्दा पनि उनीहरूको जीवनदर्शन बुझूँ जस्तो लाग्थ्यो। यिनीहरूका सन्तान होलान् कि नहोलान्? के यिनीहरू पनि म जस्तै टुहुरा होलान्? वा मेरा बाआमा पनि कतै यस्तै कुनै वृद्धाश्रममै त छैनन्? यी वृद्धवृद्धालाई आफ्नाहरूको कति माया लाग्दो हो? यिनीहरू सन्तानको पीडाले बाँचिरहेछन् या खुसीले? नबताए पनि यिनीहरू साह्रै दुःखी छन् होला तर आफूभित्र करोडौँ दुःख लुकाएर कसरी खुसी देखिन सकेका होलान्? के यिनीहरू मेरो कथाका पात्र बन्न सक्दैनन्? म यस्तै सोच्थेँ। 

वृद्धहरूसँग कुरा गरूँ भनी एक पटक सुखशान्ति वृद्धाश्रमको मूल ढोकामा पुगेँ तर भित्र छिर्न सकिनँ। यद्यपि, त्यहाँका वृद्धहरूले नै मेरो सोधिखोजी गर्दै भने, ‘बाबू, कसलाई भेट्न आयौ? तिम्रो को बस्नुहुन्छ यहाँ?’ 

म के भनूँ? पृथ्वीको अतिसुन्दर ठाउँ यो। यो ठाउँमा बस्ने साक्षात् ईश्वरलाई भेट्न आएको हुँ भनूँ वा मेरो लेखनमा ईश्वरीय शक्ति थप्न आएको भनूँ वा आश्रममा बस्ने सबै वृद्धवृद्धा मेरो बाआमा हुन् भनूँ? वास्तविकतालाई लुकाएर काल्पनिक उत्तर दिइरहेँ तर बिस्तारै–बिस्तारै आश्रममा रहेका वृद्धवृद्धासँग म अचम्मले नजिकिएँ, जसले गर्दा मलाई वृद्धवृद्धाका बारेमा गहिरिएर बुझ्ने अभिलाषा जाग्यो।

एक दिन वृद्धाश्रममा निकै खुसीको होहल्ला गुन्जियो। कारण बुझ्न चाहेर त्यहाँ पुगिहालेँ। भैरहवाबाट आएको धनाढ्य टोलीले विभिन्न खानेकुरा, लत्ताकपडा आदि वितरण गरिरहेको थियो। गहुँगोरो वर्णको, दाह्री र जुँगाको तालमेल नमिलेको, आधा तालु खुइलिएको तर सफा कपडा लगाएको ७० वर्ष हाराहारीमा रहेका वृद्ध त्यहाँ उभिएका थिए, जसलाई मैले यसअघि देखेको थिइनँ। सायद म नै वृद्धाश्रमका सबै कोठामा नपुगेको भएर होला।

हेर्दै दार्शनिक जस्ता ती वृद्धसँग मेरा आँखा के जुधेका थिए, उनले मेरो हात समातेर आफ्नो कोठातिर लगे। उनले मसँग केही सोध्न खोज्दै थिए तर केही बोलेनन्, केही बताएनन्। मैले निकै सरल रूपले आफ्नो परिचय दिएँ। अरू वृद्धवृद्धा भैरहवाको टोलीसँग रमाइरहेका थिए तर यिनी किन त्यो खुसीमा सामेल नभएका? म बुझ्न चाहिरहेको थिएँ तर वृद्ध मौन थिए। उनी मेरा हरेक शब्दलाई ध्यान दिएर सुनिरहेका थिए तर कुनै प्रतिक्रिया दिँदैनथे। मेरो कुराले उनको हाउभाउमा पनि कुनै परिवर्तन देखा पर्दैनथ्यो। त्यहाँ रहेका केही वृद्धहरू हामी बसेको ठाउँमा आइपुगे। त्यसमध्येका एक वृद्धले भने-

‘के सुनाइरहेछौ नानी त्यसलाई? हामीलाई पनि सुनाऊ न! हामी कम्तीमा सुन्न र बोल्न त सक्छौँ। यसले त सुन्न र बोल्न सक्दैन।’

