|

काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौं जिल्लाका १० वटा नगरपालिकामा प्रमुख र उपप्रमुख छनोट गर्न नेपाली कांग्रेसलाई हम्मेहम्मे परेको छ।

१० वटा निर्वाचन क्षेत्र भएको काठमाडौं जिल्लामा गाउँपालिका छैन भने काठमाडौं महानगरपालिकाबाहेक १० वटा नगरपालिका रहेका छन्। धेरै  नगरपालिकामध्ये नगर इकाई सभापतिहरुले प्रमुखमै चाहना गरेका छन्। उपप्रमुखमा भने प्रमुखको तुलनामा प्रतिष्पर्धा कम छ। प्रमुखमा एक जना पनि महिला आकांक्षी प्रतिष्पर्धामा छैनन्।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको राजनीतिक कर्मथलो र मुलुकको राजधानी भएका कारण काठमाडौंका नगरमा प्रतिष्पर्धा तीव्र भएको हो।

कागेश्वरी नगरपालिका

६० हजार जनसंख्या र १२ वटा वडा रहेको कागेश्वरी मनहरा नगरपालिकाको प्रमुखमा कांग्रेसका दुई नम्बर क्षेत्रीय सभापति उपेन्द्र कार्कीले दावी गरेका छन्। यो नगरका धेरै जसो वडा इकाईबाट क्षेत्रीय सभापति कार्की र जिल्ला कोषाध्यक्ष गोविन्द पुडासैनीको नाम सिफारिसमा परेको छ।

यहाँका वडाबाट महिला संघ काठमाडौंकी पूर्व सभापति विष्णुदेवी पुडासैनी र शंकर थापाको पनि नाम सिफारिस गरिएको छ। प्रतिष्पर्धामा रहेका कार्की गत संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर दुईमा उम्मेदवारका आकांक्षी थिए। क्षेत्रीय सभापति कार्की पार्टी सभापति देउवा निकटका हुन् भने कोषाध्यक्ष पुडासैनी नेता प्रकाशमान सिंह निकटका हुन्।

यस नगरको उपप्रमुखमा भने महिला संघकी तत्कालीन गोठाटार गाउँ इकाईकी सभापति कल्पनाश्री न्यौपानेको अधिकांश वडाबाट सिफारिस भएको छ। 

शंकरापुर नगरपालिका

 वटा वडा रहेको शंकरापुर नगरपालिकाको जनसंख्या २५ हजार रहेको छ। काठमाडौंको पूर्वी भागमा अवस्थित यो नगरमा कांग्रेसबाट नगर इकाई सभापति राजुभाइ महर्जन, शंकर तिवारी र पूर्व महाधिवेशन प्रतिनिधि राजाराम तिवारी प्रतिष्पर्धामा छन्। यो नगरमा नेवारी समुदाय र अन्य जातिको मिश्रण रहेकोले तिवारी र महर्जनमध्ये जसले पनि बाजी मार्न सक्छन्। ८ वटा वडाबाट तीन जनाकै सिफारिस भएको छ। 

काठमाडौंको पुरानो साँखु भनेर चिनिने यो नगरमा क्षेत्रीय कोषाध्यक्ष मञ्जु खड्का र पूर्वमहाधिवेशन प्रतिनिधि तुलसा ढुंगाना उपप्रमुखको लागि प्रतिष्पर्धामा छन्।

गोकर्णेश्वर नगरपालिका

पवित्र धार्मिक स्थल गोकर्णेश्वरको नाममा रहेको यो नगरमा ९ वटा वडा छन् भने जनसंख्या एक लाख छ। यो नगरबाट पार्टीका महाधिवेशन प्रतिनिधि दीपक रिसाल नगरप्रमुखका उम्मेदवार बन्ने प्रवल सम्भावना छ। उनलाई नगर इकाई सभापति सन्तोष चालिसेले समेत समर्थन गर्ने बताइएको छ।

