थ्रेसहोल्डको व्यवस्थापछि धमाधम एकीकरण

|

काठमाडौं : राजनीतिक दलसम्बन्धी नयाँ ऐनमा थ्रेसहोल्डको व्यवस्था गरेपछि संसदमा रहेका साना दलबीच धमाधम एकता हुन थालेको छ। यसरी एकीकरण हुनेमा मधेसी र जनजातिकेन्द्रित दलहरु बढी छन्।  

पछिल्लो पटक बिहीबार मधेसकेन्द्रित पाँच दलबीच एकता भएर नयाँ पार्टी घोषणा भएको छ। तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र फोरम गणतान्त्रिकबीच एकता भएर 'राष्ट्रिय जनता पार्टी, नेपाल' गठन भएको हो।

यसअघि विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)सँग राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टी एकीकरण भइसकेका छन्। यी तीन दलबीच एकतापछि पार्टीको नाम 'नेपाल लोकतान्त्रिक फोरम' राखिएको छ।

घट्दै संसदमा दलको संख्या

२०७० साल मंसिर ४ गते संविधानसभाको दोस्रो निर्वाचनबाट संसदमा ३० वटा दल र २ जना स्वतन्त्र सांसद निर्वाचित भएका थिए। तर, दुई पार्टीको संसदीय दल फुटेर ३२ दल भए पनि पछिल्लो समयको एकीकरणले संसदमा दलको संख्या घटेर बिहीबारदेखि २३ मा झरेको छ।

संविधानसभाको निर्वाचनपछि २ सांसद रहेको दलित जनजाति पार्टी फुटेर बहुजन शक्ति पार्टी बन्दा दलको संख्या ३१ पुगेको थियो। संसदमा १० सांसद रहेको मधेसी जनअधिकार फोरम नेपाल र ५ सांसद रहेको नेपाल संघीय समाजवादीबीच एकता भएपछि दलको सख्या पुन: ३० झर्‍यो। दुई पार्टीबीचको एकतासँगै संघीय समाजवादी फोरम संसदको पाँचौं ठूलो दलमा उक्लिएको थियो।

वर्ष २०७३ सालमा दलबीच फुट र एकताको क्रम तीव्र रह्यो। सोही वर्ष थरुहट तराई पार्टी नेपालबाट अलग भई गंगा चौधरी सत्गौवाले थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गरिन्। त्यसपछि संसदमा दलको संख्या ३१ पुगेको थियो।

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिमा राजनीतिक दलसम्बन्धी विधेयक छलफलमा आएपछि अधिकांश साना दलले थ्रेसहोल्ड सम्बन्धी व्यवस्थाको विरोध गरे। विरोधका बीच विधेयक पारित भएपछि दलहरुबीच एकीकरणको श्रृंखला सुरु भएको छ।

अघिल्लो वर्ष नै संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकीकरण भयो। दुई राप्रपाको एकीकरणपछि संसदमा दलको संख्या घटेर ३० भएको थियो।

२०७३ चैत २३ गते संसदको छैठौं ठूलो दलको रुपमा १४ सांसदसहित खुम्चिएको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)सँग दुई सांसद रहेको राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र एक सांसद भएको दलित जनजाति पार्टी एक भएको थियो।

तीन पार्टीबीच एकतासँगै विजयकुमार गच्छदारको नेतृत्वमा गठन भएको नेपाल लोकतान्त्रिक फोरम संसदको पाँचौं ठूलो दलमा उक्लियो। यी तीन पार्टीको एकीकरणसँगै संसदमा दलको संख्या २८ मा झर्‍यो।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध ७ दलमध्ये ५ दलबीच बिहीबार एकीकरण भएपछि संसदमा दलको सख्या घटेर २४ मा झर्‍यो।

७ मध्ये उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी भने पाँच दलको एकीकरणबाट बनेको राजपा नेपाल 'राष्ट्रिय जनता पार्टी नेपाल' (राजपा) मा सामेल भएनन्।

थ्रेसहोल्डको प्रभावका कारण बाँकी साना दलहरु अब कुन दलसँग एकीकरण गर्ने भन्ने चिन्तामा छन्। थरुहट तराई पार्टी लोकतान्त्रिक गठन गरेकी गंगा चौधरी सत्गौवा भने डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरिसकेकी छन्। तर, उनी प्रवेश गरेको दलको संसदमा प्रतिनिधित्व छैन। 

निकट भविश्यमा नै नेपाल सद्भावना पार्टी नवगठित राजपामा मिल्ने सद्भावना महासचिव मनिषकुमार सुमनको दाबी छ। 

१७ सांसदसहित संसदमा पाँचौं ठूलो दलको हैसियत बनाएका विजयकुमार गच्छदारलाई नवगठित राजपाले पछि पारेको छ। राजपाका २४ सांसद छन्। 

पार्टी ठूलो बनाउने धुनमा गच्छदार

गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले बिहीबार नै ३ बजे थरुहट तराई पार्टीसँग एकताको औपचारिक घोषणा गर्दैछ। थरुहट तराई पार्टीमा गोपाल दहितमात्र सांसद छन्। दहितसहित गच्छदार नेतृत्वको दलमा सांसदको सख्या १८ पुग्दैछ। 

स्रोतका अनुसार गच्छदार नेतृत्वको पार्टीमा रामकुमार राई सांसद रहेको खम्बुवान राष्ट्रिय मोर्चा, हरिश्चरण शाह सांसद रहेको नेपाली जनता दल र रुक्मिणी चौधरी सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) पनि मिल्दैछन्।

यी तीन दल लोकतान्त्रिक फोरमसँग एकता भएपछि संसदमा दलको संख्या घटेर २० मा आउने छ। यी दल एक भएपछि एकजना मात्र सांसद रहेको दलको संख्या ५ मा झर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.