ती वृद्धका शब्दले मेरो मस्तिष्कमा गहिरो प्रभाव पर्‍यो। जो बोल्न र सुन्न पनि सक्दैन, उसले मेरो हात समातेर मलाई किन एकान्तमा लगेको होला? के बताउन खोजेको होला उसले? उसको जीवनको कथाव्यथा कस्तो होला? म आफ्नो उद्देश्य बिर्सिएर ती वृद्धका बारेमा मनमा उठेका मनोगत प्रश्नहरूको उत्तर खोजिरहेको थिएँ तर उसका प्रत्येक कुराले मभित्र थप जिज्ञासाहरू मात्र उत्पन्न गरिदिन्थ्यो।

एक दिन ती वृद्धको जनैमा बाँधिएको साँचो देखेपछि त्यसले मेरा मनमा एकै पटक धेरै प्रश्न जन्मायो। मैले उनका बारेमा बुझ्न चाहेँ। त्यस वृद्धाश्रममा उनको कुनै बाकस वा दराज रहे, नरहेको सोधेँ। रहेनछ। उनी त बागलुङमा अचेत अवस्थामा भेटिएका रहेछन्। सुखशान्ति वृद्धाश्रमलाई निरन्तर आर्थिक सहयोग प्रदान गर्ने उद्योगी उमाकान्तले यी वृद्धलाई पोखरा ल्याई उपचार गर्दा १३ दिनपछि मात्र यिनको होस खुलेको रहेछ।

कसैले नचिन्ने उनी अनि कसैलाई नचिन्ने उनका बारेमा जानकारी पत्ता लगाउन रेडियो, टेलिभिजन र पत्रपत्रिकामा तथा प्रहरी प्रशासनमा समेत सूचना दिइएको रहेछ। उनका परिवार र इष्टमित्रहरूका बारेमा केही जानकारी प्राप्त नभएकाले एक दशकभन्दा बढी समयदेखि उनलाई यही वृद्धाश्रममै राखिएको जानकरी पाएँ। झट्ट हेर्दा मीठो बोल्लान् र रमाइला कुरा गर्लान् जस्तो देखिए पनि उनले बोल्न र सुन्नसमेत नसकेको थाहा पाएपछि म बिना अर्थ उनैको कल्पनामा तरङ्गित भएको थिएँ। 

मेरो त्रिवेणीको निर्धारित बसाइ सकिएको थियो। म काम गर्ने फिल्म कम्पनी र त्यसमा आवद्ध साथीभाइहरू मैले नयाँ कथा लेख्ने कुरामा विश्वस्त थिए। डाइरेक्टरले हरेक दिन फोनमा के कति लेख्नुभयो भनी खोजिनिती गरिरहन्थे। म भने आफ्नो काम बिर्सिएर ती वृद्धको जीवन अध्ययनमा अचम्मले समर्पित भएको थिएँ। 

वृद्धाश्रमको स्वीकृति प्राप्त गरी ती वृद्धलाई लिएर म उनका आफन्तको खोजीका लागि बागलुङ जाने निर्णयमा पुगेको थिएँ। कानुनी प्रावधानका कारण मैले ती वृद्धलाई लिएर जान नपाउने रहेछु तर प्रहरीको सहयोगमा केही दिनका लागि घुमाउन लैजाने र एक हप्ताभित्र पुनः सुखशान्ति वृद्धाश्रममै बुझाउने लिखित सहमतिअनुसार मैले ती वृद्धको जिम्मा लिएको थिएँ।

त्यसपछि म वृद्धलाई लिएर नारायणघाट, मुग्लिन, पोखरा हुँदै बागलुङ पुगेँ। बागलुङ पुगुन्जेल उनको हाउभाउमा भएको परिवर्तन पनि पढेँ।

बागलुङ बजारभरि सोधखोज गरेँ तर उनलाई चिन्ने कोही पनि भेटिएनन्। बागलुङको प्रहरी प्रशासनमा मात्र होइन, बागलुङ बजारका सबै विद्यालय, पुस्तकालय, नगरपालिका, चिया पसल तरकारी बजार, बसपार्क, खेल मैदान आदि सबै ठाउँमा उनलाई लिएर पुगेँ। उनलाई चिन्ने व्यक्ति भेट्न मुस्किल पर्‍यो। उनका आफन्तको खोजी कार्यमा असफल भएरहेको कुराले मलाई बारम्बार चिन्तित बनाइरह्यो। बागलुङमा उनका आफन्तजन कोही पनि नभेटिएपछि म निराश भई उनलाई लिएर फर्कने निर्णयमा पुगेँ।

