|

काठमाडौं : नेपालका ठुला औद्योगिक घरानामध्येको एक खेतान समुहले धोका दिएको आरोप वितरकहरुले लगाएका छन्। पैसा लिएर खेतान समुह सम्पर्कविहिन भएको आरोप खेतान समुहका विभिन्‍न उत्पादन बिक्री गर्दै आएका वितरकहरुले लगाएका हुन्। 

म्यायोज, हम्टीडम्टी र चिजबल्स लगायत जंकफूड उत्पादन गर्दै आएको खेतान स्वामित्वको हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रा.लि बन्द भएपछि वितरक र खेतान समुहबीच विवाद बढ्दै गएको छ। विवादकै क्रममा विभिन्‍न ३३ वितरकहरुले पत्रकार सम्मेलन गर्दै खेतान समुहले धोका दिएको आरोप लगाएका हुन्। 

मायोज उत्पादन बन्द भएको ९ महिनापछि खेतान समुहले वितरकसँग गरेका सम्झौता पालना नगरी एकतर्फी रुपमा हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रा.लि बन्द गरेको उनीहरुको आरोप छ। 

'कुनै जानकारी नगराई कम्पनी बन्द गर्दा वितरकहरुको लाखौं रुपैयाँ  गुमेको छ। त्यो रकम उपलब्ध नगराएको खण्डमा गोर्खा ब्रुअरी बियरसहित उसका कुनै पनि उत्पादन बिक्री वितरण नगर्ने मनस्थितिमा हामी छौं,' पत्रकार सम्मेलनमा वितरक महासंघका सदस्य कृष्ण घिमिरेले भने। 

खेतान समुहका उत्पादन बिक्री गर्ने क्रममा व्यापारीहरुले राखेको ३ करोड ९ लाख रुपैयाँ बैंक ग्यारेन्टी रकम फिर्ता गर्नुको सट्टा खेतान समुह सम्पर्कविहिन बनेको उनीहरुको आरोप छ।  ३ करोड ९ लाखमध्ये २२ लाख ७३ हजार ९ सय ३१ रुपैयाँ हिमालयन स्न्याक्सलाई बुझाउन बाँकी रहेपनि अरु पैसा फिर्ता पाउनुपर्ने महासंघको माग छ।  'बैंक ग्यारेन्टी नराखी सामान दिदैंन। बैंक ग्यारेन्टी राख्यो एकतर्फी रुपमा उठाएर हिँड्ने हो भने हामी कसको विश्वास गर्ने?' घिमिरेले भने। 

एकतर्फी रुपमा करार भंग गर्दै सम्पर्कविहिन बनेको खेतान समुहसँग उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र उद्योग मन्‍‍त्रालयले समन्वयका लागि गर्न खोजेको प्रयास खेतान समुहकै कारण असफल भएको वितरकहरुको आरोप छ। 

‘वितरकहरु धेरै पीडित भएका छन्  हामीले हाम्रो समस्या नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग मन्त्रालयसम्म पुर्‍याएका छौं,’ खेतान समुहबाट पीडित संघर्ष समितिका संयोजक दुर्गाराज श्रेष्ठले भने,'चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योग मन्त्री नविन्द्रराज जोशीसम्म वितरकको समस्या सुनाएका छौं। तर खेतानका तीन भाई भागीभागी हिडेका छन्।’ 

विभिन्‍न ३३ वटा वितरकहरुसँग मायोज नुडल्सका १ करोड ४ लाख १७ हजार ८ सय ७७ रुपैयाँ बराबरको म्याद गुज्रिएका सामान छन्। त्यो सामान लैजान खेतान समुहले मानेको छैन। बिक्रीबाट प्राप्त २२ लाख ७३ हजार ९ सय ३१ रुपैयाँमा म्याद गुज्रिएका सामानको मुल्य समेत जोड्ने हो भने खेतान समुहलाई वितरकहरुले बुझाउनुपर्ने रकम १ करोड २६ लाख ९१ हजार ८ सय ८ रुपैयाँ बराबर हुन आउँछ।

३३ वितरकले बैंक ग्यारेण्टी स्वरुप ३ करोड ९ लाख रुपैयाँ खेतान समुहसँग छ। पैसा उठाउने अन्तिम अस्‍‍‍त्रको रुपमा टुबोर्गको बिक्री वितरण नै बन्द गरिने वितरकहरुले बताएका छन्। 

कानुनी बाटो खोज्दै

वितरकहरुले पैसा उठाउन नसकेको र म्याद गुज्रिएका सामान समेत खेतान समुहले नउठाएपछि कानुनी बाटो खोजेको बताएका छन्। वितरकका तर्फबाट जिल्ला अदालत काठमाडौंमा हालिएको मुद्दा अधिवक्ता अर्जुन अर्यालले हेरेका छन्। 'पहिला कम्पनीले करार भंग गरेपछि वितरकले पनि फ्लो नगरिएको देखिन्छ वितरकहरु अन्यायमा परेको देखेर यो मुद्दा मैले हेरेको छु,' अधिवक्ता अर्यालले बताए।

मायोज कथा

वितरकहरुका अनुसार सन् २०१२ ताका मायोज चाउचाउ सर्वाधिक बिक्री हुने चाउचाउ थियो। हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रालीले उत्पादन गर्ने यो चाउचाउले बजारको ५५ प्रतिशत हिस्सा ओगटेको वितरकहरुको दाबी छ। 

यो कम्पनीमा राजेन्द्र खेतान, प्रेमप्रकाश खेतान र चन्द्रप्रकाश खेतान तीन दाजुभाईको लगानी थियो। सन् २०१० देखि २०१४ सम्म वाईवाई र मायोज चाउचाउबीच निकै प्रतिस्पर्धा चल्यो। उनीहरुबीच कसले के उपहार दिने भन्‍नेमा समेत प्रतिस्पर्धा थियो। 

२०१४ सम्म आइपुग्दा मायोजको तुलनामा वाईवाईको माग बढ्‍‍यो। मायोजको बजार सुक्दै गएपछि गत वर्ष कम्पनी हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रालीले मायोजको उत्पाद बन्द गर्‍यो। 

मायोज बन्द गरेको खेतान समुहले गत जेठ महिनादेखि हिमालयन स्न्याक्स एण्ड नुडल्स प्राली पनि बन्द गरेर सम्पर्कबाहिर रहेको वितरकको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.