प्रमुखमा भीम पराजुलीको पनि दावी

|

विराटनगर : स्थानीय तहको आगामी निर्वाचना नेपाली कांग्रेसबाट विराटनगर उपमहानगरपालिकाको नगर प्रमुखमा केन्द्रीय सदस्य डिला संग्रौलाले उम्मेदवारी पाउने संभावना बढेको छ। कांग्रेसभित्रको गुटगत समीकरण, कार्यकर्ताको मनोविज्ञान र नेताहरुको चाहना हेर्दा संग्रौला उम्मेदवार हुने संभावना देखिएको हो। आकांक्षीहरुको व्यवस्थापन गर्दै वैशाख १२ सम्ममा सबै उम्मेदवारको टुंगो लगाउने तयारी भइरहेको कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले जानकारी दिए।

कांग्रेसबाट विराटनगरमा संग्रौलासहित भीम पराजुली, नागेश कोइराला, फूलकुमार लालवानी, मनोज बस्नेतलगायत १० भन्दा धेरै नेताहरुले नगर प्रमुखमा दावी गर्दै आएका छन्। यद्यपी संग्रौलाको सम्भावना बढी रहेको कांग्रेस स्रोतले बताएको छ। नगर प्रमुखमा संग्रौलालाई उम्मेदवार बनाएर उपप्रमुखमा लालबानीलाई उठाउने तयारी भइरहेको छ।

'संग्रौलाको नाममा सर्वसम्मत हुने सम्भावना छ,’ कांग्रेसका सक्रिय कार्यकर्ता गणेश अधिकारीले भने, ‘भिजन र क्षमता भएको नेतृत्वको विषयमा पार्टीले पनि उनकै नाममा सहमति गर्नु आवश्यक छ।' कांग्रेस मोरङका पूर्व सभापति तथा सांसद अमृत अर्यालले लालवानीलाई उम्मेदवार बनाउन चाहेपनि उनको पक्षमा निर्णय नहुने देखिएपछि लालवानीलाई उपप्रमुख बनाएर संग्रौलालाई प्रमुखको उम्मेदवार बनाउने पहल गरेको स्रोतको दाबी छ। अर्यालले एमालेसँगको समीकरण मिलाउनकै लागि कमजोर उम्मेदवारको रुपमा डिलालाई अगाडि सारेको आरोप कतिपय कांग्रेस कार्यकर्ताहरु लगाउँछन्।

अर्याल र एमाले मोरङका अध्यक्ष विनोद ढकालबीच अत्यन्तै निकट सम्बन्ध रहेकोले ढकाललाई सहयोग पुग्नेगरी संग्रौलालाई उम्मेदवार बनाउने र लालवानीलाई उपप्रमुखमा जिताउने अर्यालको योजना रहेको आरोप उनीहरुको छ। एमालेबाट विराटनगरको नगर प्रमुखका आकांक्षी ढकाल पनि हुन्। प्रमुख उठ्ने सम्भावना रहेका भनिएका मोरङ कांग्रेसका सचिव नागेश कोइरालाको भने कांग्रेसभित्रै आलोचना भइरहेको छ। प्रमुखमा जिते हेलिकप्टर चढेर पाथीभरा मन्दिर जाने केही दिन अघि अभिव्यक्ति दिएपछि उनी विवादित पनि बनेका छन्। जथाभावी अभिव्यक्ति दिने, संगठन परिचालन गर्न नसक्ने र कार्यकर्ताको भावना बुझ्न नसक्ने भन्दै कांग्रेसभित्रै उनको आलोचना हुने गरेको छ।

‘मेयर जितेपछि नगरको विकास यसरी गर्छु भनेर योजना सार्वजनिक गर्नुपर्नेमा हेलिकप्टर चढेर पाथीभरा मन्दिर जाने घोषणा गर्नेलाई कसले मत दिन्छ' कांग्रेसका एक सक्रिय कार्यकर्ताले भने, ‘कोइराला अन्य पार्टीमा मात्रै होइन आफ्नै पार्टीका कार्यकर्तासँग रिसाउने र झर्किने स्वभावको रहेकोले उनी उम्मेदवार भए पार्टीले हार्छ।'  पैसा र लबिङ गरेपछि कार्यकर्ताबीच कोइरालाको राम्रो सम्बन्ध छैन।

गुटगत रुपमा कृष्ण सिटौलाको खेमामा रहेको कारण कार्यकर्तामाझ लोकप्रिय भएपनि भीम पराजुलीले उम्मेदवारी पाउने संभावना कम भएको कांग्रेस कार्यकर्ताहरु बताउँछन्। कमजोर गुटसँग जोडिएको कारण उनलाई जिल्लाका नेताहरुले सहयोग नगरेको स्रोतले बतायो। यद्यपी पराजुलीले भने आफू उम्मेदवार हुने दाबी गरेका छन्। ‘मेरो उम्मेदवारी अन्तिममा टुंगो लाग्छ,’ पराजुलीले भने, ‘मलाई टिकट नदिए पार्टीले हार्छ।'

‘स्थानीयस्तरमा लोकप्रिय भएर मात्रै भएन नि,’ कांग्रेसका एक कार्यकर्ताले भने, ‘माथिल्लो तहसम्मै पार्टीको लाइन के छ भन्ने कुरा हेर्नु आवश्यक छ।' पराजुली विराटनगरको विकास निर्माणदेखि जनताको सामान्य समस्यामा पनि सहभागी हुने र जनताको काम गर्ने नेताको रुपमा परिचित छन्। कसलाई उम्मेदवार बनाउने भन्नेमा कांग्रेसका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र सिटौला समूहबीच हानथाप छ। मेयरको आकांक्षी रहेकी संग्रौला र कोइराला पौडेल समूहका हुन् भने लालवानी देउवा समूहका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.