बागलुङबाट फर्कंदा कुश्मा, पातीचौर, ढिकुरपोखरी, हेम्जा, पोखरा, स्याङ्जा, वालिङ, गल्याङ आदि मुख्यमुख्य ठाउँमा झरेर म उनलाई चिनेजानेका कोही व्यक्ति भेटिन्छन् कि भनेर सोधखोज गर्थें तर मेरा सबै प्रयास विफल हुँदै गएका थिए। 

फिल्म कम्पनीका निर्देशकले जिम्मेवारी पूरा नगरेकामा गुनासो गरिरहेका थिए मसँग। साथीहरू उस्तै गुनासो गर्थे। निर्देशक र साथीहरूको गुनासो सुन्नुभन्दा फोन नै नउठाऊँ जस्तो लाग्थ्यो मलाई। त्यसैले होला, मेरा साथीहरू मलाई खोज्दै पटक पटक निर्देशककै अफिसमा पुगेछन्। मसँग सम्पर्क हुन नसकेकोमा साथीहरू चिन्तित हुनु स्वाभाविक थियो। म्यासेज लेखेरसमेत निर्देशकले गुनासो पठाउँथे। म पढ्थेँ तर उत्तर फर्काउँन्नथेँ। 

केही रहस्य त पक्कै छ यो ठाउँसँग यी वृद्धको, तर बुझ्नै सकिएन। मैले कापी–कलम दिएर लेख्छन् भनी लेख्न लगाएँ। त्यसमा पनि म असफल भएँ।

सबै जिम्मेवारी बिर्सिएर वृद्धको आफन्त खोजीमा थिएँ म। फर्कने क्रममा सुखशान्ति वृद्धाश्रमबाट आएको टेलिफोनबाट थाहा पाएँ– मेरा साथीहरू र निर्देशक मलाई खोज्दै नवलपरासी पो आइपुगेका रहेछन्। मैले स्याङ्जा हुँदै आउँदै छु भनेँ। निर्देशक आफ्नै कामले पाल्पासम्म आउने र त्यहाँ हामी भेटिएर वृद्धलाई त्रिवेणी पुर्‍याई काठमाडौँ फर्किने कुरा भयो। साथीहरूसँग पनि फोनमा धेरैपछि कुरा गरेँ, मैले नबताए पनि कुरा स्पष्ट थियो। चिन्नु न जान्नुको मान्छेलाई लिएर उसको आफन्त खोज्न हिँडेको बुझेपछि मलाई पागलसमेत भन्न पछि परेनन् साथीहरू। 

जब हामी चढेको बसले राम्दीको पुल क्रस गर्न थाल्यो, ती वृद्ध एकाएक चिच्याउन थाले। जब बस रोकियो, ती वृद्ध बसबाट ओर्लिएर कालीगण्डकीतिर दौडिए। म पनि हतार हतार उनैको पछि दगुर्दासमेत उनलाई भेट्टाउन सकिनँ। उनी नदीको किनारमा पुगेर कुनै पागलझैँ अस्पष्ट शब्दहरू निकाल्दै रोइरहेका थिए।

त्यसभन्दा अलिमाथि एउटा लास जलिरहेको थियो। त्यहाँ उपस्थित मलामीहरूले ती वृद्धका क्रियाकलापलाई घोरिएर हेर्दा मलाई निकै अप्ठ्यारो अनुभूति भइरहेको थियो। उनको रुवाइ सुनेर केही मलामीले हामी दुवैलाई गोलबन्दीमा पारिसकेका थिए। उनीहरू मसँग सोध्दै थिए, ‘के भयो उहाँलाई? किन रोइरहनुभएको छ?’ 

म पनि यही प्रश्नको उत्तर खोजिरहेको थिएँ। यसर्थ म त्यति बेला केही पनि बोल्नै सकिनँ र निरुत्तर रहिरहेँ। उनले त्यहाँ नजिकैको बालुवा पटक पटक कालीगण्डकी नदीमा फ्याँके। पारिपट्टिको मन्दिरलाई हेर्दै नमस्कार गरे। अनवरत आँसु झारिरहे तर म भने उनका क्रियाकलापको वास्तविकता बुझ्न नसकेर छट्पटिइरहेँ।

मैले केही कुरा बुझ्नै सकिनँ। वृद्ध धेरै बेरसम्म रोइरहे। मैले कैयन् प्रश्न सोधेँ तर उनले इसाराले पनि केही बताएनन्। अरू मान्छेहरूले चासो देखाउँदा रिस भरिएर आउँथ्यो। बडो कष्टपूर्ण ढङ्गले केही समयपछि उनलाई कालीगण्डकीको किनाराबाट माथि राम्दी बजारमा पुर्‍याएँ र उनका बारेमा सोधखोज गरेँ। त्यस दिन कोही कसैले चिन्न सक्छन् कि भनी राम्दी बजारमै बसेँ। अर्को दिनसम्म पनि उनलाई चिन्ने मान्छे भेटिएनन्। उनका आँखा रसाउन छाडेका थिएनन्। 