सबैजसो नगरबाट रिसालको सिफारिस भएपनि यो नगरका केही वडाबाट चालिसेसहित लाल लामा, श्रीकृष्ण जोशी र महासमिति सदस्य विमल ठकुरीको नाम नगरप्रमुखमा सिफारिस भएको छ। ठकुरी कांग्रेसका पूर्व सांसद स्वर्गीय चक्रबहादुर ठकुरीका छोरा हुन्। 

गोकर्णेश्वरको उप्रमुखमा कांग्रेसबाट काठमाडौं तीन नम्बर क्षेत्रीय सचिव शान्ति नेपालको सम्भावना बढेको छ तर गीता सिंखडाले पनि उपप्रमुखमा चाहना गरेपछि केही वडाबाट सिफारिसमा परेकी छन्।

बुढानिलकण्ठ नगरपालिका

धार्मिकस्थल बुढानिलकण्ठको नाममा नामाकरण गरिएको यो नगरमा काठमाडौं चार नम्बर क्षेत्रीय सभापति राजु श्रेष्ठ, नगर सभापति न्हुच्छेनारायण श्रेष्ठ र तरुण दल पूर्व जिल्लासभापति गोकर्ण केसीबीच कडा प्रतिष्पर्धा छ। तीन मध्ये राजु श्रेष्ठ उर्फ ‘हात्ती’ लाई यो नगरका अधिकांश वडाबाट सिफारिस भएको छ।

यो नगरबाट आत्मराम पौडेल र राजाराम बुढाथोकीको नाम पनि नगरप्रमुखमा सिफारिस भएको छ। बुढानिलकण्ठ नगरपालिकामा कांग्रेसबाट उपप्रमुखमा भने नेपाल महिला संघकी केन्द्रीय सदस्य सुभद्रा खड्काको सम्भावना बढी छ। उनलाई सबैजसो वडाबाट सिफारिस गरिएको छ। 

टोखा नगरपालिका

९९ हजार जनसंख्या रहेको टोखा नगरमा ११ वटा वडा रहेका छन्। ऐतिहासिक स्थल टोखाको नाममा नामाकरण गरिएको यो नगरमा पार्टीका पूर्व क्षेत्रीय सभापति न्हुच्छेनारायण मानन्धर, कसी नारायण श्रेष्ठ, मनिष जोशी, केदार पाठक, हरिहर अधिकारी र वसन्त श्रेष्ठले प्रमुखका लागि दाबी गरेका छन्।

टोखामा मानन्धर, कसी नारायण र मनिष जोशीबीच नगरप्रमुखमा कडा प्रतिष्पर्धा हुने देखिन्छ। टोखाको उपप्रमुखमा भने रजनी थापाको सम्भावना बढी छ। उनलाई ११ वटै वडाबाट उपप्रमुखमा सिफारिस गरिएको छ भने उनी नगरको इकाई सचिव हुन्। थापापछि केही वडाबाट भवानी केसी र सीता पाठकको पनि सिफारिस भएको छ।

नागार्जुन नगरपालिका

६७ हजार जनसंख्या रहेको यो नगरमा १० वटा वडा छन्। यो नगरमा पार्टीका नगर इकाई सभापति केदार मानन्धर, महाधिवेशन प्रतिनिधि मोहन बस्नेत र शिक्षक संघ जिल्ला अध्यक्ष सुन्दर पन्तबीच कडा प्रतिष्पर्धा छ। नगरका धेरै वडाबाट मानन्धरको नाम सिफारस गरिएको छ। यो नगरमा जिल्ला सदस्य राजेन्द्र भट्टराई लगायत १० जनाको नाम विभिन्न वडाबाट सिफारिस भएका छन्।

नागार्जुन नगरपालिकाको उपमेयरमा भने रिता दवाडीको नाम अग्रस्थानमा छ। महिला संघ जिल्ला सदस्य, पार्टी महाधिवेशन प्रतिनिधिसमेत रहेकी दवाडीलाई क्षेत्रीय सचिव बन्दना थापाले टक्कर दिएकी छन्। यो नगरबाट अनुपा श्रेष्ठ, तुलसा खड्का, सरस्वती भट्ट लगायतका नाम फरक/फरक वडाबाट सिफारिस भएका छन्।

