प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

राजनीति

महन्थ ठाकुरको नेतृत्वमा मधेसका ५ दल एकीकरण
SHARES

पार्टीको नाम, झण्डा र चुनाव चिह्न तय, पार्टी कार्यालयलाई घर खोजिँदै

बैशाख ७, २०७४

    काठमाडौं : मधेसकेन्द्रित ५ दलबीच एकीकरण भएको छ। तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र फोरम गणतान्त्रिक मिलेर बनेको 'राष्ट्रिय जनता पार्टी, नेपाल' को औपचारिक घोषणा भने बिहीबार दिउँसो हुँदैछ।

    एकता घोषणाका लागि दिउँसो २ बजे अमृतभोग पार्टी प्यालेस कालिकास्थानमा घोषणासभा आयोजना गरिएको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए।

    पार्टीको नेतृत्व ५ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ। त्यसमा पाँचवटै पार्टीका अध्यक्ष रहनेछन्। अध्यक्ष मण्डलको संयोजक संसदीय दलमा प्राप्त हैसियतबमोजिम वरीयताक्रममा तोकिने छ। वरीयताक्रममा अध्यक्ष मण्डलको पहिलो संयोजक तमलोपा अध्यक्ष महन्थ ठाकुर रहनेछन्। त्यसपछिको वरीयतामा क्रमश: राजेन्द्र महतो, महिन्द्र राय यादव, शरतसिंह भण्डारी र राजकिशोर यादव रहनेछन्।

    पार्टीको झण्डा तीन रंगको हुनेछ। तीनवटा रंग माथिबाट तलतिर क्रमश: रातो, सेतो र हरियो तेर्सो आकारमा रहनेछन्। बीचको सेतो भागमा पार्टीको चुनाव चिह्न 'खोलिएको छाता' रहने यादवले जानकारी दिए।

    हाल पाँचवटै दलमा रहेका सबै पदाधिकारी र केन्द्रीय सदस्यहरु नवगठित पार्टीमा पनि सोही हैसियतमा रहनेछन्।

    पार्टी कार्यालयका लागि पर्याप्त स्पेससहितको घर खोज्ने काम सुरु भइसकेको छ। पार्टी कार्यालय तीनकुनेदेखि सिंहदरबारसम्मको बीचमा राख्ने तयारी छ।

    संसदको पाँचौं ठूलो दल

    पाँच दल मिलेपछि राष्ट्रिय जनता पार्टी संसदको पाँचौं ठूलो दल बन्ने छ। जसका २४ सांसद रहनेछन्। हाल संसदमा तमलोपाका ११, सद्भावनाका ६, तमसपा र रामसपाका ३/३ तथा फोरम गणतान्त्रिकका १ सांसद् छन्।

    केही समयअघि फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टी मिलेर बनेको नेपाल लोकतान्त्रिक फोरमका १७ र संघीय समाजवादी फोरम नेपालका १५ सांसद् छन्।

    संसदमा एक महिना अघिसम्म उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पाँचौं ठूलो दल थियो। विजय गच्छदारले साना दुई दल मिलाएर उपेन्द्रलाई पछि पारे। अहिले अन्य ५ दल मिलेर गच्छदार र उपेन्द्र दुवैलाई उछिनेका छन्।

    उपेन्द्र समेटिएनन्, अनिल झासँग पछि एकीकरण हुने

    मधेसी मोर्चामा रहेका ७ मध्ये उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी एकता प्रक्रियामा सामेल छैनन्। उपेन्द्र यादव नयाँ शक्ति पार्टी नेपालसँग एकताका लागि संवादमा छन्, भने अनिल झासँग कुरा नमिल्दा एकता प्रक्रियामा सामेल भएनन्। झासँग कुराकानी भइरहेको र केही समयपछि एकीकरण हुने यादवले जिकिर गरे।

    यससँगै मधेसी दलहरु तीन मोर्चामा (ठाकुर, यादव, गच्छदार) रहनेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]