केही रहस्य त पक्कै छ यो ठाउँसँग यी वृद्धको, तर बुझ्नै सकिएन। मैले कापी–कलम दिएर लेख्छन् भनी लेख्न लगाएँ। त्यसमा पनि म असफल भएँ।

वास्तविकताको अनभिज्ञताले रन्थनिएर वृद्धलाई लिएर पुनः फर्कने निर्णयमा पुगेँ। पीपलडाँडा, अगाहखोला र आर्यभञ्ज्याङमा पनि गाडीबाट झरेर सोधेँ तर उनी त्यहाँ पनि अपरिचित नै ठहरिए। वृद्धको अत्तोपत्तो नलागेकोमा म निकै चिन्तित थिएँ। बस ससाना चोकमा पनि रोकिएको थियो तर मलाई बसबाट झरेर उनको आफन्त खोज्न झ्याउ लाग्न थालिसकेको थियो।

बस बर्तुङ आइपुगेर रोकियो। उनका आफन्त भेटिने आशा मरिसकेको थियो तर पनि बर्तुङमा झरेर उनका बारेमा सोधखोज गर्दै थिएँ। त्यसै बेला एउटाले नमस्कार गर्दै गएको र ती वृद्धले नमस्कार फर्काएको दृश्यले मलाई अद्भुत रूपमा आश्चर्यचकित बनायो। उक्त मानिसलाई बोलाएर सोधेँ-

‘तपाईं उहाँलाई चिन्नुहुन्छ?’ 

उसले जवाफ दियो, ‘मैले उहाँलाई पाल्पा, तानसेनको पब्लिक उच्चमाविमा वर्षौं पहिला भेटेको थिएँ तर उहाँसँग गहिरो चिनाजानी भने छैन। गुरु भएका कारण उहाँलाई भेट्दा नमस्कार गरेको हुँ।’

ती मान्छे मलाई साक्षात् देउता जस्तै लाग्यो र उनलाई त्यति जानकारी दिएकामा धन्यवाद दिएँ। म ती वृद्धलाई लिएर हतार हतार तानसेन जाने बसमा चढेँ। बाटोमा पर्ने ठाउँहरूले उनको अनुहारमा विचित्रको परिवर्तन ल्याएको हो कि उनी छट्पटिएका हुन्? मैले बुझ्न सकिरहेको थिइनँ। तानसेनको बसपार्कमा झरेर लहरे पीपलतर्फ उकालो लाग्दै गर्दा केही मान्छेले उनलाई हेरेर अचम्मको भाव देखाए।

अब उनका आफन्त भेटिए वा नभेटिए पनि उनलाई चिन्ने मान्छेहरू भेटिएकोमा म खुसी भएको थिएँ। मेरा साथीहरू तथा निर्देशक पनि मेरो चिन्ताले गर्दा मलाई खोज्दै पाल्पा आएकाले पनि होला, खुसी अझ बढेको थियो। अब त ती वृद्धको आफन्त खोज्न मसँग मेरा साथीहरू पनि सँगै थिए।

ती वृद्ध तानसेनमा परिचित रहेछन्। पत्रिका पसलछेउमा भेटिनेहरूमध्ये अधिकांशले उनलाई ‘विश्वनाथ गुरु’ भनी सम्बोधन गरिरहेका थिए तर उनमा बोल्ने र सुन्ने शक्ति हराएको कुरामा सबै अनभिज्ञ थिए। मैले उनी वृद्धाश्रममा भेटिएको र उनको जीवनबारे बुझ्ने तीव्र इच्छा उत्पन्न भएका कारण परिचय खोज्दै विभिन्न ठाउँमा पुग्दा यहाँ आइपुगेको बताएँ। त्यसपछि मैले त्यहाँ उपस्थितहरूसँग उनको वास्तविक परिचय सोधेँ। घर सोधेँ। 