चन्द्रागिरी नगरपालिका

धार्मिक एवम् पर्यटकीय स्थल चन्द्रागिरीको नाममा नामाकरण गरिएको यो नगरको जनसख्या ८५ हजार र वडा १५ रहेको छ। पार्टीका नगर इकाई सभापति घनश्याम गिरी उम्मेदवार बन्ने सम्भावना बढेको छ। तथापि यो नगरका केही वडाबाट धर्मानन्द श्रेष्ठ र गणेश सुवेदीको नाम पनि सिफारिसमा परेको छ।

नगर उपप्रमुखमा भने महिला संघ केन्द्रीय सदस्य गोमादेवी गुरुङ, क्षेत्रीय कोषाध्यक्ष इन्द्रावति श्रेष्ठ, महिला नेतृ हिरा प्रधान र यमुना श्रेष्ठ प्रतिष्पर्धामा छन्। उपप्रमुखमा सहमतिको प्रयास भए पनि यो नगरमा उपप्रमुख पदका उम्मेदवार छनोट गर्न १० नम्बर क्षेत्रीय समितिलाई निकै सकस पर्ने देखिन्छ।

कीर्तिपुर नगरपालिका

ऐतिहासिक नगर कीर्तिपुरमा तीन जना प्रभावशाली नेताबीच कडा टक्कर परेको छ। ६५ हजार जनसंख्या रहेको कीर्तिपुरमा १० वटा वडा छन्। यो नगरमा पार्टीका जिल्ला सचिव राजकुमार नकर्मी, क्षेत्रीय सभपाति पुकार महर्जन र नगर सभापति कृष्णमान डंगोलबीच कडा प्रतिष्पर्धा छ। 

कीर्तिपुरमा नकर्मी, महर्जन र डंगोलमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा नगर इकाई, क्षेत्रीय समितिलाई समेत कठिन हुने देखिन्छ। कीर्तिपुरको उपप्रमुखमा लक्ष्मी केसी र विमला बिष्टबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ।

तारकेश्वर नगरपालिका

८१ हजार जनसंख्या रहेको यो नगरमा ११ वटा वडा छन्। यो नगरमा विभिन्न वडाबाट आधा दर्जनभन्दा बढीको नाम नगरप्रमुखमा सिफारिस भएको छ। सिफारिस भएकामध्ये पूर्व क्षेत्रीय सचिव इन्द्रमान महर्जन, हालका नगर इकाई प्रमुख श्रीराम थापा, क्षेत्रीय सभापति धना अर्यालको सिफारिस अधिकांश वडाबाट भएको छ। 

यो नगरमा महाधिवेशन प्रतिनिधि सुदर्शन आचार्य र यसअघिका इकाई सभापति विष्णुभक्त तिमल्सिनाको नाम समेत सिफारिसमा छ। उपप्रमुखमा भने रत्न महर्जन र सीता पाठकको सम्भावना बढेको छ। 

दक्षिणकाली नगरपालिका

प्रसिद्ध धार्मिकस्थल दक्षिणकालीको नाममा नामाकरण गरिएको यो नगरको जनसंख्या २४ हजार र वडा ९ वटा मात्र छ। यो नगरमा पार्टी नगर इकाई सभापति मोहन बस्नेत नगर प्रमुखको उम्मेदवार बन्ने सर्वसम्मत निर्णय भइसकेको छ। उनलाई सिद्धिमान श्रेष्ठ पहिले प्रतिष्पर्धामा भए पनि पछि समर्थन गरेपछि बस्नेतको नाममा सर्वसम्मत भएको हो। 

दक्षिणकाली नगरको उपप्रमुखमा ६ जना महिला प्रतिष्पर्धामा छन्। महिला नेतृहरु इश्वरी न्यौपाने, गोमा चौलागाइँ, श्रीजना बलामी, मञ्जु चापागाइँ, रीता बलामी र बसन्ती महर्जन तामाङको नाम विभिन्न वडा हुँदै नगरले सिफारिस गरेको हो।

सम्बन्धित समाचारः 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.