तत्काल एक वयस्कले अगाडि सर्दै बताए-

‘उहाँ हाम्रो गुरु विश्वनाथ पाण्डेय हो। उहाँ पहिले पब्लिक उच्चमाविका प्राचार्य हुनुहुन्थ्यो। उहाँका छोरा–बुहारी र नाति काठमाडौँमा बस्थे। उहाँ र म्याडम भने तानसेनमै बस्नुहुन्थ्यो। सरका छोराले तत्कालीन सशस्त्र विद्रोही समूहको उद्देश्यलाई समर्थन गर्दै पत्रपत्रिकामा लेख लेख्थे। सर कुनै पनि पार्टीको सक्रिय राजनीतिमा लाग्नुभएको हामीलाई थाहा छैन। एक पटक स्कुलमा सशस्त्र विद्रोही समूहका युवाहरू आई परेड खेलेछन्। त्यही विषयलाई लिएर सेनाले सरलाई सोधपुछका लागि विद्यालयबाटै लिएर गएका थिए तर पछि छाडिदिएका हुन्।’

। ती वृद्ध घरको माथिल्लो तलामा पुगे। हामी पनि तिनकै पछि लाग्यौँ। उनले आफ्नै जनैमा भिरेको साँचोले बाकसको ताला खोले। त्यहाँ राखिएको एक महिलाको फ्रेम लगाएको फोटो भेटेपछि उनी भक्कानिएर आँसु चुहाउन थाले। अरू मानिस ‘म्याडमको फोटो’ भन्दै थिए।

अर्कोले थप्यो-

‘सशस्त्र विद्रोहका कारण जो कोहीलाई पनि सुराकी भनेर द्वन्द्वरत दुवै पक्षले यातना दिन्थे। त्यस कारण तँै चुप मै चुप हुनुपर्ने अवस्था थियो। तर विश्वनाथ सरका छोरा द्वन्द्वरत पक्षकै समर्थनमा राष्ट्रिय दैनिक पत्रपत्रिकामा लेख छपाउँथे। छोरालाई सम्झाइदिनू भनेर कैयन् पटक सेनाले गुरुलाई धम्कीसमेत दिएको थियो। एक दिन काठमाडौँबाट छोरा–बुहारी घर आएका थिए। त्यस दिन राती सरको घरमा गोली चल्यो। त्यसै रात सबै परिवार एकै चिहान भएका हुन् तर विश्वनाथ गुरु कसरी बाँच्नुभएछ? हामी सबै गाउँले मिलेर लासजति राम्दी पुर्‍याएका थियौँ। राम्दीमा राज्य पक्षका सेनाहरू सिभिल ड्रेसमा पुगिसकेका रहेछन्। सर पनि कसरी कसरी राम्दी पुग्नुभएको रहेछ। म्याडम तथा सरका छोरा–बुहारीको अन्तिम संस्कार गर्न नपाउँदै विश्वनाथ गुरुलाई त्यहीँबाट सेनाले समातेर लग्यो। त्यसपछि के भयो? हामीलाई केही थाहा भएन तर सरको नाति भने जिउँदै छन्। कहाँ छन्? हामीलाई नै थाहा छैन।’

मैले ती वृद्ध अर्थात् विश्वनाथ पाण्डेयको घर कहाँ पर्छ भनी सोधेँ। एउटाले म पुर्‍याउँछु भन्दै अगाडि लाग्यो। म ती वृद्धलाई अगाडि हिँड्न लगाई उनको पछिपछि लागेँ। मेरा पछाडि केही मान्छेहरू पनि थिए। अगाडि हिँडेका ती वृद्धका शुभचिन्तकले भने, ‘हामी कसैले पनि सर जिउँदो हुनुहोला भन्ने सोचेकै थिएनौँ। लोकतन्त्र आएपछि विद्यालयमा सरको सम्झनामा उहाँको सालिक पनि स्थापना गरिएको छ।’

केही बेरपछि हामी एउटा घरमा पुग्यौँ। त्यो ती वृद्धको घर रहेछ तर घर–घर जस्तो थिएन। जतन नगरेपछि सुनको पनि कुनै मूल्य हुँदैन।

ती वृद्धको घरभित्र पसेर यत्रतत्र हेर्न भ्याएँ। त्यस बेला मलाई आफू उत्खनन् कार्यमा खटिएजस्तै लागेको थियो। वृद्ध घरका हरेक वस्तु गहिरिएर नियालिरहेका थिए। पुराना पुस्तकहरू, डल्लो बनाएर रसीले बाँधेर राखिएको बिस्तारा, परालका गुन्द्रीहरू आदि। डुकुरे मुसा, ठूल्ठूला माउसुली र माउसुलीका लिँडहरू यत्रतत्र छरपस्ट थिए। ती वृद्ध घरको माथिल्लो तलामा पुगे। हामी पनि तिनकै पछि लाग्यौँ। उनले आफ्नै जनैमा भिरेको साँचोले बाकसको ताला खोले। त्यहाँ राखिएको एक महिलाको फ्रेम लगाएको फोटो भेटेपछि उनी भक्कानिएर आँसु चुहाउन थाले। अरू मानिस ‘म्याडमको फोटो’ भन्दै थिए।

मैले त्यो बाकसमा केके चिज छन् भनेर खोतल्न थालेँ। बिहेको साडी, लालपूर्जा, शैक्षिक प्रमाणपत्र, नियुक्तिपत्र र बढुवा एवं सरुवा भएका कागजपत्र पनि भेटिए। बाकसमा तलपट्टि एउटा फोटो एल्बम पनि भेटियो। मैले त्यसमा भएका सबै फोटा हेर्न थालेँ। 

त्यो एल्बमसँगै राष्ट्रिय दैनिक पत्रिकामा छापिएका मेरो बाबाका लेखहरू थिए। त्यस्तै पत्रिका मलाई मिसले बाल आश्रम जाने बेला दिएकी थिइन्। त्यो पत्रिकामा छापिएको फोटो देखाउँदै त्यहाँ उपस्थित केहीले भन्दै थिए, ‘सरको छोराको लेख छापिएको पत्रिका रहेछ।’ 

म वृद्धका आफन्ती खोज्न आएको थिएँ तर यी परिघटनाले मलाई रनभुल्लमा पारेका थिए। मेरो बुबाआमाको मृत्युपछि यी वृृद्ध अर्थात् मेरो हजुरबुबाको यस्तो हालत भएको रहेछ। त्यहाँ रहेको एल्बममा मेरो पास्नीमा खिचिएका फोटोहरू पनि थिए। फोटो हेर्दै मेरो पछाडि उभिएको मानिसले छोरा–बुहारी र नातिको फोटो भनेको सुनेँ। म ढुक्क भएँ, फोटोमा रहेको बालक मै हुँ।

आँखा भिज्न खोज्दा सम्हालेँ तर पनि रोकिएन र भनेँ, ‘उहाँ मेरो हजुरबुबा हुनुहुन्छ।’ त्यस बेला मछेउ उभिएका मान्छेहरू भन्दै थिए, ‘उहाँ हामी सबैको हजुरबुबा जस्तै हो।’ त्यहाँ उपस्थित व्यक्तिहरूको कुरा सुनेपछि मेरो मन गह्रुँगो भयो। मुख सुकेजस्तो भयो। चक्कर लाग्यो। म वृद्धलाई अँगालो हालेर हजुरबुबा भन्दै रोएँ। वृद्धको काखमा पुगेपछि मैले आफूलाई कसैगरी सम्हाल्नै सकिनँ। शरीर पसिनाले भिज्यो। मेरा आँखा तिरमिराए। म बेहोस भएछु।

होसमा आउँदा म अस्पतालको बेडमा थिएँ। मेरो वरिपरि मेरा साथीहरू, निर्देशक तथा पाल्पामा भेटिएका केही अनुहारहरू थिए। मैले सोधेँ, ‘मेरो हजुरबुबा खोइ? ती वृद्ध मेरा हजुरबुबा हुनुहुन्छ।’ केही व्यक्तिले वृद्धको सम्पत्ति खानका लागि नाटक गरेको छ भनेर मुखामुख गरे। यत्ति सुनेपछि मैले आफूलाई सम्हाल्नै सकिनँ। उठेँ। त्यसको घोक्रो समाउन नपाउँदै केहीले बलियोसँग समाएर मलाई अस्पतालको बेडमा पुर्‍याइहाले। 

म भन्दै थिएँ, ‘मलाई केही भएको छैन। म ठीक छु। बरु मेरा हजुरबुबालाई बोलाइदेऊ।’ हुन पनि मलाई केही भएको थिएन तर नर्सले मलाई मेरो इच्छाविपरीत सुई लगाइदिएपछि भने म तत्काल लट्ठ परेँ। आँखा खोल्न खोजे पनि सकिनँ। गहिरो तन्द्रा हो कि निद्रा, मैले बुझ्नै सकिनँ। 

आँखा खुलेपछि सिरानी नजिक रहेको मेरो एडमिट कार्ड हेरेँ। त्यसको पुछारमा लेखिएको थियो, ‘रिफर टु मेन्टल डिपार्टमेन्ट।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.